नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकद्धारा ग्याल्पो लोसार अवसरमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
विहिबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर ४ सिरिचौरस्थित महासंघ जिल्ला समन्य समिति सिन्धुपाल्चोकले महायानीबौद्ध धर्मवलम्बिहरुको राष्ट्रिय महान चाड २१५२ औँ स्यिङ मो डुल लो ग्याल्पो लोसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले गर्नुभएको थियो । उहाँले लोसार कार्यक्रमलाई संबोधन गर्नुहुँदै सबै जातजातिको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्ष साथै सम्मान गर्न सक्नुपर्ने भनाई राख्नुभयो । अध्यक्ष शेर्पाले देश परिवर्तनमा जनजातिले गरेको संघर्षको सहिरुपमा कदर हुननसकेको बताउनुहुँदै आदिवासी जनजातिहरु राज्यको निर्णायक तहमा पुग्न नसक्नु दुखद् भएको बताउनुभयो ।
सो अवसरमा उपाध्यक्ष दिछेन शेर्पाले आफ्नै समुदायमा विवाद गर्नु भन्दा सबैजना एकिकृत भएर अगि बढ्नुपर्ने भनाई राख्नुभयो । सबै जातजातिको संस्कारलाई सम्मान साथ स्वईकार गर्न सक्नुपर्ने बताउनुहुँदै पालिकाले सबै जनजातिको संस्कृतिलाई प्राथमिकतामा राखेर बजेट छुटाउँदै आएको जानकारी दिनुयभो ।
ग्याल्पो लोसारको शुभकामना दिनुहुँदै बाह्रविसे नगरपालिकाका उपप्रमुख मन्जु तामाङले जनजाति महासंघको संघर्ष र आन्दोलनका कारण स्थानिय तहहरुमा आदिवासीका छोराछोरीले नेतृत्व लिने अवसर पाएको बताउनुभयो । संस्कार संस्कृत प्रबद्र्धन र संरक्षणको लागि बाह्रविसे नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता गर्नुहुँदै सहकार्य गरेर कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।
सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकका पूर्व अध्यक्ष नुर्बु शेर्पाले सबै आदिवासी जनजाति एक हुनुपर्ने आवश्यक भएको बताउनुभयो । उहाँले आदिवासी जनजातिको प्रतिनिधि भएको स्थानिय तहले मात्र जनजातिको संस्कारसंस्कृतिमा चासो दिएर सहयोग गर्ने गरेको तर अन्य गैरआदिवासी भएको स्थानियतहहरुले आदिवासीहरुको संस्कृति संरक्षणमा बेवास्ता गर्नेगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो आदिवासी जनजाति जहाँ जतासुकै भएपनि एकजुट भएर आफ्नो अधिकारको लागि लड्नुपर्ने हुन्छ ।
यसअघि कार्यक्रममा कोषाध्यक्ष पार्वती थामीले स्वागत मन्तव्य राख्नुभएको थियो भने ग्याल्पो लोसारको अवसरमा सेन्डाक छोक्पाका आनी (गुरुआमा) हरुले सामूहिक रुपमा मोन्लाम (ल्हाप्सो) गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न जातजातिको संस्कृति झल्किने सांस्कृतिक झाँकीहरुको प्रस्तुती राखेको थियो । सिन्धुपाल्चोकमा बसोबास दर्जन बढि आदिवासी जनजातिहरुको संस्कृतिलाई ग्याल्पो लोसारको अवसरमा प्रस्तुत गरिएको थियो ।
सो अवसरमा नेवार आदिवासीहरुको संस्कृति झल्किने लाखे नाच, मारुनीनाच, शेर्पाहरुको स्याब्रु नृत्य, सिलीनाच, तामाङहरुको डम्बुसेलो नृत्य, थामीको से हो ले बोन्बो, र मारुनीनाच यसैगरि ह्योल्मो जातिहरुको नृत्य स्याब्रु, र मगर लगायत विभिन्न समुदायको संस्कृतिलाई दर्शाउने प्रस्तुती प्रस्तुत भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चाकका कार्यवहाक अध्यक्ष फुर्वा ग्याल्बो थोप्तेन मोक्तानले आदिवासी जनजातिहरु जुनसुकै पार्टीमा आस्था राखेपनि आफ्नो समुदायको उत्थानको लागि एकजुट भएर अगि सर्नुपर्नेमा जोडदिनुभयो । उहाँले पार्टीगत हिसाबले जनजातिभित्र एकअर्कामा फुट ल्याउने प्रबिधिले समुदायको विकासमा बाधा पुग्ने बताउनुहुँदै आगामी दिनमा सबैले सुधार गरि अगि बढ्नुपर्ने धारणा राख्नुभयो ।
जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चाकका सचिव रमेश शेर्पाले संचालन गर्नुभएको कार्यक्रममा बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा, विभिन्न जातिय संघसंस्थाका प्रतिनिधि, भोटेकोशी गाउँपालिकाका वडा अध्यक्षलगायत स्थानिय आमा समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
ग्याल्पो लोसार सांस्कृतिक कार्यक्रमका अवसरमा विभिन्न ख्यातिप्राप्त कलाकारहरु गायक रोज मोक्तान, सेलो गायक प्रेम लोप्चन, गायिका पाल्मु शेर्पा, नादिङ गायक सोनाम शेर्पालगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।