तामाङ भाषा गुगल त्रैभाषिक अनुवादमा समावेश, सुझावका लागि सार्वजनिक गरिएको जानकारी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ पुष २०८२, बिहिवार
तामाङ भाषा गुगल त्रैभाषिक अनुवादमा समावेश, सुझावका लागि सार्वजनिक गरिएको जानकारी

तामाङ भाषालाई डिजिटल पहुँचमा पुर्‍याउने उद्देश्यसहित तामाङ–नेपाली–अङ्ग्रेजी त्रैभाषिक अनुवाद हुने गरी २३ हजार शव्द गुगलमा प्रविष्ट गरिएको छ । 

काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा तामाङ राष्ट्रिय पुस्तकालय (तारापु)ले तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गरेको हो ।  

तामाङ राष्ट्रिय पुस्तकालय (तारापु) ले विहिबार एक पत्रकार सम्मेलनको  आयोजनामा  गरि तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गर्ने लक्ष्य सहित थप काम भइरहेको जानकारी गराइएको छ  ।

पुस्ताकलयका अध्यक्ष तथा भाषाशास्त्री अमृत योन्जनले प्रेस विज्ञप्ती वाचन गर्नुहुँदै सो जानकारी दिनुभयो । उहाँले हालसम्म  एक लाख तामाङ शव्दमध्ये  करिब २३ हजार शव्द मात्र गुगलमा राख्न सफल भएको बताउनुभयो । 

तामाङले समुदाय तहबाट प्रतिक्रिया र सुझाव संकलन गर्न वेबसाइट tmt.ilprl.ku.edu.np एक महिनासम्म खुला गरिएको समेत बताउनुभयो । 

तामाङ वेबसाइटमा रहेका चारवटा अनुवाद मोडलमध्ये उपयुक्त नलागेमा प्रयोगकर्ताले प्रतिक्रिया र सुझाव दिन सक्ने व्यवस्था गरिएको छ ।

समुदाय तहबाट प्राप्त प्रतिक्रियाका आधारमा एउटा मोडललाई अन्तिम रूपमा प्रशिक्षित गरिने र त्यसपछि तामाङ भाषी केही गाउँपालिकामा पुगेर थप प्रतिक्रिया लिइने जानकारी दिइएको छ । 

तामाङ–नेपाली–अङ्ग्रेजी भाषाबीच अन्तरअनुवाद सम्भव बनाउने लक्ष्यसहित सुरु गरिएको यस परियोजनामा प्राविधिक पक्षका लागि काठमाडौं विश्वविद्यालयअन्तर्गत सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालयबीच सहकार्य गरिएको छ । 

परियोजनाअन्तर्गत तामाङ, नेपाली र अङ्ग्रेजी भाषाका एक–एक लाख वाक्य मिसिन अनुवाद प्रक्रियामा समावेश गरिनेछ । आयोजकका अनुसार आउँदो फागुनसम्म तामाङ भाषालाई गुगल अनुवाद सेवामा प्रवेश गराउने पहल गरिनेछ ।

यस परियोजनामा काठमाडौं विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुवेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य तथा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. बलराम प्रसाईं संलग्न हुनुहुन्छ ।  

अनुवाद टोलीमा संयोजक अमृत योन्जन तामाङ, सम्पादक इन्द्र तामाङ र अनुवादकहरू पेमाछिरिङ तामाङ, बुद्ध योन्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा रहनुभएको छ ।

हालसम्म नेपाली भाषाबाहेक मैथिली (सन् २०२२) र नेवाभाषा (सन् २०२४) मात्र गुगल अनुवादमा समावेश भएका थिए । 

 

प्रतिक्रिया