रसुवा–भोटेकोशी विपद्पछि बाढी र पहिरोबाट २१ जनाको मृत्यु, आजदेखि आकाश खुल्यो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१२ असोज २०८३, सोमवार
रसुवा–भोटेकोशी विपद्पछि बाढी र पहिरोबाट २१ जनाको मृत्यु, आजदेखि आकाश खुल्यो

बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पश्चिम तथा दक्षिण–मध्य नेपालमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण १ हजार ५ सयभन्दा बढी मानिस विस्थापित भएका छन् भने सयौँ घरमा क्षति पुगेको छ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न नाकाका सडक अवरुद्ध बनेका छन्। बाढी र पहिरोका कारण देशभरको सडक सञ्जालसमेत प्रभावित भएको छ। तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन्।

बाढी, पहिरो र डुबानबाट बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा र धनुषालगायत जिल्ला बढी प्रभावित भएका छन्।

पाल्पामा पाँच जनाको मृत्यु

निरन्तर वर्षापछि पाल्पामा गएको पहिरोमा पाँच जनाको मृत्यु भएको छ।

रिब्दीकोट गाउँपालिका–६ तिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर शनिबार मृत्यु भएको हो। शुक्रबार पहिरोले घर बगाएपछि उहाँ बेपत्ता हुनुभएको थियो। शनिबार खोजीका क्रममा सारुको शव फेला परेको हो।

काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न नाकाका सडक अवरुद्ध बनेका छन्। बाढी र पहिरोका कारण देशभरको सडक सञ्जालसमेत प्रभावित भएको छ। तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन्।

 

आइतबार माथागढी गाउँपालिका–२ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिडीलाई पहिरोले बगाउँदा मृत्यु भएको छ। उहाँको घरमा पनि क्षति पुगेको छ।

माथागढी गाउँपालिका–३ कासेनीको भैँसकट्टामा ७५ वर्षीय लीलबहादुर घर्ती मगर, १७ वर्षीया दीना घर्ती र १५ वर्षीया झरना घर्ती मगरको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बस्तीभन्दा करिब २०० मिटर माथिबाट आएको पहिरोले घर, गोठ तथा पशुचौपाया बगाएको बताइएको छ।

कालीगण्डकी नदीले पाल्पाका रिडी, रानीमहल, राम्दी, हुडी, होस्दी र भुजातलगायत दर्जनभन्दा बढी स्थानमा क्षति पुर्‍याएको छ।

१ हजार ५ सयभन्दा बढी विस्थापित

प्रहरीका अनुसार ७४७ परिवारका कम्तीमा १ हजार ५ सय जना विस्थापित भएका छन्। बाढी तथा पहिरोले १७९ घर पूर्णरूपमा र २६ घरमा आंशिक क्षति पुर्‍याएको छ भने थप २७० घर जोखिममा छन्। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

बाढी, पहिरो र डुबानका कारण १२ वटा गोठ पूर्णरूपमा र एउटा गोठमा आंशिक क्षति पुगेको छ। कम्तीमा ४४ वटा पशुचौपाया मरेका छन्। ६ वटा पुल पूर्णरूपमा र दुईवटा पुलमा आंशिक क्षति पुगेको छ।

तीनवटा सरकारी कार्यालय पूर्णरूपमा र तीनवटामा आंशिक क्षति पुगेको छ भने थप नौवटा कार्यालय जोखिममा छन्। तीनवटा दुईपाङ्ग्रे र १५ वटा चारपाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ। बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक तथा यातायात सेवा अवरुद्ध भएको छ।

माथागढी गाउँपालिकाको चिडिपानी सिम्मेमा नरबहादुर बरालको घरमा बाढी पसेर ठूलो क्षति पुर्‍याएको छ। स्थानीय रेलबहादुर दमाई र गोविन्दबहादुर सुनारीका गोठ पहिरोले बगाएको छ।

उक्त क्षेत्र अझै उच्च जोखिममा रहेको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभएको छ। प्रभावित परिवारको उद्धार तथा राहत कार्य जारी छ। अपाङ्गता भएका सुनारीको परिवारका लागि पनि उद्धार तथा राहत कार्य भइरहेको छ।

