सडक अतिक्रमणले बाडेगाउँको ऐतिहासिक षडक्षरी लोकेश्वर र कालभैरब मन्दिर संकटमा, नेवार जातिको सांस्कृतिक मुटुमै प्रहार भएको स्थानीयको भनाई

गणेश राई
गणेश राई९ मंसिर २०८१, आइतवार
सडक अतिक्रमणले बाडेगाउँको ऐतिहासिक षडक्षरी लोकेश्वर र कालभैरब मन्दिर संकटमा, नेवार जातिको सांस्कृतिक मुटुमै प्रहार भएको स्थानीयको भनाई

गोदावरी, ललितपुर

बाडेगाउँको लाछी टोलस्थित लिच्छविकालीन कालभैरबको मन्दिर छेउमा वृद्धवृद्धाका दिवा आश्रम छ । त्यही आश्रममा ९४ वर्षीय जेष्ठ नागरिक पशुपति महर्जनलगायत समवयीहरूको दिन बित्ने गर्छ । आजका जेष्ठ नागरिक उनै पशुपति महर्जन आफ्नो जमानामा यही ठाउँको जनप्रतिनिधि हुनुहुन्थ्यो । उहाँ २०२३ सालदेखि २०३३ सालसम्म बाडेगाउँ गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । उहिले यही वृद्धाश्रममा गाउँ पञ्चायतको कार्यालय थियो । अहिले बिहान मठमन्दिर धाउने र दिवा आश्रममा बसेर

समवयीसँग अतीतका पलहरू कोट्याएर समय कटाउने गर्नुुहुन्छ, यहाँका जेष्ठ नागरिकहरू ।
नेपालभाषामा ‘लाछी’ भन्नाले सार्वजनिक खुल्ला ठाउँ, पाटी रहेको, जात्रामा सामुहिक भोज खाने ठाउँ, नाच प्रदर्शन गर्ने ठाउँ, धान, गहुँ सुकाउँने ठाउँ भन्ने बुझिन्छ । बाडेगाउँको लाछी टोलमा ऐतिहासिक षडक्षरी लोकेश्वर मन्दिर, कालभैरबको मन्दिर, पोखरी, ढुङ्गेधारा, पाटी, इनार आदि छन् । 

यही लाछी टोलको लोकेश्वर मन्दिर र कालभैरब मन्दिरको बिचबाट सातदोबाटा–गोदावरी सडक लमतन्न तन्किएको छ । सडकमा हरपल अनेक खाले सवारी साधनहरू गुडिरहन्छन् । जब ठूला आकारका साझा बस दुईतिरबाट यो ठाउँ आइपुग्छन्, तब सडक जाम हुन्छ । किनकि सडक साँघुरो छ । एउटा साझा बस अघि बढ्न अर्को साझा बस केही पछाडि सर्नुपर्छ । हरेक दिन छिनछिनमा यो ठाउँमा सवारीसाधनहरू जाम हुन्छ ।

अनि त्यतिखेर पशुपति महर्जनलगायत जेष्ठ नागरिकहरू निस्केर रमिता हेर्ने गर्नुहुन्छ । अनि चियाउनु हुन्छ । कुनै गाडीले कालभैरबको मन्दिरमा ठक्कर देला कि अथवा पारितर्फ षडक्षरी लोकेश्वर बुद्ध मन्दिरमा ठोक्काए कि ? भनेर चियोचर्चा गर्ने गर्नुहुन्छ । कयौं पटक गाडी धस्रिएर मन्दिर छियाछिया जीर्ण बनेका छन् । 

यो दैनिकी ललितपुरको गोदावरी नगरपालिका वडा नं.१४ बाडेगाउँ लाछी टोल र यहाँका बासिन्दाहरूको हो । बस्तीमाझमा साँघुरो बाटोलाई मूल सडक विस्तार भएपछि यहाँका बासिन्दा अप्ठ्यारोमा परेका छन् । परम्परागत घरहरू आँगनविहीन अतिक्रमणमा परेको वर्षौं भएको छ । जनप्रतिनिधिहरूले स्थानीयलाई सोध्दै नसोधी सडक विस्तार गर्न डोजर चलाएपछि पटक–पटक झडप भएको थियो । त्यसरी सरकारबाट बलमिच्याइँ भएपछि हरिसिद्धि–गोदावरी सडक विस्तार पीडित संघर्ष समिति गठन गरेर न्यायका निम्ति लड्न थालेको दशक बितिसकेको छ । संघर्ष समिति सर्वोच्च अदालतको ढोका ढकढकाउँदै गुहार्न पुग्यो । अन्ततः सर्वोच्चले अन्तरिम आदेश जारी भएपछि तत्कालका निम्ति मिल्यो तर समस्याहरू ज्युँकात्युँ छन् । 

