इन्द्रसरोवर गाउँपालिका वडानम्बर ३ सिस्नेरी बजार ध्वस्त हुनुमा कुलेखानी जलविद्युत आयोजनाको लापार्वाही रहेको सो गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले आरोप लगाउनु भएको छ ।
सिस्नेरी लगायत तल्लोतटीय क्षेत्रमा धेरै क्षती गरेको हुँदा त्यसको क्षतीपुर्ती नेपाल विद्युत प्राधिकरणले व्यहोर्नू पर्ने उहाँको भनाई छ ।
२०८१ साल अशोज १२ गतेको आकस्मीक बाढीले कुलेखानी खोलाको तटीय क्षेत्रमा रहेको सिस्नेरी बजारको ४० घर तहसनहस पारेको थियो भने उव्जाउ कृषि भूमि, काठमाडौबाट हेटौडा जाने सडक, २२ मेघावाटको निर्माणाधिन जलविद्युतको पावर हावस लगायतमा क्षती पु¥याएको थियो ।
सोही बाढीका कारण इन्द्रसरोवर टेकर वत्सला माध्यामिक विद्यालयको एन्फा क्याम्पमा प्रशिक्षण लिइरहेका छ जना किशोर खेलाडीको पनि मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा अनुपम घलान, दिनेश बानिया, साइमान योन्जन, विकल रेग्मी, रियाल्स आचार्य र आदित्य बलम्पाकी थिए । अहिलेसम्म मृत्युहुनेहरुको परिवारलाई कुनै राहत दिइएको छैन भने घरखेत गुमाएका त्यहाँका पिडीतहरुलाई सामन्य चाउचाउ र चामल बाहेक पुनस्थापना तथा क्षतिपुर्तीको व्यबस्था हुन सकेको छैन ।
‘यत्रो तहस नहस हुनुमा विद्युत प्राधिकरणको लापार्वाही देखिन्छ, पीडितलाई क्षतीपुर्ती तथा पुनस्थापना गर्ने काम पनि प्राधिकरणकै हो ।’ गाउँपालिका अध्यक्ष पुडासैनीले भन्नु भयो –‘हामी सम्बन्धित निकायको ध्यान आकर्षण गरिरहेका छौ । सुनुवाई हुन्छ भन्ने विश्वास छ ।’
नेपाल विद्युत प्राधिकरणको व्याकअप मानिने कुलेखानी जलविद्युत केन्द्रको जलासय इन्द्रसरोवर अशोज दोस्रो साता आएको अविरल बर्षाका कारण ताल भरिए पछि जलासयको ढोका खोलिएको थियो ।
सावधानी नअपनाई एकै पटक ढोका खोलिएको कारण तटीय क्षेत्र नहसनहस भएको स्थानीयको आरोप छ ।’ सो घटनाबाट प्रभावित बनेकी लक्ष्मी नगरकोटीका अनुसार कुलेखानी जलविद्युत केन्द्रले जलासय भरिएर ड्यामको ढोका खोल्ने सम्बन्धी तटीय क्षेत्रमा कुनै सूचना दिइएको थिएन ।
कुलेखानी जलविद्युत केन्द्रले भने पटक पटक सचेत रहन आग्रह गरिएको बताएको छ । तर स्थानीयले भने त्यस्तो सूचना नपाएको दावी गरेका छन् । ‘अनलाइन तथा फेसबुकमा सूचना दिएको कुरा पछि सुनियो, तर हामी फेसबुक पनि जान्दैनौ, अनलाइन पनि हेर्ने गरेको थिएन ।’ स्थानीयले भन्नु भयो –‘स्थानीय प्रहरी चौकी थियो, उसले माइकिङ गरेको भए हुने थियो ।’
सिस्नेरी बजार स्थानीय नगरकोटी पहरी, मगर र तामाङ जातिको जीविकाको थलोजस्तै थियो । कृषि उपजको विक्रीस्थल, हेटौडा–काठमाडौ यातायातको विसाउनी र स्थानीय गाउँ र शहरसंग जोड्ने संगमको रुपमा विकसित भएको थियो ।