बागलुङ र पर्वतमा बढी क्षति

गण्डकी प्रदेशमा बागलुङमा सबैभन्दा बढी मानवीय क्षति भएको छ। यहाँ १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। २३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने चार घर जोखिममा छन्। २३ वटा पशुचौपाया मरेका छन्। २६ परिवारका ८० जना विस्थापित भएका छन्। तीनवटा सरकारी कार्यालय पनि जोखिममा छन्।

पर्वतमा घरहरूमा ठूलो क्षति पुगेको छ भने धेरै मानिस विस्थापित भएका छन्। प्रहरीका अनुसार कालीगण्डकी नदीको बाढीले १०६ घर पूर्णरूपमा र चार घरमा आंशिक क्षति पुर्‍याएको छ। थप ८२ घर जोखिममा छन्। १६२ परिवारका ५४० जना विस्थापित भएका छन्।

पर्वतमा तीनवटा पुलमा क्षति पुगेको छ। दुईवटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ भने अर्को एउटा कार्यालय जोखिममा छ।

कालीगण्डकी नदीको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प भएको छ। जलजला गाउँपालिका–८ स्थित फार्सेमा कालीगण्डकीको बाढीले बस्ती डुबानमा पारेको र सम्पत्तिमा क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। करिब ८० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

नवलपरासी पूर्वमा ६१३ जना विस्थापित

नवलपरासी पूर्वका तल्लो भूभाग बाढीबाट प्रभावित भएका छन्। प्रहरीका अनुसार १५ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १४८ घर जोखिममा छन्। १६२ परिवारका ६१३ जना विस्थापित भएका छन्।

स्याङ्जामा १३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १० घर जोखिममा छन्। २३ परिवारका ७२ जना विस्थापित भएका छन्। एउटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएको छ। गुल्मी र स्याङ्जा जोड्ने बेली पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।

एउटा सरकारी कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने अर्को कार्यालय जोखिममा छ।

तनहुँ, लमजुङ र कास्की पनि प्रभावित

तनहुँमा एक जना घाइते भएका छन्। बाढी तथा पहिरोले १० घर पूर्णरूपमा र ६ घरमा आंशिक क्षति पुर्‍याएको छ। आठ घर जोखिममा छन्। दुई गोठ पूर्णरूपमा र एउटा गोठमा आंशिक क्षति पुगेको छ। पाँच पशुचौपाया मरेका छन्। एउटा पुल पूर्णरूपमा र अर्को पुलमा आंशिक क्षति पुगेको छ। १८ परिवारका ५४ जना विस्थापित भएका छन्।

लमजुङमा दुई जना घाइते भएका छन्। एउटा घर पूर्णरूपमा र पाँच घरमा आंशिक क्षति पुगेको छ। चार घर जोखिममा छन्। आठ परिवारका २८ जना विस्थापित भएका छन्।

कास्कीमा पनि घर तथा सरकारी संरचनामा क्षति पुगेको छ। एउटा घर पूर्णरूपमा र चार घरमा आंशिक क्षति पुगेको छ। अर्को एउटा घर जोखिममा छ। दुई पशु मरेका छन्। एउटा सरकारी कार्यालय पूर्णरूपमा, अर्कोमा आंशिक क्षति पुगेको छ भने तेस्रो कार्यालय जोखिममा छ। तीन परिवारका १० जना विस्थापित भएका छन्।

गोरखा, मनाङ र म्याग्दीमा पनि क्षति

गोरखामा तीन घरमा आंशिक क्षति पुगेको छ भने १२ घर जोखिममा छन्। दुई गोठ पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। एउटा पुल र एउटा सरकारी कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। १३ परिवारका ४३ जना विस्थापित भएका छन्। काठको पुल र एउटा मदरसा पनि जोखिममा रहेको प्रहरीले जनाएको छ।

निरन्तर वर्षाका कारण प्रभावित विभिन्न क्षेत्रमा आजदेखि मौसममा सुधार आउने र आकाश खुल्ने अपेक्षा गरिएको छ। यद्यपि बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेकाले प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

