समथ एवं विपश्यना ध्यानको त्रैवार्षिक स्मारिका २०८१ को लोकार्पण भएको छ । मंगलबार बौद्धस्थित मंगलदिप माध्यमिक विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच डा. कर्म साङबो शेर्पा, सेचेन गुम्बाका खेन्पो ग्युरमे छुल्ठिम, खेन्पो टाशी, खेन्पो ङवाङ र लामा कर्मा फुपु लगायत धर्मगुरुहरुले संयुक्त रुपमा स्मारिकाको लोकार्पण गर्नुभएको हो ।
यसअगि समता एंव विपश्यना केन्द्रले ध्यान तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै डा. कर्म साङ्बो शेर्पाले खेन्छेन ठाङ्गु रिन्पोछेको सम्झनामा तीन दिने ध्यान तथा प्रवर्चन कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । डा. कर्मा साङ्बोले बुद्ध जन्मेको देशमा बुद्धको शिक्षा फैलिन नसक्नु दुखको कुरा भएको बताउनुभयो । उहाँले भगवान बुद्धले दिएको ज्ञान, बुद्धको विषयमा आम नेपालीलाई जानकार नभएको बताउनुहुँदै खोज अध्ययन तर्फ पनि केन्द्रीत हुन आवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै खेन्पो ङवाङले भगवान बुद्धले देखाउनुभएको मार्गमा चल्नुपर्ने बताउनुभयो । यसैगरि खेन्पो ग्युरमे छुल्ठिम, खेन्पो टाशी, लामा कर्मा फुपुलगायतले सामाजिक जीवन र प्रविधिको प्रयोगमा अल्झेको दैनिकीलाई ध्यान गरेर मानसिकरुपमा बलियो बनाउन विपश्यनाले महत्वपुर्ण भुमिका खेल्ने धारणा राख्नुभयो ।
समता एवं विपश्यना केन्द्रले नेपाली महिनाको प्रत्येक पहिलो सनिबार ध्यान (विपश्यना) गर्दै आएको छ ।