सर्वोच्च अदालतलेले २०७३ चैतमा अन्तरिम आदेशपछि सडक विस्तार रोकिएको छ । तर मुआब्जा, क्षतिपूर्ति अथवा वैकल्पिक सडक मार्गको कुनै व्यवस्था नहुँदा पीडितहरूको पीडा झनै उकुस पल्टिएका छ । 


सडकसँगै पूर्वतर्फ खुला ठाउँ छ । त्यसको पछाडि सामुदायिक गुठी घर छ । आँगनमा सडकले मिचेको लोकेश्वर बुद्धको मन्दिर छ । मन्दिरसँगै बिहार छ । आँगनको आर्य श्री प्रज्ञापारमिता नाम संगिती ज्ञानमाला भजन मण्डल छ । यो भजनमण्डलको घर र चैत्य पोखरी (द्यः पुखु)माथि निर्माण गरिएको छ । यी मन्दिर, चैत्य, बिहार, इनार, पोखरी, ढुङ्गेधारा वरिपरि शिलालेखहरू भेटिन्छन् भने कतिपय हराइसकेको छन् । ठाउँको अभावमा ऐतिहासिक पवित्र पोखरीलाई छोपेर संरचना निर्माण गरिएको छ । त्यसमुनि अहिले पनि पानी पोखरी छ भनेर झट्टै कसैले थाहा पान सक्दैन । 

सडक ज्यादै साँघुरो छ । यो टोल सडक छेउमा हेर्दा थोत्रा घरहरू उभिएका देखिन्छ । सडक दायाँ–बायाँ सत्तल पाटीहरू देखिन्छन् । उहिलेदेखि यो टोलमा खट जात्रा संचालन हुनेगरी फराकिलो बाटा राखिएका छन् । १६ जनाले बोक्न सक्ने खटलाई टोल–टोलमा घुमाउने परम्परा आजपर्यन्त कायम छ । आज पनि भित्री टोल–टोलको बाटो सडक जत्तिकै फराकिलो रहेका छन्, जहाँ ढुङ्गा बिछ्याइएका छन् । 

काठमाडौं उपत्यकाको सबैभन्दा मनोरम पर्यावरणीय थलो गोदावरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रहेको छ । त्यसैले पनि हरेक किसिमका ठूला सम्मेलन यहीं आयोजना हुने गरेका छन् । चक्रपथको सातदोबाटोबाट हरिसिद्धि, ठैब, बाडेगाउँ हुँदै गोदावरी पुग्ने जो कोही सडक साँघुरो भएर यातायात अवरुद्ध हुँदा कार्यक्रम स्थल पुग्न ढिलो हुने गर्छ । अनि स्थानीयबासीलाई ‘विकासको बिरोधी’ अर्थात् सडक मापदण्डलाई नटेर्ने समुदायको संज्ञा दिने गर्दछन् । 

‘हामी विकासको बिरोधी होइनौं,’ संघर्ष समितिका सदस्य सुरेश बज्रचार्य भन्नुहुन्छ, ‘लिच्छविकालदेखि बसोबास गर्दै आएका आदिवासी नेवार जातिको परम्परागत सांस्कृतिक थलो र बस्तीलाई जबरजस्त मास्न पाइन्नँ । सडक सबैको लागि हो भन्ने हामीलाई थाहा छ । तर नेवार जातिको बस्तीमाझ अझ मुटुमै रहेको लाछी टोललाई संकटमा पार्ने गरी सडक बिस्तार गर्न डोजर चलाउनु न्यायको विषय होइन । हाम्रो मुटुमै प्रहार गरेजस्तो भएको छ । यो ऐतिहासिक मूल बस्तीलाई छलेर सडक बनाउन वैकल्पिक ठाउँ प्रशस्त छन् । हामीलाई विकास बिरोधी ठान्नु अन्याय हुनेछ ।’

