आज एक सय १६ औ अन्तराष्ट्रिय महिला दिवश । Rights. Justice. Action. For All Women And Girls भन्ने नाराका साथ यो दिवश विश्वभर मनाइदै छ । नेपालमा भने सबै महिला तथा वालवालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अधिकार’ भन्ने राष्ट्रिय नारा तय भएको छ । विविध कार्यक्रमका साथ नेपालमा पनि यो दिवश मनाइएको छ ।
यो दिवशमा सरकारी निकाय र गैह्रसरकारी संस्थाहरुले फरक फरक रुपमा यो दिवश मनाएका छन् ।
नेपालका आदिवासी महिलाहरुले भने महिला विरुद्धको सम्पूर्ण भेदभाव उन्मुलन गर्ने महासन्धी सिडका सम्बन्धमा आदिवासी महिला र किशोरीहरुको अधिकारका लागि आधारभूत सिफरिस नम्बर ३९ कार्यन्वयन गर्न जोड दिदै यो दिवश मनाइएको हो ।
यो सिफारिस सिड कमिटिले सन २०२२ मा जारी गरेको हो । यो सिफारिस अनुसार आदिवासी महिला र किशोरीहरुको अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको हो ।
आदिवासी महिला बिरुद्ध हुने हिंसा र भेदभाव प्रायः उनीहरुको जीवनमा दोहोरिरहने घटना हो । उनीहरुले उत्पत्ति, पहिचान तथा प्रतिष्ठाका लागि जातीय, उमेरगत, भाषिक, सामाजिक र आर्थिक अवस्थाका कारण पटक पटक हिसा व्यहोर्नु पर्दछ । अझ अपांगता भएका आदिवासी महिला र फरक लैगिक पहिचान भएकाहरुले बहुआयामिक रुपमा बहुविभेद खेप्नु पर्नेहुन्छ ।
आदिवासी महिला तथा किशोरीहरु भूमि, भूभाग, प्राकृतिक स्रोत र साधन तथा संस्कृतिका अभिन्न अंगहरु हुन् । यस्तो महत्वपूर्ण समुदायको समस्या समाधान गर्न बहुपक्षीय विभेदको दृष्टिकोण र अन्तरसाँस्कृतिक कोणबाट सम्बोधन गरिनु पर्दछ ।
आदिवासी महिलाको आत्मनिर्णयको अधिकार, भूमिसंगको उनीहरुको अन्योन्याश्रित सम्बन्ध, त्यसमाथि उनीहरुको पहुँच प्राकृतिक स्रोत र साधनमा पहुँचका साथै साँस्कृतिक र वातावरणीय सम्बन्धलाई लागु गर्न यस प्रकारका दिवसहरु लैङ्गिकमैत्रीभएर मात्र पुग्दैन, आदिवासीमैत्री पनि हुनु पर्दछ ।
आदिवासी महिला तथा किशोरीहरु सहभागिता आज नाममात्रको छ । संविधानमा प्रत्याभूत गरेको महिलाको अधिकारले आदिवासी महलिालाई सम्बोधन गर्न सक्दैन ।
समानुपातिक समावेशी सिद्धान्तको प्रयोग केवल राजनीतिक दलले मात्र गरिरहेका छन् । सीमान्त आदिवासी महिलाहरु राज्यको नीति निर्माण तहमा अझै पुग्न सकेका छैनन् ।
भर्खरै सम्मन्न प्रतिनिधि सभाको निर्वाचनको पूर्ण परिणाम आउन वाँकी नै छ । तथापि यो निर्वाचनको संरचनाले पनि आदिवासी महिला तथा किशोरीको समस्या समाधान हुने संभावना अत्यन्त न्यून छ ।
यो निर्वाचनका क्रममा आदिवासी महिलाको प्रमूख सरोकारलाई कुनै सम्बोधन गरिएन । खास गरेर प्राकृतिक स्रोतको परिचालनमा स्वतन्त्र, अग्र्रिम जानकारी सहितको मञ्जुरी लागु गर्ने कसैको पनि प्रतिवद्धता देखिएन । देशभरी आदिवासीको भूमिको उत्खनन, स्रोतको दोहनबाट आदिवासीले व्यहोरेको विस्थापन, हैरानी, सैनिकीकरण लगायतका हैरानीबाट छुट्कारा पाउने उपायका बारे कतै सोचिएन ।
यो दिवश विगतलाई उत्सव मनाउने र भविष्यका लागि योजना बनाउनेगरी तय भएको हो । सन १९०८ को मार्च ८ मा महिलाको कार्यबोझ घटाउने र राम्रो ज्याला पाउनु पर्ने माग सहित सुरु भएको महिला दिवश केही सुकिलामुकिलाको फेसन सो गर्ने दिन होइन भनेर हामीले बुझनु पर्छ ।
महिला हक अकिारका बारे कुरा गरेर नथाक्नेहरुले दुरदराजमा रहेका आदिवासीहरुको अनुहार हेरेर मात्र यो दिवशको नयाँ कार्यक्रम सुरु गर्नु यो दिवशको सबैभन्दा ठूलो पाठ हो ।








