थारु कल्याणकारिणी सभा चितवनका क्षेत्रीय सभापतिको हत्या

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ भदौ २०७२, मङ्गलवार
थारु कल्याणकारिणी सभा चितवनका क्षेत्रीय सभापतिको हत्या


कारी महतो

चितवन

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ४ का सभापति जीवनराम महतोको भदौं २२ गते हत्या भएको छ । अन्दाजी ६० वर्षका महतोलाई उनकै छोराले २२ गते विहान ९ बजे हत्या गरेका हुन् । मानसिक सन्तुलन गुमाएका २७ वर्षीय छोरा विश्वनाथ महतोले खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । घरैमा बसिरहेको अवस्थामा विना विवाद एक्कासी खुर्पा प्रहार गरेर उनको हत्या गरिएको स्थानीयले बताएका छन् । उनको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाप्रति थारु कल्याणकारिणी सभाले शोक व्यक्त गरेको छ । हत्यापछि भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको शवलाई भरतपुर अस्पतालको शवगृहमा नै पुगेर थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य सन्तवहादुर महतो र जिल्ला सभापति विश्राम महतोले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । थारु कल्याणकारिणी सभाले एकजना योद्धालाई गुमाउनुपरेको भन्दै दुख व्यक्त गरेको छ ।

पश्चिम चितवनको दिव्यनगर गाविसको वडा नं. ४ सिसै गाउँ घर भएका महतो लामो समयदेखि थारु समुदायको विकास र अधिकारका लागि संघर्षरत्त थिए । थारु समुदायको प्रत्येक आन्दोलनका अगुवाको रुपमा परिचित महतो थारु भाषा संरक्षणमा अगाडि थिए । 

पश्चिम चितवनको दिव्यनगर गाविसको वडा नं. ४ सिसै गाउँ घर भएका महतो लामो समयदेखि थारु समुदायको विकास र अधिकारका लागि संघर्षरत्त थिए । थारु समुदायको प्रत्येक आन्दोलनका अगुवाको रुपमा परिचित महतो थारु भाषा संरक्षणमा अगाडि थिए । उनले थारु भाषाका झण्डै आधा दर्जन चलचित्रमा अभिनय समेत गरेका छन् । विश्वास, दुख भेलउ हमार, चौधरी बाबु लगायतका थारु भाषाको चलचित्रमा उनको अभिनय छ ।

यसैबीच थारुकल्याणकारिणी सभाका क्षेत्रीय सभापतिको हत्याको विषयमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले दुख व्यक्त गरेको छ । महासंघ चितवनका अध्यक्ष सन्तकुमार चौधरीद्धारा जारी विज्ञप्तीमा थारु समुदायका एकजना योद्धा गुमाउन परेको भन्दै शोक सन्तप्त परिवार प्रति धैर्यधारण गर्न सक्ने क्षमता होस भन्दै समवेदना प्रकट गरेको छ । यसैबीच थारु पत्रकार संघ चितवनले पनि दुख व्यक्त गरेको छ । जारी विज्ञप्तीमा महतोको हत्याले अत्यन्तै मर्माहित बनाएको उल्लेख छ ।

प्रतिक्रिया