श्री बौद्धनाथ क्षेत्र विकास समितिले महाङ्काल जात्रा मनाएको छ । धार्मिक सहिष्णुतालाई मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजा गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको हो ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको कार्यक्रममा र रक्षामन्त्री मानवीर राई विशिष्ठ अतिथि हुनुहुन्थ्यो । सो अवसरमा उहाँहरुले लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गर्नुभएको थियो।
सो अवसरमा मन्त्री द्वय पाण्डे र राईले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको थियो । हिन्दु एवं बुद्ध धर्मावलम्वीले आ–आफ्नो धार्मिक विधि–पद्धति अनुरूप समान रूपमा महाङ्कालको पूजाअर्चना गर्ने गर्छन् । हिन्दू एवं बुद्ध धर्मका अनुयायीहरूको बाक्लो उपस्थितिमा पूजाअर्चना गरिएको थियो ।
हिन्दू र बुद्ध धर्मावलम्वीले महाङ्कालप्रति आस्था राख्ने भएकोले धार्मिक सहिष्णुता सदैव कायम होस् भन्ने कामनाका साथ लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना गरिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले बताउनुभयो ।
बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा बौद्धमा पहिलो पटक विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइएको हो।साधना पुजा पश्चात विभिन्न झाँकी सहित हजारौँको संख्यामा रहेका सहभागिहरुले बाजागाजा सहित महाकालको प्रतिमालाई खटमा राखी रामहिटी, तीनचुली,भुवलडाँडा, बौद्ध, पिपलबोट ,टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइ्एको थियो ।
महाङ्काल भैरवको साधना पुजाको लागी बिभिन्न संघ संस्थाको सहभागिता रहने गरी माहाँकाल जात्रा मूल समारोह समिति गठन गरिएको थियो ।