स्थानीयबासीहरू सडक छेउका परम्परागत घरहरूमा बस्ने वातावरण नभएपछि अन्यत्र बसोबास गर्न थालेका छन् । स्थानीयबासीको अडान छ– लिच्छविकालीन ऐतिहासिक षडक्षरी लोकेश्वर मन्दिर (बुद्ध मन्दिर) र कालभैरबको मन्दिरलाई जहाँको तहीँ रहनु पर्छ । सडक आसपासका घरहरूको क्षतिपूर्ति र जग्गाको मुआब्जा पाएमा सडक दुईवटा गाडी ओहरदोहर गर्नसक्ने गरी सडक संरचनाका निम्ति छोड्न चाहन्छ । तर त्यसनिम्ति तीन तहका सरकारका निकायले स्थानीयसँग दोहोरो छलफल हुनुपर्छ । सडक पीडित सरकारबाट घरको क्षतिपूर्ति र जग्गाको मुआब्जा पाउने आशा सबैले राखेका छन् । त्यसैगरी सडक छेउका कतिपय पाटीपौवाहरू भत्किन थालेका छन् । कतिपय घरहरू जीर्ण बनेका छन् । 

सर्वोच्चको अन्तरिम आदेशपछि सरकार मौन
सर्वोच्च अदालतले ललितपुरको हरिसिद्धि–गोदावरी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष जोगबहादुर महर्जनलगायतले दिएको निवेदनको सुनवाईपछि अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले २०७३ चैत १७ गते जारी गरेको अन्तरिम आदेशको व्यहोरा यस्तो छ ।

‘अन्तरिम आदेश माग सम्बन्धमा विचार गर्दा निवेदकहरूको घर बसोबास रहेकोमा घर भत्काई बाटो निर्माण गर्दा कानूनले तोकेको प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ । यस्तै विषय समावेश भएको सानु श्रेष्ठ विरुद्ध नेपाल सरकार भएको रिट नं.०७२–W०–०६०४ मुद्दा पूर्ण इजलासमा सुनुवाईको लागि पेस भइरहेको देखिन्छ । समान कानूनी प्रश्न समावेश भएको विषय हुँदा सो पूर्ण इजसालबाट टुङ्गो नलागेसम्म निवेदकको जग्गामा रहेको घर भत्काउने, तोडफोड गर्ने, क्षति पु¥याउने कानूनी प्रक्रिया नपु¥याई सडक विस्तार गर्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । यो आदेशको जानकारी प्रत्यर्थीहरूलाई दिनू ।’ 

घरहरूको क्षतिपूर्ति र जग्गाको मुआब्जा पाएमा सडक छेउ छोड्न तत्पर छौं । तर त्यसनिम्ति तीन तहका सरकारका निकायले स्थानीयसँग दोहोरो छलफल हुनुपर्छ ।


उक्त अन्तरिम आदेश जारी भएपछि सरकारको तर्फबाट डोजर आतंक बन्द भएको ८ वर्ष भयो । तर पीडितहरूले त्यसयता सरकारको पक्षबाट न्याय पाउन सकेका छैनन् । नत लिच्छविकालीन सम्पदालाई परम्पराअनुसार संरक्षण संवद्र्धन गर्न सकेका छन् । सडकमा ठूला, साना सबैखाले यातायातका साधन गुडिरहेकै छन् । 

‘वास्तवमा यो सडक टोलको बाटो थियो, हाम्रा पुर्खाहरूले जात्रा चलाउन र रथ घुमाउन बनाइएका बाटोलाई सडक बनाएपछि बाडेगाउँका हामी नेवारहरू साँस्कृतिक अतिक्रमण परेका छौं,’ संघर्ष समितिका अध्यक्ष जोगबहादुर महर्जन भन्नुहुन्छ, ‘सुरुमा घरको रछ्यान मिच्यो, त्यसपछि पेटी मिच्यो अहिले आएर आधा घर नै भत्काउन लागेपछि हामी संघर्षमा उत्रिनु परेको हो । हामी हुँदैन भन्ने पक्षमा छैनौं । घरको क्षतिपूर्ति, जग्गाको मुआब्जा दिएमा छाड्न सक्छौं । तर हाम्रो घरजग्गाको समस्याभन्दा पनि ऐतिहासिक सांस्कृतिक सम्पदाहरू मासिने गम्भीर खतरा छ । हाम्रा पुर्खाले निर्माण गरेका सम्पदा हाम्रो पहिचान हो । यसको संरक्षण हुनुपर्छ भन्ने हाम्रो मुख्य चासो हो ।’

