जापानमा फङ्ङी चाड मनाएको छ । शेर्पा संघ जापानले लोपोन्मुख चाड (फङ्ङी) संरक्षण गर्ने उदेश्यले बृहत फङ्ङी साँझा २०२५ को आयोजना गरि मनाएको हो ।
प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण भन्ने मूल नारासहित जापानमा संघले तेस्रो पटक फङ्ङी चाड गत जुलाई २७ तारिखमा जापानको टोकियो स्थित शिनओकुबोमा सामुहिक भेटघाट भएर हर्षका साथ मनाएको छ ।
शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष भक्त गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा शेर्पाहरुको मौलिक नृत्य श्याब्रुको प्रस्तुती राखिएको थियो । सो अवसरमा शेर्पा कलाकारहरुले सांगितिक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरुले फङ्ङी चाडको संरक्षणका लागि प्रवासमा पनि समुदाय जागरुक भएकोमा प्रशंसा गर्नुभएको थियो । सो अवसरमा शेर्पा संघ जापानका सल्लाहकार कर्मा गेल्जे शेर्पाले जापानीहरुले पनि शेर्पा र हिमालयको नामबाट नेपाललाई चिन्ने गरेकोमा गर्व गर्दै जापानको नियम कानुनको पालना गर्न र राम्रो कुराहरु सिक्न अनुरोध गर्नुभयो । संघका संरक्षक छेवाङ लामाले फङ्ङी चाड जापानमै आएर मनाउने अवसर पाउनुको श्रेय शेर्पा संघ जापानलाई दिनुभयो । उहाँले आदिवासी जनजातिहरुको आन्दोलनमै रहेको र पहिचान नै राज्यमा पहुँच राख्ने मुख्य आधार भएकोले यसलार्य जोगाएर भावी पुस्तामाझ हस्तान्तरण गर्न नसके पहिचानसंगै अस्तित्व हराएर जानेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुदै किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष मन कुमार तुम्सा लिम्बुले भाषाप्रतिको माया र मोह अन्य समुदायले पनि सिक्नुपर्ने भन्दै फङ्ङीको रमाईलो संगै भाषा, लिपि, संस्कार संस्कृतिलाई पुस्तान्तरण गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।
फङ्ङी हिमाली भूभागमा बसोबास शेर्पा समुदायले ग्रीष्ममा मनाईने चाड हो । यो चाड दथो (चन्द्रमास) पात्रोअनुसार छैटौँ महिनामा पर्र्छ भने नेपाली महिनाको श्रावणमा पर्छ । चन्द्रमास पात्रोअनुसार छैटौँ महिनामा ‘गुर्जे फग’ भन्ने तिथि आउँछ । यो तिथिमा पानी, आद्यबाली र फलफूलहरुमा विशेष प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ । यो चाड एक हप्तासम्म मनाईन्छ । शेर्पाहरु एकै ठाउँमा भेला भई खुशी साटासाट गर्ने र सामुहिक भोज खाने चलन छ । यो चाड मनाउनका लागि परम्परागत रुपमा फङ्ङ लावा नामका समिति छनोट गरिएको हुन्छ ।
जसले यो चाड तीन दिनदेखि सात दिनसम्म मनाउँछ । यस चाडमा शेर्पा समुदायको परम्परागत श्याब्रु नृत्य तथा शेर्पा लोकगीतहरु ‘जलु’, ‘ठालु’ गाउने परम्परा छ । चाड मनाईसकेपछि अर्को वर्षको लागि आयोजक समिति छनोट गरी नयाँ समितिलाई स्वागत र पुराने समितिलाई खादाद्धारा विदाई गर्ने चलन रहेको छ ।