प्रतिष्ठानको सिफारिसमा ‘हुम्लो’ आदिवासी जनजाति सूचिकृत, पाँच समुदाय एकीकृत 

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२९ असार २०८१, शुक्रवार
प्रतिष्ठानको सिफारिसमा ‘हुम्लो’ आदिवासी जनजाति सूचिकृत, पाँच समुदाय एकीकृत 

नेपाल सरकारले ‘हुम्लो’ आदिवासीलाई सूचिकृत गरेको छ । २०८१ असार २७ गते बसेको मन्त्रिपरिषदको बैठकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लो जातिलाई आदिवासी जनजातिमा सूचिकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भयो । 

हिमाली जिल्ला हुम्लालाई मूल थातथलो बनाउँदै आएका ‘हुम्लो’आदिवासीहरु सूचिकरणको अभावमा राज्यले प्रदान गर्दै आएको निजामति लगायतको आरक्षण सेवाबाट बन्चित भएका थिए । 

आदिवासी सूचिकरणका लागि प्रतिष्ठानले मानवशास्त्री डा. मुक्तसिंह लामाको संयोजकत्वमा विज्ञ कार्यदल गठन गरी अध्ययन गराएको थियो । कार्यदलले केही समय अगाडि प्रतिष्ठानमा आफनो प्रतिबेदन बुझाए अनुसार सरकारलाई सूचिकरणका लागि सिफारिस गरिएको प्रतिष्ठानका सदस्य–सचिव कमल राजबंशीले बताउनु भयो ।

‘आर्थिक बर्ष २०७९/८०कै कार्यक्रम अनुसार कार्यदल गठन गरिएको थियो, कार्यदलको प्रतिबेदनलाई सञ्चालक परिषदले सरकारमा सूचिकृत भएको हो ।’ राजबंशीले भन्नु भयो –‘नेपाल सरकारको निर्णय राजपत्रमा प्रकासित भए पछि आदिवासी जनजातिको मान्यता प्राप्त गर्छन् ।’

कार्यदलले दिएको प्रतिबेदन अनुसार ‘हुम्लो’ आदिवासीहरुलाई इतिहासमा र स्थानीय कारछ्याग अभिलेखमा ‘होम्लोहो’ उल्लेख भएको उल्लेख छ । यो शव्द अनुसार  ‘होम्बो’ भनेको  स्थानीय वनस्पतीको नाम हो भने ‘ल्हो’ भनेको दक्षिण वा ‘लुङ’ उपत्यका हो । हुम्ला जिल्ला यही ‘हुम्लो’ हुँदै हुम्ला बनेको उल्लेख गरिएको छ । 

प्रतिष्ठानका सदस्य–सचिव राजबंशीका अनुसार कार्यदलमा मानवशास्त्री लामा सहित समाजशास्त्री डा. विष्णु सिन्जाली, भाषाविद डा. तारामणी राईसम्मिलित तीन सदस्यीय कार्यदल बनेको थियो । 
यस अघि पनि सरकारले राना थारुलाई फरक आदिवासी जनजातिमा सूचिकृत गरेको थियो । तर सो सूचिकृत प्रक्रिया परिषदबाट निर्णय नभएको हुँदा विवाास्पद हुँदै आएको छ ।

हुम्लाका पूर्व साँसद छक्कबहादुर लामाका अनुसार ‘हुम्लो’आदिवासी त्यहाँका पाँच समुदाय मिलेर बनेको हो । दोजामी गाउँमा बहुल बसोबास गर्ने चाङ्वा, वारथपालेका निन्वा, साठी खोलेका टुक्च्यु लुङ्वा, सात थपालेका युल्छो दुन् र लिमेलका लिम्बा आदिवासीको संयुक्त रुप हुम्लो भएको उहाँको भनाइ रहेको छ ।

‘हुम्लो’का फरक–फरक समुदाय भए पनि भाषामा एक रुपता देखिएको कार्यदलका संयोजक लामाले बताउनु भयो । यस अघि जनगणनामा कतै नदेखिएको हुम्लो आदिवासीको पहिचान गर्न कार्यदलले मेहनत गरेर समुदायको परिभाषा अनुसार सो नामाकरण भएको उहाँले जानकारी गराउनु भयो । 