सर्वोच्चको आदेशपछि कुनै निकायले समस्याको निकास पहिल्याएका छैनन् । मुआब्जा, क्षतिपूर्ति अथवा वैकल्पिक सडक मार्गको कुनै व्यवस्था नहुँदा पीडितहरूको पीडा झनै उकुस पल्टिएका छ । स्थानीय आफैं थाकेर आफ्नो जग्गा छाडुन् र सडक विस्तार गर्न सजिलो हुने सरकार पक्षको मानसिकता देखिन्छ । तर जसले सडक छाडेका छैनन्, उनीहरूका साथमा घरजग्गाको धनीपूर्जा कायमै छ । 

बाडेगाउँ संघर्ष समितिको तर्फबाट कानुनी पक्ष हेर्नुभएका अधिवक्ता शंकर लिम्बू सरकारले सर्वोच्चको आदेशअनुसार काम गर्नुपर्ने बताउनु हुन्छ । ‘सरकार पक्षले हामीले यो सडक विस्तार परियोजना साबिक कुनै पनि सम्पदाहरू नभत्काउने र प्राविधिक रूपमा बाटो नबढाउने बाटो जति छ त्यतिमै पिच गर्ने र अरु थप नगर्ने भनेर सर्वोच्च अदालतमा निवेदन हाल्नु भयो,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकार मन्त्री परिषद्बाट त्यो निर्णय गरिसकेपछि त्यही आधारमा मुद्दाको रिटमा त्यही बोलिएको कुरा हो । सरकारले त्यहाँको यथास्थितिमा राम्रोसँग पिच गर्नुपर्छ । लापरबाही भइरहेको छ । त्यहाँको सम्पदाहरूलाई संरक्षण गर्नुप¥यो । कसैको घर भत्काउनु भएन ।’

गोदावरीमा शासकको आँखा
अहिले विद्यमान सडक उहिलेकै संरचना हो । पहिले कच्चीबाटो थियो । तत्कालीन प्रधानपञ्च पशुपति महर्जनका अनुसार २०३० सालमा बाटो सुधार भएर पिच भएको थियो । त्यसअघिसम्म सामान्य आउजाउमात्र हुन्थ्यो । 

फुलचोकी पहाडमुनि गोदावरी क्षेत्रमा सेन्ट जेभियर्स स्कुललगायत सरकारमातहतका मत्स्य पालन, बोटानी, कृषि, पर्यावरणलगायतका अध्ययन, अनुसन्धान केन्द्र स्थापना तथा विस्तार गरिए । त्यसरी तत्कालीन राजा परिवार तथा सरकारको चासो गोदावरी क्षेत्रमा बढेसँगै बाडेगाउँका आदिवासीहरूको सांस्कृतिक थलोमाथि अतिक्रमण बढ्न थालेको थियो । प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र कालमा पनि शासक वर्गले ऐतिहासिक सांस्कृतिक सम्पदाप्रति बेवास्ता गर्दै आएका छन् । 

स्थानीय नेवार आदिवासीको मौलिक थलो र सांस्कृतिक विरासतको बेवास्ता गर्दै ‘गोदावरी क्षेत्रको मूलबाटो फराकिलो बनाउने’ निर्णयले अन्यायको तघारो तेर्सिएको स्थिति छ । स्थानीय जनमतबाट निर्वाचित जनप्रतिनिधिले बाडेगाउँको बाटा फराकिलो पार्न डोजर पठाउन थालेपनि स्थानीयहरू प्रतिरोधमा उत्रिन बाध्य छन् । यो घटना पटक–पटक दोहोरिदै आएको छ । सर्वोच्चको अन्तरिम आदेशपछि पहुँचदार जनप्रतिनिधि र पूर्व जनप्रतिनिधिहरू ‘पर्ख र हेर’ स्थितिमा रहेका छन् । स्थानीयवासीलाई थकाउने र मौका पर्नासाथ सडक छेउका संरचनाहरू भत्काएर सडक विस्तार गर्ने दाउ पर्खिरहेका छन् । 

