गोरेबहादुर खपाङ्गीलाई शाही सरकारमा जोड्ने एउटा लेख 

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ१० भदौ २०८१, सोमवार
गोरेबहादुर खपाङ्गीलाई शाही सरकारमा जोड्ने एउटा लेख 

राजा ज्ञानेन्द्रले शासन सम्हालेको पहिलो बर्ष राजधानी राष्टिय दैनिकले एक विशेषाङ्क निकाल्ने निर्णय गरेको थियो । त्यस विशेषाङकमा राख्ने सामाग्रीको संयोजन गर्ने जिम्मा भने कृष्णज्वाला देवकोटा (हाल नयाँ पत्रिकाका प्रधान सम्पादक) र मेरो भागमा आइ पर्‍यो । हामीले सम्भावित लेखकको नामावली उतार्‍यौँ । त्यस मध्ये एक हुनु हुन्थ्यो, गोरेबहादुर खपाङ्गी । 

गोरेबहादुर खपाङ्गी  मेरो पुरानो चिनजानको नेता हुनुहुन्थ्यो । राष्ट्रिय जनमुक्ती पार्टीका महासचिव समेत रहनु भएका खपाङ्गीसंग अनामनगरको धोवी खोला नजिकको टोलमा धेरै बर्षसंगै विताएका थियौँ । 

अनामनगरमा रहँदा तल्लोघर र माथिल्लोघर हाम्रो आवातजावत चली रहन्थ्योँ । उहाँ बस्ने डेरामा कार्यकर्ताहरुको सधै घुँइचो लागि रहन्थ्योँ । 

उहाँको वासास्थानसंगै पत्रकार खिलध्वज थापाको पनि डेरा थियो, संगै गायक जितेन राई, डा. शान्तिदेबी राईसमेतको रहनु हुन्थ्यो । हामीसंग राजेन्द्र लिङ्देन, सीता थापा, देवकुमार शिगु आदि थियौँ । अलिपर किरात राई यायोक्खाकी अध्यक्ष सुमाया राइको घर थियो । 

हामी फरक फरक घरमा बस्थ्यौँ, तर एक प्रकारले पारिवारिक वातावरण थियो । कुनै चाँड आयो कि हामी एकै ठाउँमा भेला भएर रमाइलो पनि गर्ने गर्दथ्यौँ । 

त्यतिखेर अनामनगर अहिलेको जस्तो गुल्जार थिएन । छिटफुट घर थिए । धोवी खोला छेउमा राईहरुको र एक जना गुरुङको घर थियो । अहिले इन्डिजिनियस टेलिभिजन बसेको स्थानहरु पुरै खाली थियो । एक प्रकारले त्यो फूटबल खेल्ने मैदान थियो । 

त्यही खुला मैदानमा बसेर खपाङ्गीसंग कहिले सामुहिक र कहिले एकल रुपमा अन्तरक्रिया गरेका थियौ । 

समाज कसरी बन्छ, नेपाली समाजको चरित्र कस्तो छ ? किन यहाँका आदिवासी जनजातिहरु पछाडि परे भन्ने सम्बन्धमा खपाङ्गीसंग प्रस्ट धारणा थियो । यीनै कुरामा हाम्रो नियमितजस्तो सम्बाद हुन्थ्यो । 

उहाँको माक्र्सवादको बारे राम्रो अध्ययन थियो । तत्कालीन नेकपा मालेमा रहनु भएका कारण नेपालमा माक्र्सबादको प्रयोगबारे उहाँको अनुभव थियो । 

माक्र्सवादको सकारात्मक पक्ष हुँदाहुँदै नेपालका कम्युनिष्टहरुले यसलाई विकृत बनाएको उहाँ सधै भन्नु हुन्थ्यो । 

तर हामीले नेपालमा राजतन्त्र, राजतन्त्रको भविष्यबारे छलफल गर्न पाएका थिएनौ । अर्थात राजतन्त्रका बारे उहाँको धारणाका सम्बन्धमा म अनविज्ञ थिएँ । 

यही मेसोमा राजधानी दैनिकको बार्षिकोत्सवमा प्रकासित हुने विशेषाङ्कमा उहाँसंग अन्तरङ्ग कुराकानी गरेर आलेख बनाउने निधो गरेका थियौ । त्यसको जिम्मेवारी मेरो थियो । 

त्यतीबेला खपाङ्गी ललितपुरको कुसुन्तीतिर । हामी चावेलमा थियौ । चावेलबाट कुसुन्ती निकै लामो दुरी थियो । भेटघाटका लागि विशेष योजना नै बनाएर जानु पर्छ । 

कुसन्ती पुग्ने सार्वजनिक यातायात पनि अहिलेको जस्तो सहज थिएन । अहिलेको जस्तो पठाऊ हुने कुरा पनि भएन ।  