डा. लामाका अनुसार ‘हुम्लो’ आदिवासीहरुको संस्था नम्ख्युङग हुम्ला समाजले २०८१ बैशाख ११ गते प्रतिष्ठानमा सूचिकरणका लागि आवेदन दिएको बताउनु भयो ।

यस अघि  डा. ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति परिमार्जन उच्चस्तरीय कार्यदल बन्न अगाडि हुम्ला समाजसेवाले भोटे लामा जातिका रुपमा सूचिकरण गर्न माँग गरेको थयो । डा.गुरुङ कार्यदलले ‘लिमियँ’, ‘हिल्छोदुन’, ‘निम्बा’, टुहुक्ल्युलुङ गरी चार समुदायलाई सूचिकरण गर्ने सिफारिस गरेको थियो । 

लामाका अनुसार ‘हुम्लो’ आदिवासीहरुले नम्ख्युङग हुम्ला समाज नामक संस्था गठन गरेर अगाडि बढेका छन् । उहाँले करीव ६ हजार जनसंख्या भएका हुम्लो आदिवासीहरु बौद्ध धर्मावलम्बी रहेको र प्रतिष्ठान ऐनमा भएका सबै विशेषता कायम रहेको दावी गर्नू भयो । 

कार्यदलले दिएको प्रतिबेदन अनुसार ‘हुम्लो’ आदिवासीहरुलाई इतिहासमा र स्थानीय कारछ्याग अभिलेखमा ‘होम्लोहो’ उल्लेख भएको उल्लेख छ । यो शव्द अनुसार  ‘होम्बो’ भनेको  स्थानीय वनस्पतीको नाम हो भने ‘ल्हो’ भनेको दक्षिण वा ‘लुङ’ उपत्यका हो । हुम्ला जिल्ला यही ‘हुम्लो’हुँदै हुम्ला बनेको उल्लेख गरिएको छ । 

यस अघि हुम्लोहरुलाई खस क्षत्रीहरुले ‘हुम्ल्या’, ‘जाड’ र ‘भोटे’ भन्ने गरेका छन । खाम्पा भोटे, मुगाल, डोल्पा तथा व्यासहरुले ‘हुम्लो तथा हुम्लु’ भन्ने गरेका छन । तिव्वती समुदायले होम्लो रोङ्वा भन्ने गरेको पाइन्छ । 

२०७८को जन गणनामा ‘हुम्लो’ आदिवासी समावेश गरिएको छैन । उनीहरुको थाकथलो रहेको स्थानमा हुम्लाको सिमिकोट र नाम्खा गाउँपालिकामा बसोबास गर्ने हुम्लोहरुले तामाङ, लामा अथवा भोटे लगायतका जात राखी नागरिकता लिने गरेको पाइन्छ । तर यो सूचिकरण पछि उनीहरुको पहिचान विहिनता सकिने र जातिमा एक रुपता हुने अपेक्षा गरिएको थियो । 

कार्यदलका सदस्य डा. विष्णु सिन्जालीका अनुसार उनीहरुको साझा भाषा 'हुम्लो के' हो । यो भाषालाई ‘खाम के, वा बो के’ पनि भनिन्छ ।

हुम्लामा बसोबास गर्ने लिमियँ, हिल्छोदुन्, निम्बा, टुहुक्ल्युलुङ र दोजाङ समेतका पाँचै समुदायले बोल्ने भाषामा भौगोलिक भेद भए पनि एकअर्का बीच बोधगम्यता भएको बताउनु भयो । उहाँका अनुसार तिव्वती भाषा र हुम्लो भाषा बीच अत्याधिक अन्तर रहेको र उनीहरु बीच बातचित हुन नसक्ने अध्ययनबाट देखिएको बताउनु भयो । 

परम्पराको हकमा हुम्लोहरुको ‘भोद लाँग’ नामक पशुपालन सम्बन्धी परम्परा, ‘लाफो, डावला’ जस्ता देबी देवता पुज्ने परम्परा, ‘युुल्छा’जस्ता धेरै प्रकारका परम्पराले उनीहरु पृथक रहेको ठहर कार्यदलको छ । 

आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन अनुसार आदिवासी जनजाति सूचिकरणका लागि मातृभाषा, परम्परागत रीतिथिति, छुट्टै साँस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको हुनु पर्दछ । 
 

प्रतिक्रिया