वरिपरि परम्परागत घरहरू बिस्तारै थोत्रिदै गएका छन् । यतिसम्म कि देउता बिसाउने पाटीहरू क्रमशः थोत्रिदै छन् । अब क्रमशः स्थानीयबासीको मनस्थिति गल्दै गएको हो कि भन्ने स्थिति छ ।  ‘हाम्रो घरजग्गाको मुआब्जा र क्षतिपूर्ति देऊ अनि छाडौंला,’ पूर्वप्रधानपञ्च पशुपति महर्जन भन्नुहुन्छ, ‘तर यी मन्दिरहरू सार्न हुँदैन । भगवानको थान सार्न मिल्दैन । सडक वारि–पारिका कालभैरब, कुमारी, बुद्ध, गणेशको मन्दिर सार्न, मास्न पाइँदैन । यदि बाटो चाहिएको भए, अन्तै बाटो बनाऊ ।’

गोदावरी नगरपालिका वडा नं.१४ का वडाध्यक्ष निरोज बज्राचार्यका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको कानुन, नीति, नियम परस्पर बाझिएको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको सडक विस्तारमा बाधा अड्चन आएको हो । ‘पुर्खाहरूले रथजात्राका निम्ति बनाएको टोलको बाटोलाई सडक बनाएपछि समस्या आएको हो,’ बाडेगाउँका स्थानीयबासी वडाध्यक्ष बज्राचार्य भन्नुहुन्छ, ‘स्थानीय यथार्थ बुझेर, ऐतिहासिक तथा पुरातात्विक सम्पदा क्षेत्रमा सडक बनाउँदा कस्तो नीति अपनाउने भन्नेबारे व्यवहारिक कानुन नहुँदा र तीन तहको ऐन कानुन परस्पर बाझिएकाले समस्यामाथि समस्या थपिएको स्थिति छ । नेवार बस्तीमा बाटोमा घर बनेका होइनन्, सबैका घरजग्गाको नक्सा, धनीपूर्जाहरू छन् । नियमसँगत कर तिर्दै आएका छौं ।’ 

वडाध्यक्ष बज्राचार्य सडक विस्तारका निम्ति संघीय सरकारले पीडितहरूको आधिकारिक तथ्यांक तयार पार्नसक्नु पर्ने बताउनु हुन्छ । ‘अध्ययन, मूल्यांकन गरेर सातदोबाटोदेखि गोदावरीसम्मका पीडितहरूका निम्ति मुआब्जा र क्षतिपूर्ति दिलाउन बढीमा एकदेखि डेढ अर्ब रुपैयाँमा समस्या सल्टिन सक्छ,’ सडकले यस क्षेत्रका करिब दुई सय घर परिवार पीडित रहेको उल्लेख गर्दै बज्राचार्य भन्नुहुन्छ, ‘त्यसो भएमा कोही विस्थापित हुनुपर्दैन ।

सडक अगाडि घर परेका परिवारलाई एकीकृत नमुना बस्ती बसाउन पनि सकिन्छ । तर त्यसनिम्ति कुनै योजना बनेको छैन । त्यसो गर्दैगर्दा सकेसम्म इतिहासका गौरव सम्पदाहरू नमासौं । पुनःस्थापना गरेर व्यवस्थित तुल्याउन सक्छौं । त्यसका निम्ति संघीय सरकारको ऐन, कानूनले स्पष्ट गरिदिन जरुरी छ ।’ बाडेगाउँ क्षेत्रमा करिब ३० घर सडक पीडित छन् । 

भौगोलिक अवस्थितिअनुसार सांस्कृतिक सम्पदा संरक्षणका निम्ति बाडेगाउँको पूर्वतर्फ बिचबाट वैकल्पिक सडक थप बिस्तार हुन सक्छ । यसभन्दा पूर्वतर्फ गोदावरी खोला रहेको छ भने उक्त खोलाको करिडोरसमेत सडक विस्तार हुन सके गोदावरी पुग्न सहज हुनेछ । यस्तै, बाडेगाउँको पश्चिमतर्फ वैकल्पिक सडक मार्ग निर्माण हुनसक्ने वडाध्यक्ष बज्राचार्यको कथन छ ।  

ऐतिहासिक लोकेश्वर र बन्देग्राम
प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म करिब ३५० वर्ष लिच्छवि काल रहेको इतिहास पाइन्छ । बाडेगाउँ लिच्छविकालीन बस्ती रहेको इतिहासकारले उल्लेख गरेका छन् । जसअनुसार लिच्छवि राजा शिवदेवका दुइ छोरा वृषदेव वर्मा र बालार्चन वर्मा थिए । जेठो छोरा राजा वृषदेवले यहाँ षडक्षरी लोकेश्वर (बुधवा द्यो) चैत्य र बौद्ध गाउँको स्थापना स्थापना गरेको जनश्रुति र अभिलेखहरू उल्लेख पाइन्छ । बज्राचार्य थरका पुजारीले लोकेश्वर मन्दिरको नित्य पूजा तथा अन्य धार्मिक कार्यहरू सञ्चालन गर्दै आएका छन् । 

