आदिवासीलाई पारेको जोखिमको लेखाजोखा नै नगरी कार्वन व्यापारबाट प्राप्त लाभको हर्षबढाइँ

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ कार्तिक २०८१, बिहिवार
आदिवासीलाई पारेको जोखिमको लेखाजोखा नै नगरी कार्वन व्यापारबाट प्राप्त लाभको हर्षबढाइँ

नेपालले कार्वन व्यापारबाट एक अर्व ६० करोड रुपैया हात पारेको समाचार अहिले सनसनीपुर्ण खबर बनेकोछ । तराइका १३ जिल्लाका वनजंगलबाट कार्वन उत्सर्जन घटाएर कार्बन सन्चिति बढाए बापत विश्व बैकले सो रकम नेपाललाई भुक्तान गरेको हो । यसरी रकम प्राप्त गरेपछि सरकारी तथा गैह्र सरकारी पक्षमा हर्षबढाइँ गर्ने क्रम बढेको  छ । सफलताको कथाका रुपमा यस घटनालाई प्रचार गरिँदैछ ।

नेपालले तराई भूपरिधि कार्यक्रम तराईका १३ जिल्लाहरुमा सन् २०१८ बाट नै सञ्चालन गर्दै आएको थियो । बागमती नदीबाट पश्चिम महाकाली नदीसम्म सञ्चालन भएको सो कार्यक्रमले छ बर्षमा दुई दशमलब चार मिलियन टन कार्बन सन्चिति गरे बापत सो भुक्तानी प्राप्त गरेको समाचारहरुमा उल्लेख छ । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले भुक्तानी पाउने गरी सो परियोजना बिश्व बैकसंग सम्झौता भएको थियो । 

अन्तराष्ट्रिय कानुन अनुसार कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी जनजाति समुदायमा खर्च गर्नू पर्ने प्रावधान रहेको छ । तर नेपालमा आदिवासी जनजातिलाई लाभग्राहीका रुपमा गणना गर्ने गरिएको छैन । 

तराई भूपरिधि कार्यक्रम सञ्चालन हुने क्षेत्रहरु आदिवासी बहुलक्षेत्रहरु हुन् । चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कन्चनपुर लगायतमा आदिवासी थारुको बाक्लो बसोबास रहेको छ । यो कार्यक्रम सफल नै भएको भएपनि आदिवासी जनजातिका कारण सफल भएको हो । 

आदिवासी जनजातिका भूमि र भूक्षेत्रमा उनीहरुको स्वतन्त्र, पूर्व जानकारी सहितको मञ्जुरीको अधिकारको सुनिश्चित नगरी नाफामूलक कार्यसञ्चालन गरिएको थियो । अझै पनि आफनो भूमि र भूभागमा राष्ट्रिय वन, निकुन्जले अतिक्रमण गरेको त्यहाँका स्थानीयहरुबाट गुनासो सुन्नु परेको छ । विस्थापनको मारमा परेर र आफनो जिविकोपार्जनको परम्परागत अभ्यासहरु मासेर गरिएको उपलव्धीलाई आदिवासी जनजातिहरुले स्यावासी दिन सक्दैनन् । 

स्वतन्त्र, पूर्व जानकारीसहितको मञ्जुरीको अधिकार आदिवासी जनजातिको लागि विशेष अधिकार हो । यो अधिकारले आदिवासीको पुख्र्यौली भूमी र भूक्षेत्रमा, प्राकृतिक स्रोतसाधानहरु, संस्कृतिक सम्पदालाई असर गर्ने गरी कुनै परियोजना संञ्चालन गर्न सकिदैन । तर सरकारले सन् २०१८ अगाडिबाट नै त्यस क्षेत्रमा यो परियोजना सञ्चालन गरिरहेको छ । 

