हिमालय भोटे समाज काठमाडौंका अध्यक्ष मिथुन चाङ्बा भोटेको पहलमा भोटे परिवारलाई खाद्यान्न राहत वितरण

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ फागुन २०८२, सोमवार
हिमालय भोटे समाज काठमाडौंका अध्यक्ष मिथुन चाङ्बा भोटेको पहलमा भोटे परिवारलाई खाद्यान्न राहत वितरण

हिमालय भोटे समाजका अध्यक्ष मिथुन चाङ्बा भोटेको समन्वयमा काठमाडौंमा बसोबास गर्दै आएका विपन्न भोटे परिवारलाई खाद्यान्नसहितको राहत सामग्री वितरण गरिएको छ।

समाजका अध्यक्ष मिथुन चाङ्बा भोटेको नेतृत्वमा संखुवासभाको भोटखोला गाउँपालिकाका स्थायी बासिन्दा भई हाल काठमाडौंमा जीविकोपार्जनका लागि बसोबास गरिरहेका आर्थिक रूपमा कमजोर परिवारलाई राहत उपलब्ध गराइएको हो।

औंतारी बौद्ध धर्मगुरु आठौं चिनिया लामा भुपती बज्र रिन्पोछे ज्यु बाट प्राप्त सहयोगमार्फत संकलित चामल, दाल, तेल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्षले जनाएको छ।

अध्यक्ष भोटेले भने, “समुदायका विपन्न परिवारलाई संकटको घडीमा साथ दिनु हाम्रो दायित्व हो। सानो सहयोगले पनि ठूलो राहत महसुस हुन्छ भन्ने विश्वासका साथ हामीले यो अभियान अघि बढाएका हौँ।”

उनका अनुसार उनकै समन्वयमा यसअघि पनि विभिन्न समस्यामा परेका भोटे समुदायका परिवारलाई सहयोग गर्दै आएको छ। टोखा नगरपालिका–३ मा तोङ्बा जफत गरिँदा प्रभावित बनेका परिवारलाई समेत राहत वितरण गरिएको थियो।

समाजले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित क्षेत्रमा सहयोगका कार्यक्रम निरन्तर अघि बढाउने जनाएको छ।

प्रतिक्रिया