किरात राई यायोक्खाले सुनसरीको धरान–१४ स्थित ऐतिहासिक विजयपुरगढी क्षेत्रमा स्थापित किरात राईहरूको सांस्कृतिक पहिचानसँग जोडिएको चिण्डो प्रतिमा तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यायोक्खाले सोमबार किरात राई यायोक्खाको कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक साम्प्रदायिक सद्भाव भड्काउने गरि २०८३ साउन १० गते रातिको समयमा गरिएको उक्त घटनाको भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको हो ।
यायोक्खाले रातिको समयमा योजनाबद्ध रूपमा प्रतिमा उखेलेर लडाइएको घटनालाई केवल भौतिक संरचनामाथिको आक्रमण मात्र नभई किरात राई समुदायको सांस्कृतिक अस्तित्व, ऐतिहासिक स्मृति र सामूहिक पहिचानमाथिको प्रहारका रूपमा व्याख्या गरेको छ । विज्ञप्तिमा यस्ता गतिविधिले समाजमा विद्यमान धार्मिक तथा जातीय सद्भाव बिथोल्ने, समुदायहरूबीच अविश्वास सिर्जना गर्ने र सामाजिक एकतामाथि नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ ।
विजयपुर दरवार भएको स्थलमा यायोक्खाले २०५१ सालबाट साकेला पूजा गर्दै आएको दावी गरेको छ । त्यहाँ तत्कालीन गंगा राई, रामकुमार राई, डीबी थुलुङ लगायतले पजा गर्न सुरु गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा यायोक्खाका अध्यक्ष जीवन हाताछो राई लगायतका पदाधिकारीहरूले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चरित्रलाई कमजोर बनाउने कुनै पनि गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता घटनामा राज्यले शून्य सहनशीलताको नीति अपनाउनुपर्ने धारणा राख्नु भएको थियो ।
यायोक्खाले सम्बन्धित सुरक्षा निकायलाई घट्नाको वैज्ञानिक र निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन आग्रह गरेको छ । साथै भविष्यमा यस्ता सांस्कृतिक सम्पदा र प्रतीकमाथि हुने आक्रमण रोक्न आवश्यक सुरक्षा व्यवस्था, संरक्षण नीति तथा प्रभावकारी कानुनी कार्यान्वयन सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको छ ।
विजयपुर दरवार भएको स्थलमा यायोक्खाले २०५१ सालबाट साकेला पूजा गर्दै आएको दावी गरेको छ । त्यहाँ तत्कालीन गंगा राई, रामकुमार राई, डीबी थुलुङ लगायतले पजा गर्न सुरु गर्नुभएको थियो ।
सरकार माओबादी द्धन्द्धको अन्त्यपछि २०६६ सालदेखि उभौली, उभौलीमा सास्कृतिक कार्य साकेला नाच प्रस्तुत गर्दै आएको हो भने धरान उपमहानगरपालिका र चार किरात जन्य संस्थाको सहमतिपछि चिन्डोको प्रतिमा राखिएको थियो । यायोक्खाले साझा सहमति अनुसार नै सांस्कृतिक संरचनाहरु निर्माण तथा उभौली गर्दै आएको जानकारी गराएको छ ।
किराती समुदायको अस्तित्वसँग जोडिएको साँस्कृतिक मुन्दुमी सामाग्री (बाबु )चिन्डो सर्वपक्षिय सहमतिमा जस्ताको त्यस्तै उठाईने समेत माग गरेको छ । यायोक्खाले सम्पूर्ण समुदायलाई संयमता अपनाउन, कानुनी प्रक्रियामाथि विश्वास गर्न तथा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै सांस्कृतिक सम्पदा सबै नेपालीको साझा धरोहर भएकाले यसको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको उल्लेख गरेको छ ।








