गण्डकी प्रदेश, कास्की जिल्ला माछापुच्छे गाउँपालिका वडा नं ७ मा पर्ने धम्पुस कहलिएको पर्यटकीय गन्तव्य हो ।
यहाँबाट देखिने हिमशिखर, टाकुरा, खोँच तथा आँखा लोभ्याउने दृष्यहरुले मात्र धम्पुस पर्यटकीय क्षेत्र बनेको होइन, आदिवासी गुरुङ संस्कृतिमा आधारित प्रथा, परम्परा र स्वशासन पद्धतिले पनि धम्पुसलाई लोकप्रिय बनाएको हो ।
आदिवासी गुरुङ बहुल क्षेत्र धम्पुसलाई तमु भाषामा तोःम्ह्ले भन्ने गरिन्छ । विशेष गरी यहाँ तमु गुरुङ परम्परा अनुसार पच्यु, घ्याव्रे तथा लमःको मान्यता अनुसार अतिथिहरुलाई स्वागत गर्ने परम्परा रहेको छ ।
धम्पुस अन्नपूर्ण संरक्षण क्षेत्र, एक्यापको प्रवेशद्वारमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा र अन्य धेरै पदयात्राको संगमका रुपमा परिचित रहेको छ ।
समुन्द्र सतहबाट १६५० मिटरको उचाइमा अवस्थित धम्पुस परम्परागत पहिरनमा सजिएका गुरुङ महिलाहरुद्धारा पाहुनालाई स्वागत गर्ने परम्परागत शैलीले हरेक पर्यटकलाई लोभ्याइ रहेको हुन्छ ।
खास गरेर यहाँका आमा समूहहरुको सक्रियताबाट पाहुनाका लागि स्वस्थ सेल रोटी, आदिवासी पेय पदार्थको स्वागतबाट यहाँ पुग्ने विदेशी तथा स्वदेशीपर्यटकहरु मन्त्रमुग्ध भएर रमाउने गर्दछन् ।
पाहुनालार्ई स्वागत गर्न समय समयमा आमा समूहको संयोजनमा साँस्कृतिक नाचगान पनि हुने गर्दछ । गुरुङ बस्ती भएकाले अधिकाँश पुरुषहरु व्रिटिस सैनिक सेवामा रहेका छन् । पछिल्लो समयमा बेलायतले पूर्वगोर्खा सैनिकहरुलाई आवासीय भिसा दिन थाले पछि यहाँका घर गाउँ रित्तो बनाएर युकेतिर लागेका छन् भने केहीले पोखरालाई कर्मथलो बनाएका छन् ।
यस्तो रिक्तता परिपुर्ती गर्न आमा समूहले पर्यटकलाई स्वागत सत्कार तथा गाउँको स्वास्थ्य तथा सरसफाइमा विशेष ध्यान दिएको आमा समूहकी अध्यक्ष दुर्गा कुमारी गुरुङले बताउनु भयो ।
धम्पुसमा घर खाली गरेर बसाईसराई गर्ने क्रम तीब्र भएपछिगाउँमा नै महिलाहरु जाग्नु परेको लक्ष्मी कुमारी गुरुङले बताउनु भयो ।
धम्पुसमा पर्यटकलाई आकर्षित बनाउने ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन । जसमा धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्घवराह मन्दिर आदि रहेका छन भने पाराग्लाईडिङको लागि थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू रहेको लक्ष्मीले जानकारी दिनु भयो ।
पर्यटकको सेवा र सुविधाका लागि पर्याप्त होटल तथा लजहरु खोलिएको र पर्यटकको अपेक्षा अनुसार धम्पुस स्वागत गर्न तत्पर रहेको धम्पुस पर्यटन व्यबसायी संघका अध्यक्ष असिम गुरुङले बताउनु भयो ।
यस रमणीय पर्यटकीय स्थलहरुमा हालै मात्र एशियाका आदिवासीको साझा संगठन, एआइपीपीले बिभिन्न मुलुकका आदिवासी नेताहरुको अवलोकन भ्रमण कार्यक्रम राखेको थियो । धम्पुसमा पुग्नु भएका एआइपीपीका अध्यक्ष कितीसाक रत्नाक्रजङश्रीले धम्पुसका आदिवासीहरुको ज्ञान प्रणालीबाट धेरै कुरा सिक्न सकिने बताउनु भयो ।
उहाँले धम्पुसको परम्परागत प्रथाजनित स्वशासन प्रणाली उदाहरणीय रहेको बिचार राख्नु भयो ।
थाइलैण्ड निवासी रत्नाक्रजङश्रीको भनाइमा धम्पुसमा बनेका घरहरु स्थानीय प्रविधि र स्रोतबाट बनेका छन् । यसको सिकाई महत्वपूर्ण रहेको छ ।
छत्तिसगड भारतबाट आउनु भएकी ममता कपुरले धम्पुसका आदिवासीले व्यहोरिरहेको चुनौतिका बारे टिप्पणी गर्दै आदिवासीहरु जुनसुकै चुनौति व्यहोर्न सक्ने उदारण धम्पुसबाट देखिएको बताउनु भयो ।
यसै गरी कम्वोडियाकी युने मानेले पनि धम्पुसको आदिवासीको स्वागतबाट आफु धेरै प्रभावित भएको बताउनु भयो । उहाँले महिलाको जागरण र सक्रियताबाट आफू प्रभावित भएको बिचार राख्नु भयो ।
धम्पुस एक पर्यटकीय गन्तव्य मात्र नभएर विश्वलाई आदिवासी सभ्यता र संस्कृति जगेर्ना गर्न सिकाउने पाठसाला पनि हो ।
यहाँका आदिवासीको अभ्यासबाट पाठ सिकेर अरु गाउँलाइ पनि आदिवासीमैत्री समाज बनाउन सकिने धम्पुस पुग्नु भएका नेपाल आदिवासी जनजाति महासंघका पूर्ब अध्यक्ष तथा एआइपीपीका काउन्सील सदस्य जगत बरामले इन्डिजिनियस भ्वाइससंग कुराकानी गर्दै बताउनु भयो ।