भोटेकोशी–त्रिशूली बाढीबाट भएको ठूलो धनजनको क्षतिको कारक पश्चिमी विकास मोडलको अन्धानुकरण भएको आदिवासी अभियन्ता तथा राष्ट्रिय मुक्ति क्रान्तिका प्रवक्ता आरके तामाङले आरोप लगाउनुभएको छ।
१० भदौमा आएको भोटेकोशी–त्रिशूली बाढीलाई केही विज्ञहरूले जलवायु परिवर्तनको प्रभावसँग जोडेर विश्लेषण गरिरहेका बेला अभियन्ता तामाङले भने यसलाई पश्चिमी शैलीको विकासले निम्त्याएको संकटका रूपमा विश्लेषण गर्नुभएको हो।
‘जलविद्युत आयोजनाहरू जोखिमपूर्ण क्षेत्रमा बनेका छन्, जसका कारण बिमा, बजार र समाजसमेत असुरक्षित रहेको देखिन्छ,’ तामाङले भन्नुभयो, ‘मेलम्ची, रोशीखोला, थामे र सोलुको बाढीबाट पनि हामीले चेत खाएका छैनौँ। अझ भोटेकोशी–त्रिशूलीको बाढीपछि लासको व्यापार गर्न लागिएको छ।’
यसै साता राजधानीमा पारिजात क्वियर फेमिनिस्ट कलेक्टिभले आयोजना गरेको ‘जलवायु न्याय स् क्षतिपूर्ति, पुनर्स्थापना र उत्थानशीलता’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले नदी तथा प्राकृतिक स्रोतको दोहनमा आधारित विकासले जोखिम बढाएको बताउनुभयो।
‘ग्रीन इनर्जी’का नाममा नदी दोहन गरी जलविद्युत आयोजनामा लगानी गर्ने प्रवृत्तिले भोटेकोशी–त्रिशूली करिडोरलाई नै जोखिममा पारेको उहाँको भनाइ थियो।
‘जलविद्युत आयोजनाहरू जोखिमपूर्ण क्षेत्रमा बनेका छन्, जसका कारण बिमा, बजार र समाजसमेत असुरक्षित रहेको देखिन्छ,’ तामाङले भन्नुभयो, ‘मेलम्ची, रोशीखोला, थामे र सोलुको बाढीबाट पनि हामीले चेत खाएका छैनौँ। अझ भोटेकोशी–त्रिशूलीको बाढीपछि लासको व्यापार गर्न लागिएको छ।’
नेपाल सरकारले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा टिप्पणी गर्दै उहाँले त्यसलाई ‘मगन्ते मानसिकताको उपज’ भन्नुभयो।
आफ्ना कमजोरी ढाकछोप गर्न कहिले चीन र कहिले अमेरिका तथा युरोपलाई दोष लगाउँदैमा समस्याको समाधान ननिस्कने बताउँदै तामाङले नेपालको आफ्नै ज्ञान, सीप र भौगोलिक वास्तविकतामा आधारित विकास प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
बाढीको प्रमुख कारणका रूपमा हिमाललाई मात्र दोष दिनु गलत भएको उहाँको भनाइ थियो। आदिवासी परम्परामा हिमाललाई पुजनीय तथा आध्यात्मिक शक्तिको स्रोतका रूपमा लिइने उल्लेख गर्दै उहाँले प्रकृतिलाई दोषी ठहराउनेभन्दा प्राकृतिक स्रोतको दिगो उपयोगमा आधारित विकास आवश्यक रहेको बताउनुभयो।
बाढी प्रभावितहरूको पुनर्स्थापनाका लागि केवल घर निर्माण गरेर हस्तान्तरण गर्नु पर्याप्त नहुने उहाँको भनाइ थियो। समुदायको सहभागिता र समुदायको निर्णयमा आधारित पुनर्स्थापना हुनुपर्ने भन्दै उहाँले प्रभावित समुदायको आवश्यकता, परम्परागत ज्ञान र स्थानीय परिस्थितिलाई पुनर्स्थापना प्रक्रियाको आधार बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा फिगकी सवनम लामा, प्रयास अधिकारीलगायतले भोटेकोशी–त्रिशूली बाढीको समीक्षा गर्दै प्रभावित समुदायको हितलाई केन्द्रमा राखेर राहत, पुनर्स्थापना तथा दीर्घकालीन सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो।