यसको प्राचीन नाम बन्देग्राम, बन्देसपुर थियो । यहाँ बज्राचार्य र शाक्य थरका नेवार जातिको बाहुल्य रहेको छ । शाक्य र बज्राचार्यलाई बन्दे अर्थात् बडे भनिन्छ, जसको अर्थ दीक्षित भन्ने हुन्छ । त्यसैले यो जातिको बसोबास थलोलाई बन्देसपुर र बन्देग्राम भएको भन्ने छ । धातुका भाँडाकुँडा निर्माण गर्ने भएकाले शाक्य र बज्राचार्यलाई बाँडा पनि भन्ने गरिन्छ । त्यसैले थलो बाँडागाउँ भनियो । र पछि अपभ्रंश भई बाडेगाउँ भएको हो । 

स्थानीयबासीको अडान छ– लिच्छविकालीन ऐतिहासिक षडक्षरी लोकेश्वर मन्दिर (बुद्ध मन्दिर) र कालभैरबको मन्दिरलाई जहाँको तहीँ रहनु पर्छ । 

काठमाडौं उपत्यकाका बौद्धमार्गी नेवार समुदायमा श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना गुँलाधर्म पर्व मनाउने परम्परा छ । गुँलाधर्म अवधिभर प्रत्येक बुधबार बुधवा द्योको पूजा गर्ने र बुधवा मेला लाग्दछ । बत्ती बाल्ने, भजन गर्ने, नामसँगति स्तोत्र पाठ गर्ने, पूजापाठ गर्ने गरिन्छ । एकै दिनमा उपत्यकाको चारै बुद्धको दर्शन गर्दछन् । त्यसमा बाडेगाउँको यस षडक्षरी लोकेश्वरको समेत परिक्रममा गर्ने परम्परा रहेको छ । विशेष गरी आफ्नो आफन्तजन गुमाएका परिवारका सदस्यहरूले मृतात्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गर्ने गर्दछन् । 

तस्बिरहरूः
१) बाडेगाउँको ऐतिहासिक सांस्कृतिक महत्वको षडक्षरी लोकेश्वर र कालभैरब मन्दिर रहेको पुरानो संरचना । तस्बिर सौजन्यः सुरेश बज्राचार्य


२) कालभैरब मन्दिरसँगै ९४ वर्षीय पूर्वप्रधानपञ्च पशुपति महर्जन


३) षडक्षरी लोकेश्वर मन्दिरसँगै ९४ वर्षीय पूर्वप्रधानपञ्च पशुपति महर्जन र ८१ वर्षीय पुजारी बाबुकाजी बज्राचार्य


४) सर्वोच्च अदालतले २०७३ चैत १७ गते जारी गरेको अन्तरिम आदेशको व्यहोरा ।


५) विसं. १९६९ मा जीर्णोद्धार गरिएको ऐतिहासिक ढुङ्गेधारा । 


६) षडक्षरी लोकेश्वर मन्दिरको बज्र देखाउनु हुँदै ८१ वर्षीय पुजारी बाबुकाजी बज्राचार्य ।


७) द्यः पुखु (पोखरी) माथि बनाइएको चैत्य देखाउँदै ९४ वर्षीय पशुपति महर्जन र ८१ वर्षीय बाबुकाजी बज्राचार्य ।


८) सडक अतिक्रमणमा परेपछि फलामे संरचनाले छोपिएको ऐतिहासिक द्यः पुखु (पोखरी) ।


९) सडक पश्चिमतर्फ जीर्ण पाटी र स्थानीयका थोत्रिएका घरहरू । 


१०) सडक पूर्वतर्फ स्थानीयका थोत्रिएका जीर्ण परम्परागत घरहरू । 


११) लिच्छविकालीन ऐतिहासिक षडक्षरी लोकेश्वर र कालभैरब मन्दिर आसपासमा विद्यमान शिलालेखहरू ।
तस्बिरहरूः गणेश राई

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु गणेश राई