दुइ दशक देखि हेटौडा र काठमाडौ जोड्ने छोटो दुरीको सार्वजनिक सवारी साधन चल्न थाले पछि यो बजारको चहलपहल बढेको थियो । सिस्नेरीको कोगटे खोलामा रहेको प्राकृतिक पौडी पोखरी सन्चालनमा आए पछि गर्मी याममा आन्तरिक पर्यटकहरु सिस्नेमा आकर्षित भएका थिए ।
स्थानीय सुमन नगरकोटीले जानकारी दिए अनुसार सिस्नेरी बजारमा खाना तथा खाजा होटल, किराना पसल, भाडा, औषधि लगायत उपभोग्य बस्तु किनवेच हुने केन्द्र जस्तै थियो । केही सवारी साधन मर्मत गर्ने वर्कसप पनि थिए । ती सबै एकै झड्कामा स्वाहा भएको आफ्नै आँखाले देखेको बताउनु भयो ।
‘यत्रो बजार सकिन १० मिनट पनि लागेन, हामी डाँडाबाट आफनै घर कुलेखानीले निलेको टुलुटुलु हेर्न बाध्य भयौ ।’ सिस्ने बजारका कृष्णकुमार ठकुरीले बताउनु भयो ।
राहतमा पक्षपात, पुनस्थापनाको टुङ्गो छैन
यो बजार स्थानीयले आफनो जीवनभरको कमाइ जम्मा गरेर बनाएका थिए । तर उनीहरुको बस्ने घर र खाने साधनको अभाव छ । रेडक्रसले दिएको पाल टाँगेर चिया पसलमा ग्राहक कुर्ने दैनिकीमा उनीहरु फर्किएका छन् । तर त्यहाँका नगरकोटीहरुलाई राहतमा पनि पक्षपात गरेको उहाँहरुको बुझाइ छ ।
स्थानीय राजनीतिक भेदभावका कारण सिस्नेरीबासीलाई राहतमा भेदभाव भइरहेको लक्ष्मी नगरकोटीले बताउनु भयो । ‘यो मेरै लालपुर्जा भएको जमिन थियो, तर स्थानीय सरकार प्रतिनिधि आएर सार्वजनिक जग्गा भनिरहेका छन् ।’ उहाँले बताउनु भयो– ‘कुलेखानी खोलाले हाम्रो घर बगाएको हो, तर नेताहरु आएर सिस्नेरी खोलाको पीडित भन्छन् । हामीलाई विभेद गरेर सरकारबाट पाउने राहतमा पक्षपात गरिएको छ भने भविष्यमा पुनस्थापनामा पनि यो समस्या ल्याउँछ भन्ने हाम्रो ठम्याइ छ ।’
स्थानीय तहका नेताहरु खास गरेर वडाका पदाधिकारीहरुले मिडियासंग नवोल्न चेतावनी दिएको त्यहाँका एक जना प्रभावितले बताउनु भयो । आफनो नाम नलेख्ने शर्तमा बताए अनुसार वडाका र पालिकाका पदाधिकारीहरु राजनीति गरेर यस्तो विपतमा पनि हेला गरिरहेका छन् ।
देशलाई उज्यालो बनाउन २०३८ सालमा निर्माण सम्पन्न भएको कुलेखानी जलविद्युत आयोजनाले अध्याँरो चिर्न जति योगदान दिएकोछ, त्यतिकै प्रभावितहरुको भविष्यलाई अन्धकारतर्फ धकेलेको छ ।
यो जलविद्युत आयोजना अन्तर्गत कुलेखानी–१ बाट ६० मेघावट, कुलेखानी– २ बाट ३० र कुलेखानी– ३ बाट १४ मेघावाट सहित कूल १०६ मेघावाट जलविद्युत उत्पादन भइरहेको छ ।
इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर १ मार्खु र २ को कलंकी क्षेत्रमा रहेको ८ किलोमिटर लम्बाइ रहेको तालको गहिराई ९७ मिटर रहेको छ ।