रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीकी ५४ वर्षीया पाल्मो दोङ यतिबेला काठमाडौँको स्वयम्भूस्थित गासोक गुम्बामा बनाइएको अस्थायी आश्रयस्थलमा हुनुहुन्छ । रसुवाको भोटेकोशी–त्रिशूली बाढी प्रभावितहरूका लागि बनाइएको उक्त आश्रयस्थलमा उहाँसँगै स्याफ्रुबेँसीका करिब ५४७ जना प्रभावित पनि आश्रय लिएर बसिरहेका छन् ।
२०८३ भदौ १० गते आएको भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीले पाल्मोको घरसहित सम्पूर्ण सम्पत्ति बगाएपछि नेपाली सेनाले उहाँको उद्धार गरी काठमाडौँ ल्याएको हो ।
स्याफ्रुबेँसीमा पाल्मोको ‘स्काई होटल’ नामको चल्तीको व्यवसाय थियो । तर अहिले होटल मात्र होइन, त्यहाँ रहेका सम्पूर्ण भौतिक संरचनाको निसानसमेत बाँकी छैन। उहाँका आमासहित छरछिमेकीलाई पनि बाढीले बगाएर लग्यो। सामाजिक सञ्जालमा हेर्दा पहिले विशाल होटल उभिएको ठाउँमा अहिले केवल बगर देखिन्छ ।
“म भने भाग्यले बाँचेँ। भाग्दै गर्दा हेर्दाहेर्दै आमालाई बाढीले तान्यो । मलाई भने साहिला छोरा र ठूलो दाइले डिलमाथिबाट कपाल समातेर तानेकाले बाँच्न सफल भएँ,” बाढीको कहालीलाग्दो अनुभव सुनाउँदै पाल्मोले भन्नुभयो, “ससुरा बा बाटोमै उभिनुभएको रहेछ । उहाँलाई पनि उर्लिएको भेलले बगाएर लग्यो ।”
यस्तै खालको बाढी यसअघि २०८१ सालमा पनि देखेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “तर त्यतिबेलाको बाढी यति तीव्र थिएन । बिस्तारै बगेर आएकाले मानिसहरू भाग्न सकेका थिए । यसपालिको बाढी भने कल्पना नै गर्न नसकिने खालको, विस्फोटजस्तै थियो ।”
“त्यतिबेला बाढी आउँदा पासपोर्ट र पैसा पोको पारेर भागेका थियौँ । होटलमा रहेका सबै पाहुनालाई पनि सुरक्षित रूपमा भगाएका थियौँ। तर यसपटक त्यस्तो कुनै मौका नै मिलेन,” उहाँले भन्नुभयो ।
स्याफ्रुबेँसीमै जन्मे–हुर्केकी पाल्मोलाई त्यहाँको भूगोल र वातावरणबारे राम्रो जानकारी छ । २०७२ सालको महाभूकम्पसमेत भोगेकी उहाँले २०८३ सालमा आएको जस्तो महाविपत्ति जीवनमा कहिल्यै नसुनेको र नदेखेको बताउनुभयो ।
बाढीबाट भाग्दै पाखामा पुगेपछि नेपाली सेनाले उद्धार गरी धुन्चे पु¥याएको र त्यहाँ दुई रात राखेको उहाँले बताउनुभयो। धुन्चेबाट नुवाकोटको बट्टारसम्म हेलिकप्टरमा र त्यसपछि गाडीमार्फत काठमाडौँ ल्याइएको अनुभव उहाँले सुनाउनुभयो ।
स्याफ्रुमा कसरी भयो बसोबास ?
आफ्नो जन्मघर गोल्जुङ भए पनि विकास र अवसरको खोजीमा स्याफ्रुबेँसीमा होटल व्यवसाय गर्न पुगेको कथा उहाँले सुनाउनुभयो ।
“स्याफ्रुबेँसी एउटा राम्रो बजार भइसकेको थियो । यो बजार फस्टाउनुको मुख्य कारण सबै क्षेत्रको नाका हुनु हो । उत्तरी सीमा केरुङ नाका पुग्न स्याफ्रु भएर नै जानुपर्छ; अन्यत्रबाट सडक सञ्जाल नै छैन । त्यसैगरी लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ जाने पर्यटकहरू पनि यहीँ भएर जान्छन् । जहाँ जाँदा पनि पर्यटकहरू एक–दुई रात स्याफ्रुमै बिताउँथे । पछि चिलिमे जलविद्युत् आयोजना आएपछि स्याफ्रु अझ गुञ्जायमान भया । । त्यही सम्भावनालाई पछ्याउँदै हामीले होटल व्यवसाय सुरु गरेका थियौँ,” स्याफ्रु बजारको विगत सम्झिँदै उहाँले भन्नुभयो ।
त्यही होटल व्यवसायबाट उहाँले चार भाइ छोराहरू हुर्काउनुभयो । “त्यहीँ होटल गरेर हुर्काएका छोराहरू अहिले आफैँ कमाउन सक्ने भएका छन्। श्रीमान्को आफ्नै व्यवसाय भएकाले उहाँ काठमाडौँतिरै हुनुहुन्छ,” उहाँले भन्नुभयो ।
थातथलोमै फर्किने वातावरण चाहियो
पाल्मो र उहाँका छिमेकीहरू अहिले आफ्नै थातथलोमा फर्किने वातावरण बनाइदिन सरकारसँग माग गरिरहेका छन्। पहिलेकै ठाउँमा बस्न सम्भव नभए पनि केही माथि डाँडामा आफ्नो जमिन भएकाले आफ्नै भूमिमा फर्किएर श्रम गर्ने इच्छा उहाँले व्यक्त गर्नुभयो ।
नयाँ वा अपरिचित ठाउँमा बाढी प्रभावितहरूको स्थायी बसोबास हुन नसक्ने उहाँको भनाइ छ ।
“हामी त्यहाँभन्दा बाहिर गएर कमाएर खान सक्दैनौँ। त्यहाँको हावा, पानी र माटोसँग भिजिसकेका स्याफ्रुवासी अन्यत्र अपरिचित हुन्छन्,” उहाँले भन्नुभयो ।
यातायात, सञ्चार र विद्युत् सेवा पुनः सुचारु गरिएमा स्याफ्रुमै पुनः आत्मनिर्भर हुने विकल्प निस्किने उहाँको विश्वास छ ।
“विकास खोज्दै खोला किनारमा झ¥यौँ, खोलाले सबैलाई तान्यो,” पाल्मोको यो भनाइमा स्याफ्रुबेँसीको विगतको विकास यात्रा, अहिलेको विपत्ति र थातथलोमै फर्किन चाहने प्रभावितहरूको पीडा एकैसाथ अभिव्यक्त हुन्छ ।