मनाङमा चार घर पूर्णरूपमा र चार घरमा आंशिक क्षति पुगेको छ। एउटा गोठ र एउटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। एउटा चर्चमा पनि पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिको थप विवरण संकलन भइरहेको छ।

म्याग्दीमा एक जनाको मृत्यु भएको छ, एक जना घाइते र तीन जना बेपत्ता छन्। ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने अर्को एउटा घर जोखिममा छ। एउटा गोठ पूर्णरूपमा क्षतिग्रस्त भएको छ र दुई पशु मरेका छन्।

कालीगण्डकी नदीले बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरमा रहेको पुलमा क्षति पुर्‍याएपछि मुस्ताङ र म्याग्दीका केही स्थानीय तहसँगको सडक सम्पर्क विच्छेद भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभएको छ। चार परिवारका ११ जना विस्थापित भएका छन् भने सातवटा चारपाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ।

मुस्ताङमा एउटा गोठ पूर्णरूपमा क्षतिग्रस्त हुँदा १० पशु मरेका छन्। एउटा सरकारी कार्यालय जोखिममा छ। एउटा दुईपाङ्ग्रे, एउटा चारपाङ्ग्रे सवारीसाधन र अर्को एउटा संरचनामा क्षति पुगेको छ।

धनुषामा एक जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिका–११ अङ्गपाच्छीमा पहिरोले घर बगाउँदा ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा फसेका चार जनाको उद्धार गरिएको छ भने श्रेष्ठको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शव पोस्टमार्टमका लागि बर्दिबास पठाइएको छ।

नारायणी नदीको जलस्तर बढेर बाढी तथा डुबानको जोखिम बढेपछि नेपाली सेनाले नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–२ का बासिन्दालाई सुरक्षित स्थानमा सारेको जनाएको छ।

त्यसैगरी चितवनको भरतपुरस्थित देवघाट र बहराघरे क्षेत्रमा नारायणी नदीको जलस्तर बढेपछि प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ। प्रभावित वा जोखिममा रहेका घरको संख्या भने अझै यकिन भएको छैन।

मनाङको तालगाउँ बाढीले घेरियो

मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको सबैभन्दा तल्लो भूभागमा रहेको तालगाउँ बस्ती टापुजस्तै बनेको छ।

नासों गाउँपालिका–१ स्थित तालगाउँसँगै बग्ने नदीले किनार कटान गरेपछि बस्ती चारैतिरबाट घेरिएको हो। गाउँमा करिब ६५ घरधुरी छन्।

वडाध्यक्ष मिनराशी गुरुङका अनुसार नदीले सिरानतालबाट मनाङतर्फ जाने सडक तथा बेँसीसहर–चामे जोड्ने विपरीततर्फको सडकसमेत कटान गरेको छ।

“एकातिर भिर र जंगल भएकाले जाने ठाउँ छैन। मर्स्याङ्दीले हामीलाई चारैतिरबाट घेरेको छ,” गुरुङले भने। “पानीको सतह केही घटेकाले अहिले केही राहत भएको छ। तर फेरि नदी बढ्यो भने भाग्ने ठाउँ हुँदैन।”

तालगाउँमा प्रहरी चौकी, स्वास्थ्यचौकी र विद्यालय छन्। ११ घर पूर्णरूपमा डुबानमा परेका छन् भने अन्य केही घरमा पनि बाढीको पानी पसेको छ।

राति बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दालाई गाउँको गुम्बा र विद्यालयलगायत सुरक्षित स्थानमा सारिएको छ।

मर्स्याङ्दीको बाढीले तालगाउँको सुरक्षाका लागि पहिले निर्माण गरिएको रिटेनिङ वाल तथा ग्याबियन वालसमेत भत्काएको छ।

आजदेखि आकाश खुल्ने

निरन्तर वर्षाका कारण प्रभावित विभिन्न क्षेत्रमा आजदेखि मौसममा सुधार आउने र आकाश खुल्ने अपेक्षा गरिएको छ। यद्यपि बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेकाले प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया