नवलपरासीमा थारू पत्रकार संघ गठन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ साउन २०७२, सोमवार
थारू पत्रकार संघ नवलपरासीका नवगठित कार्यसमितिका पदाधिकारी तथा अन्य अतिथि

कारी महतो, नवलपरासी

नवलपरासीका विभिन्न संचार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको एक भेलाबाट साउन १६ गतेका दिन जितनारायण थनेतको अध्यक्षतामा ९ सदस्यीय थारू पत्रकार संघको नवलपरासी जिल्ला शाखा गठन भएको छ ।

कावासोती–१५, बाघखोरस्थित अमलटारी मध्यवर्ती होमस्टेमा भएको एक भेलाबाट गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा मुना चौधरी, सचिवमा मुस्कान महतो, सहसचिवमा पृथ्वी महतो, कोषाध्यक्षमा सरु चौधरी, सदस्यहरुमा लक्ष्मी चौधरी, चुडामणि महतो, प्रिया चौधरी र सुनैना चौधरी सर्वसम्मत चयन भएका छन् । “थारू पहिचानका लागि जम्मे थारू पत्रकारसबह एकजुट हखुँ” भन्ने नारा सहितको भेला थारू साहित्यिक सभा नवलपरासीको आयोजनामा भएकोे थियो । वरिष्ठ साहित्यकार तथा थारू पत्रकार संघका संस्थापक महासचिव कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम भेला आयोजक संस्था थारू साहित्यिक सभा नवलपरासीका अध्यक्ष मणिराज महतोको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि कृष्णराज सर्वहारी लगायत थारू कल्याणकारिणी सभाका केन्द्रिय सदस्य इनरप्रसाद महतो, थारू पत्रकार संघका केन्द्रिय सदस्य हिक्मत चौधरी, आदिवासी जनजाति युवा महासंघ नवलपरासीका अध्यक्ष राजकुमार महतो, थारू पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो, साना कृषि सहकारी संस्थाका अध्यक्ष पतिराम थनेत, थारू युवा सभाका केन्द्रिय सदस्य धनबहादुर मर्दनिया थारूले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, अमलटारी मध्यवर्ती होमस्टेका व्यवस्थापक प्रेमशंकर मर्दनिया थारू, थारू गुरौं समितिका अध्यक्ष कमलराज गुरौं, प्रेस चौतारी नवलपरासीका अध्यक्ष विद्रोही गिरी लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा राज्यद्वारा पछाडि पारिएका थारू लगायत आदिवासी जनजाति, पिछडिएका वर्गको हक अधिकार तथा अस्तित्व पहिचानका लागि थारू पत्रकारहरुले निर्भिक रुपमा कलम मार्फत् जागरण अभियान अगाडि बढाउनुका साथै लोपोन्मुख अवस्थामा रहेका थारू भाषा, संस्कृति जगेर्ना र थारू जातिका इतिहासको खोजीनितिका लागि पनि कलम चलाउनु पर्ने अधिकांश बक्ताले बिचार राखे ।

थारू पत्रकार संघ नवलपरासीका नवगठित कार्यसमितिका पदाधिकारी तथा अन्य सञ्चारकर्मीहरुलाई साउन १७ गते कृष्णराज सर्वहारीले फिचर लेखनबारे प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया