अनुसन्धान र शिक्षा प्रणालीमा रुपान्तरण खोज्दै काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२६ असोज २०८१, शनिवार
अनुसन्धान र शिक्षा प्रणालीमा रुपान्तरण खोज्दै काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन

मौलिक आदिवासी ज्ञानमा जोड दिदै ‘आदिवासी जनजातिको नेतृत्वमा आधारित अनुसन्धान र शिक्षा’ विषयक दोस्रो अन्तराष्ट्रिय सम्मेलन काठमाडौमा सम्पन्न भएको छ ।

बिश्वका १६ मुलुकका विभिन्न बिश्वबिद्यालयका प्राध्यापकहरु, प्राज्ञिक अनुसन्धानकर्ता, शिक्षाविद, समुदायका अगुवाहरु र आदिवासीजन्य संघसंस्थाका प्रतिनिधिहरुसमेतको सहभागितामा भएको सम्मेलनको आयोजना भने नेपालस्थित आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)ले गरेको हो ।

सम्मेलनमा जलवायु परिवर्तन,  आदिवासी शिक्षा र विकास, आदिवासी अर्थतन्त्र र खाद्य सम्प्रभूता , प्राकृतिक स्रोत र शान्ति निर्माण प्रक्रिया लगायतका विषयमा फरक फरक सत्रमा तीन दर्जन भन्दा बढीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्र प्रस्तोता विद्धान तथा विदूषीहरुले आदिवासीको प्रथाजनित स्वशासन र स्वामित्वकोे अधिकार, जैविक विविधता र संरक्षणलाई सम्मेलनमा छलफलको विषयका रुपमा उठाउनु भएको थियो ।

कार्यपत्र प्रस्तोता तथा वक्ताहरुले मानव समाजको दीगो र सहज भविष्यका लागि आदिवासी ज्ञान, प्रथाजन्य स्वशासन प्रणाली, परम्परागत जिविकोपार्जनका उपायहरु, आदिवासीजन्य खाद्यसंस्कृति, र आर्थिक प्रणालीहरुको मान्यताको संरक्षण, प्रबद्र्धन र पहिचान  गर्न आवश्यक रहेको बताउनु भएको थियो ।

आदिवासी ज्ञानलाई बेवास्था नगर्न चेतावनी
सम्मेलनका विशेष बक्ताका रुपमा रहनु भएकी न्युजिलैण्डस्थित अकल्याण्ड विश्वविद्यालयकी प्राध्यापक डा. लिन्डा वैमारी निकोराले आदिवासीहरुको अनुभवजन्य ज्ञान प्रणालीलाई बेवास्था गरेर अघि बढ्न नसकिने बताउनु भयो । उहाँले वैज्ञानिक अनुसन्धानलाई परम्परागत ज्ञानसंग मिलाउनु पर्ने धारणा राख्दै बैज्ञानिक र परम्परागत विधालाई ‘दुवै आँखाले’ हेर्नू पर्ने बताउनु भयो । 

आदिवासी ज्ञान वैज्ञानिक र दीगो जिविकोपार्जन गर्ने गतिशील भए पनि त्यसले मान्यता पाउन नसकेको उहाँको टिप्पणी थियो ।

न्यूजिल्याण्डमा सन् २०२३ मा गएको चक्रवातले त्यहाँका आदिवासी माओरी बस्तीलाई सखाप पारेको स्मरण गर्दै राज्य संयन्त्रले उद्धार तथा पुननिर्माण गर्न नसक्दा आदिवासी माओरीको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले राज्यसंयन्त्र कमजोर रहँदा माओरी ज्ञानका आधारमा जलवायु प्रेरित प्रकोपलाई सम्बोधन गर्न सकिएको बताउनु भयो ।

ब्रिटिश कोलम्बिया विश्वविद्यालयकी सहप्राध्यापक डा. पासाङ याङ्जी शेर्पाले आदिवासी समुदायका जलवायु अनुकुलनका अनुभवहरुलाई मूलधारका अनुसन्धानहरुले बेवास्था गरिरहेको आरोप लगाउनु भयो ।

