भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै ह्योल्मो समाज सेवा केन्द्रले तीनदिने मणिजप तथा नेभर पूजा सम्पन्न गरेको छ।
ह्योल्मो गुम्बामा सम्पन्न धार्मिक कार्यक्रममा बाढी तथा विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको शान्ति र सुगतिको कामना गर्दै बौद्ध परम्पराअनुसार मणिजप, प्रार्थना तथा पूजापाठ गरिएको हो। कार्यक्रममा मृतकका परिवार, आफन्त तथा रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायको समेत सहभागिता रहेको थियो।
केन्द्रका अध्यक्ष आङदावा शेर्पा ह्योल्मोका अनुसार विपद्मा आफ्ना आफन्त गुमाएका परिवारको पीडामा साथ दिन र दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको हो। उहाँका अनुसार ह्योल्मो समुदायका मानी परिवार, लामा तथा लोपेनहरूले तीन दिनसम्म सामूहिक रूपमा मणिजप तथा प्रार्थना गरेका थिए।
केन्द्रका अध्यक्ष आङदावा शेर्पा ह्योल्मोका अनुसार विपद्मा आफ्ना आफन्त गुमाएका परिवारको पीडामा साथ दिन र दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको हो।
बौद्ध धर्म परम्परामा मृत्यु भएका व्यक्तिको चिरशान्ति, सुगति तथा मृतकका परिवारमा मानसिक शान्तिको कामना गर्दै विभिन्न धार्मिक अनुष्ठान गर्ने प्रचलन छ। प्राकृतिक विपद्जस्ता दुःखद घटनापछि गरिने यस्ता सामूहिक प्रार्थनाले शोकमा रहेका परिवार तथा समुदायलाई भावनात्मक र आध्यात्मिक रूपमा समेत सहारा दिने विश्वास गरिन्छ।
भोटेकोशी बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीमा ठूलो संख्यामा मानिसको मृत्यु भएको पुष्टि भए पनि अझै धेरै व्यक्ति बेपत्ता रहेको बताइएको छ। उद्धार, खोजी तथा क्षतिको यकिन विवरण संकलनको कामसमेत जारी रहेको छ।
विपद्मा ज्यान गुमाएकाहरूको सम्झनामा गरिएको मणिजपले धार्मिक आस्थासँगै पीडित परिवार र समुदायप्रतिको सामाजिक ऐक्यबद्धता पनि अभिव्यक्त गरेको छ।