राजधानीले राजाको पहिलो बर्षको समीक्षासहित विशेषाङक प्रकाशन गर्न लागेको कुरा फोनमा जानकारी दिएँ । त्यसका लागि एउटा लेख उपलव्ध गराउने आग्रह सहितको पत्र तयार भएको पनि भनेँ । 
उताबाट खपाङ्गीले फोनमा जवाफ दिनु भयो ‘हुलाकको पोष्टबक्समा चिठी खसाई दिनु र चिठी हेरेपछि फोन गर्छु ।’ 

खपाङ्गी वैचारिक रुपमा प्रष्ट र राष्ट्रिय र अन्तराष्ट्रिय घटनाप्रति सधै अपडेट हुने गर्नु हुन्थ्यो । राजा ज्ञानेन्द्रको एक बर्षको राजकाजबारे जानकार नहुने कुरै भएन । 

बजारमा यस्तो माहौल थियो कि तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रको कसैले विरोध गरेको थिएन । शसस्त्र द्वण्द्वमा रहेको माओवादीको पनि एक प्रकारले मौनता थियो । डा. बाबुराम भट्टराइले एउटा लेख लेख्न बाहेक अन्यत्र राजतन्त्रका बारे खासै चर्चा गरिएको सुनिएको थिएन । 

यही पृष्ठभूमिमा एउटा वैचारिक लेख तयार गर्न खपाङ्गी तयार हुनु भयो । अनामनगरको रुपरेखाको कार्यलयमा भेट्ने र त्यही लेख तयार गर्ने हाम्रो फोन बार्ता भयो । मलाई लागिरहेको थियो, खपाङ्गीले बाबुरामको लाइनमा कुरा गर्नु होला ! तर त्यस्तो भएन । 

राजारानीको (बीरेन्द्र र ऐश्वर्य लगायतको) हत्या भएको र देशमा एक प्रकारको नेतृत्वको रिक्तता भएको अवस्थामा शाहवंशका उत्तराधिकारी ज्ञानेन्द्र बीर बिक्रम शाह राजा हुनु एक स्वभाविक प्रक्रिया भएको उहाँले विश्लेषण गर्नू भयो । 

उहाँले झन्डै एक घन्टा टेपमा बोल्नु भयो । बोल्ने क्रममा यदि ज्ञानेन्द्र शाहले राजा हुन इन्कार गर्नु भएको भए के हुन्थ्यो ? भन्ने प्रश्न गर्नु भयो । 

उहाँले दह्रो ढंगले नेपालको भूराजनीति, बहुजातीय समाजका लागि राजतन्त्रको आवश्यकताको वकालत गर्नु भयो । 

राजतन्त्र नहुँदैमा देशमा समाजबाद आउन नसक्ने पनि उहाँले प्रष्ट पार्नु भएको थियो । यदी राजतन्त्र नहुँदैमा देश कायापलट हुने भए, भारतमा  सय भन्दा राजतन्त्र मासिएको तर त्यहाँका जनताको जीवनस्तरमा खासै फरक नभएको तर्क गर्नू भएको थियो । 

सारमा राजा ज्ञानेन्द्रले राजा हुन मन्जुर भएर देशलाई बचाएको र नेपाली जनतालाई गुन लगाएको उहाँको टिप्पणी थियो । त्यही आसयको लेख सो विशेषाङकमा विशेष महत्वका साथ छापियो । 

पत्रिका छापिन्छन्, पत्रिकामा लेख, बिचार, सम्पादकीयहरु हुन्छन् । तर त्यस दिन अर्थात  २०५९ असार २३ मा छापिएको गोरेबहादुर खपाङ्गीको नामको त्यो लेख विशेष भइदियो । 

विशेष यसकारण भयो कि, पत्रिकाको कार्यलयमा सयौ फोन कलहरु आए । चिठीहरु आए । सकारात्मक नकारात्मक पाठक पत्रहरु आए । 

राजकाजको एक बर्ष नामक सो विशेषाङकमा परेको सो लेख देशभरका साप्ताहिक पत्रिकाहरुले साभार गरेर पुन छापे । एउटा लेखको यतिधेरै प्रतिक्रया आएको मेरो लागि त्यो नै पहिलो घटना थियो । 

त्यो लेख छापिएको छ महिना पछि खपाङ्गी महिला तथा बालबालिका मन्त्रीमा नियुक्त हुनु भयो । मन्त्री भएपछिको भेटमा उहाँले मलाई भन्दै हुनु हुन्थ्यो, ‘पत्रिकामा छापिएको एउटा  लेखका कारण सिंहदरबार धाउने बनायो ।’

अर्थात त्यसैको प्रभावबाट मन्त्री भएको उहाँको स्वीकारोक्ति थियो । 


 

प्रतिक्रिया