कार्यक्रममा नै संयुक्त राज्य अमेरिकास्थित मिचिगन विश्वविद्यालयका प्राध्यापक कैले ह्वाइटले आदिवासी नेतृत्वमा अनुसन्धान र शिक्षाको बिषय एक आन्दोलनका रुपमा अघि बढिरहेको बताउनु भयो । शिक्षा, विकास तथा प्राज्ञिक क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहदेखि समुदायस्तरसम्म आन्दोलनका रुपमा स्थापित गर्न जरुरी भएको बताउनु भयो । विश्वले हाल व्यहोरिरहेको जलवायू जोखिम, वातावरणीय समस्याहरु आदिवासीय ज्ञान प्रणालीलाई वेवास्था गर्नूको परिणाम भएको बताउनु हुँदै अवको बौद्धिक क्रियाकलाप आदिवासीको नेतृत्व, सहभागिता र उनीहरुको मुद्धामा केन्द्रीत हुनु पर्नेमा जोड दिनु भयो ।

संघीय राजधानी काठमाडौ अवस्थित हिल्टन होटलमा आयोजित अन्तराष्टिय सम्मेलनमा छलफलका रुपमा धेरै बिषयले प्रबेश पाएको थियो । देशभर भारी बर्षादका कारण प्राकृतिक प्रकोप सामना गरिरहेको बेला आयोजित सम्मेलन प्राकृतिक प्रकोपकै बिषयमा भने केन्द्रीत हुन सकेन ।

कार्यक्रमको बिषयबस्तुका रुपमा जलवायु परिवर्तन, शिक्षा, विकास र संरक्षणका क्षेत्रमा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न  सामुदायिक अभ्यासकर्ता र विज्ञ विशेषज्ञहरुलाई एकै थलोमा ल्याउने जमर्को गरिएको थियो ।

प्रथाजनित संस्थाको महत्व
दीगो र सहज भविष्यका लागि आदिवासी ज्ञान, प्रथाजन्य स्वशासन प्रणाली, परम्परागत जिविकोपार्जनका उपायहरु, आदिवासीजन्य खाद्यसंस्कृति, र आर्थिक प्रणालीहरुको मान्यताको संरक्षण, प्रबद्र्धन र पहिचान  गर्न आवश्यक रहेको सहभागीहरुको बिशेष जोड थियो ।

थाईल्याण्डस्थित चुलालोंगकार्न विश्व विद्यालयका प्राध्यापक डा सुरिचाई वुन गाओ, बंगलादेश स्थित चक्मा समुदायका प्रमूख राजादेवासिश रोय लगायतले प्रथाजन्य परम्परा, स्वशासनले आदिवासीको परम्पराको महत्वका बारे सम्म्ेलनमा विशेष मन्तव्यहरु राख्नु भएको थियो ।  

आदिवासी जनजातिको भूमि, भूभाग र भूक्षेत्रसंगको सन्तुलित अन्तरसम्बन्ध, आत्मनिर्णय,  सम्मान र शान्ति र स्थिरताको मूल्यहरुलाई ‘आदिवासी जनजातिको नेतृत्वमा आधारित अनुसन्धान र शिक्षा’ विषयक अन्तराष्टिय सम्मेलनले खोजेको छ ।  सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पाको अध्यक्षतामा भएको ससम्मेलनको उद्घाटन सत्रमा नेपालको सीमान्त भूमि दार्चूलाका आदिवासी व्याँसी, सौकाका प्रतिनिधिहरुले परम्परा अनुसार पुजा प्रार्थना गरेर कार्यक्रम उद्घाटन गर्नू भएको  थियो ।

जलवायु परिवर्तन र अन्य बाह्य दवावका कारण आदिवासी जनजातिको खाद्यसंस्कृति र दीगो आर्थिक प्रणालीमा पुगेको असरका बारे बृहद् छलफल भई सम्मेलनले विकास र आदिवासीय दृष्टिकोण बीचको खाडल पुर्ने साझा लक्ष सम्मेलनले खोजेको सम्मेलन आयोजक संस्था सिप्रेडकी कार्यकारी निर्देशक डा पासाङ डोल्मा शेर्पाले बताउनु भयो ।

उहाँले शिक्षा, विकास र अनुसन्धानका क्षेत्रको भाष्य नै परिवर्तन हुनु पर्नेमा जोड दिनु भयो । विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा बिद्यार्थीहरु, समुदायका प्रतिनिधिलगायतको उपस्थितिमा सम्पन्न सम्मेलन सफल भएको दावी गर्नू भयो ।

 

प्रतिक्रिया