राजनीतिक हस्तक्षेपका कारण तामाङ आन्दोलन उठ्न नसकेको निश्कर्ष सहित ज्ञान महोत्सव सम्पन्न 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ भदौ २०८१, शुक्रवार
राजनीतिक हस्तक्षेपका कारण तामाङ आन्दोलन उठ्न नसकेको निश्कर्ष सहित ज्ञान महोत्सव सम्पन्न 

राजनीतिक हस्तक्षेपका कारण तामाङ आन्दोलन उठ्न नसकेको निश्कर्ष सहित ज्ञान महोत्सव सम्पन्न  भएको छ । तामाङ ज्ञान महोत्सवको नवौ संस्करणका रुपमा बिहिबार राजधानीमा आयोजित प्यानल छलफलका क्रममा तामाङ अगुवाहरुले यस्तो धारणा राखेका हुन् । 

सञ्चारकर्मी राजु स्याङ्तानले सहजीकरण गर्नु भएको प्यानल डिस्कशन कार्यक्रममा  तामाङ संयुक्त संघर्ष समितिका प्रवक्ता जय गोले, लेखक राजेन्द्र महर्जन, निष्णु थिङ सहभागी हुनु हुन्थ्यो । 

‘तामाङजन्य संघ संस्था राजनीतिक दलको कव्जामा परेका छन् । पहिचान विरोधी राजनीतिक दलको चौघेराबाट मुक्त नभइ तामाङ आन्दोलन उठन सक्दैन ।’ कार्यक्रममा गोलेले भन्नु भयो ।  ‘नेपाल तामाङ घेदुङका पदाधिकारीहरुको अवस्था पनि यही छ ।’

अर्का टिप्पणीकार राजेन्द्र महर्जनले पनि तामाङ समाज मात्र नभएर सबै आदिवासी जनजातिहरु राजनीतिक दलको भूलभूलैयामा फसेको बताउनु भयो । तामाङको सवाल र मुद्धामा  आदिवासीहरुको कमै चासो रहनु  यसैको कारण रहेको उहाँले बताउनु भयो । 

कार्यक्रमको दौरानमा काठमाडौमा भएको भगवती पाण्डेको अभिव्यक्ति विरुद्धको आन्दोलन, लप्सीफेदीमा जारी रहेको भूमि आन्दोलन लगायतमा पनि तामाङजन्य संघ संस्थाको कम चासो देखिएको बक्ताहरुले बताउनु भएको थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईको प्रमुख आतिथ्यता तथा तामाङ ज्ञान महोत्सव आयोजक समितिका संयोजक निष्णु थिङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा तामाङ इतिहास, संस्कृति र वर्तमान अवस्थाका बारेमा छलफल गरिएको थियो । 

तामाङ पहिचान दिवसको अवसरमा हरेक वर्ष भदौ ६ गते तामाङ ज्ञान महोत्सव आयोजना गरिँदै आएको छ । भोटे, मुर्मु जस्ता शब्दले सम्बोधन गर्दै आएको तामाङ जातिलाई १९८९ साल भदौ ६ गते तत्कालीन प्रधानमन्त्री भीमशमशेर राणाले ‘तामाङ’ लेख्न–लेखाउन इस्तिहार जारी गरेको दिनलाई पहिचान दिवसको रूपमा मनाउने गरिएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले नेपाल सबै जातिको साझा थलो भएको बताउँदै आदिवासीले प्रादुर्भाव गरेका ज्ञान, सिद्धान्तले नेपाललाई चिनाउन सफल भएको बताउनु भयो । तामाङले आफ्नो पहिचान पाएको दिनलाई सम्झना गर्दै प्रज्ञामा यो कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो । 

तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जनले स्वागत मन्तव्य गर्नू भएको कार्यक्रममा मगर प्राज्ञिक परिषद्का सदस्य सचिव डा विष्णु कुमार सिंजाली मगरले आदिवासीको संस्कृति कमजोर नभएपनि राज्यले यसलाई कमजोर बनाउन खोजेको विषय उठाउँदै अस्तित्व खोजीको नयाँ युग शुरु गर्नुपर्ने बताउनु भयो ।  त्यसैगरी नेपाल तामाङ धेदुङका महासचिव जगत दोङले लामो समयको संघर्षपछि बागमती प्रदेशमा तामाङ भाषालाई समावेश गरिएको भन्दै यसरी नै भाषा विस्तार र संरक्षणमा लाग्नुपर्नेमा जोड दिनु भयो । 

तामाङ अन्तर्राष्ट्रिय परिषद्का महासचिव टासी लामाले अहिले पनि विश्वभर छरिएर रहेका तामाङहरुले आफ्नो थर यही हो भनेर लेख्नलाई ज्ञात नभएको बताउँदैसबै तामाङ समुदायले यसलाई गम्भीररुपमा लिनुपर्ने बताउनु भयो । 

कार्यक्रममा संस्कृतिविद् अजितमान तामाङले विद्धत प्रवचन दिनु भएको थियो । तामाङ संकृति, भाषा, कला र इतिहासका बारेमा उनले प्रवचनबाट सबैलाई आफ्नो अस्तित्व र यसको रक्षा कसरी गर्न सकिन्छ भन्नेबारे विस्तृतमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा तामाङ भाषाका भेद र सरकारी कामकाजमा प्रयोग भन्ने प्रस्तुति सत्रमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा तारामणि राईले ‘तामाङ भाषाका भौगोलिक भाषिक भेद’, भाषा आयोगका सचिव डा. लोक बहादुर लोप्चनले ‘बागमती प्रदेशमा तामाङ भाषा सकारी कामकाजको भाषा कार्यान्वयन के हुँदैछ ?’, तामाङ अध्ययन प्रतिष्ठानकी अनुसन्धानकर्ता संजिला मोक्तानले ‘डाब्जोङमा भाषा पाठशालाको स्थापना र तामाङ पहुँच (वि स १९६८–२०१८)’, अधिवक्ता रवीन्द्र थिङले ‘राजनीति, न्याय प्रणाली र तामाङ समुदाय’ तथा नेपाल तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जनले ‘तामाङ डाजाङको संक्षिप्त इतिहास’ विषयमा कार्यपत्र प्रस्तुत गर्नू भएको थियो । 

त्यसैगरी ‘वोन परम्परा र द्वन्द्व व्यपस्थापन’ विषयमा भएको अन्तरक्रियामा भाग लिँदै निमा मोक्तानले ‘तामाङ समाजमा वोन परम्परा’, निष्णु थिङले ‘तामाङ समाजमा द्वन्द्व व्यवस्थापन’, त्रिविका उपप्राध्यापक चतुर्भुज केवरतले ‘आत्मकथा सिद्धान्तको आलोकमा अमृत योञ्जन तामाङको तिलपुंगे ठिटोको अध्ययन’, अनुसन्धानकर्मी उदय थिङले ‘तामाङ सञ्चारमा उपनिवेशकारी दमनले तामाङको  पहिचान निर्माणमा परेका असरहरू ःर  पहिचानको पुनार्दावी’ शीर्षकमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नू भएको थियो । 
 

प्रतिक्रिया