जलवायु परिवर्तनका नाममा व्यापार
जलवायु परिवर्तनका नाममा अहिले व्यापार चलिरहेको छ । कार्बन व्यापार यसैको एउटा रुप हो । सरकारले अर्को चरणका लागि थप व्यापार गर्ने तयारी पनि गरेको छ । अव छिट्टै उत्सर्जन न्युनिकरणका लागि वनबित्त कार्यक्रम (लिफ साझेदारी) सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम बागमती, गण्डकी र लुम्बीनी प्रदेशका जनजंगलमा सञ्चित कार्बन बेच्ने कुरा गरिएको छ । 

यसै गरी अमेरिका, बेलायत, नर्वे र दक्षिण कोरियाले जस्ता मुलुकसहित अमेजन, वालमार्ट, युनिलिभर कम्पनीहरु पनि कार्बन व्यापारमा नेपालसंग साझेदारी गर्न तयार भएका छन् । यो परियोजनाबाट तीन प्रदेशका ३२ लाख हेक्टर वनमा ७० लाख टन कार्बन सन्चिति गरिने लक्ष रहेको छ । यसबाट करीव १० करोड अमेरिकी डलर करीव १३ अर्ब रुपैण पाउने संभावना रहन्छ । 

विद्युतीय सवारीको व्यापार 
देशमा विद्युतीय सवारी साधनको व्यापार बढेको छ । तर यसबाट हुन सक्ने जोखिमको लेखाजोखा गरिएको छैन ।  विद्युतीय सवारी साधन जलवायुमैत्री सवारी साधन भएपनि आदिवासीमैत्री भने होइन । विद्युतीय सवारी साधन चलाउन धेरै खनिज पदार्थ उत्खनन गर्नु पर्दछ । त्यस्ता खनिज पदार्थहरु आदिवासी जनजातिहरुको भूमि, भूक्षेत्रमा उपलव्ध हुन्छन् ।

नेपालले विद्युतीय सवारीसाधानको प्रयोगबाट कार्बन उत्सर्जन घटाएको दावीसहित स्वच्छ वायु कार्बन व्यापारको तयारी थालेको छ । सरकारले कर सहुलियत दिएपछि नेपालमा विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेका छन् । पछिल्लो समयमा नेपालमा विद्युतीय सवारी साधन चलनउनेको संख्या ३५ हजार भन्दा बढी रहेको छ । 

विद्युतीय सवारीका लागि आवश्यक पर्ने ब्याट्री निर्माण गर्न विभिन्न थरीका धातु र खनिजपदार्थहरुको आवश्यकता पर्दछ र ती खनिज पदार्थहरुको माग पनि वढ्दै गएको पाटो पनि अर्को खतरनाक रहेको छ ।

विद्युतीय सवारीमा प्रयोग गरिने चुम्बकहरुको लागि पृथ्वीमा पाइने एकदमै दुर्लभ खनिज तत्वहरुको आवश्यक पर्दछ । त्यसैगरी, विजुली प्रयोग हुने प्रविधिहरुको लागि ठुलोमात्रामा तामाको आवश्यकता पर्दछ ।  

जलवायु परिबर्तनको जोखिम घटाउन वनको विस्तार, जल विद्युत आयोजनासंगै स्वच्छ उर्जा प्रयोगको नाममा धेरै खानीहरु संञ्चालनमा आउनलागेका छन् । पछिल्लो समयमा खानी तथा खनिज पदार्थहरु उत्खनन र निकासी गर्ने उद्योगहरु फस्टाउन थालेका छन् । यस्ता खानी तथा खनिजहरु स्वभाविक रुपमा आदिवासीलाई विस्थापन गरेर, उनीहरुको भूमि कव्जा गरेर मात्र प्राप्त हुन्छ । वास्तवमा स्वच्छ उर्जाको नाम दिएपनि यसबाट आदिवासी जनजातिको अधिकार व्यापकरुपमा हनन हुने संभावना रहन्छ । 
 

प्रतिक्रिया