प्राकृतिक स्रोतको संरक्षणमा कम्युनिटी प्रोटोकलको कलिलो अभ्यास, अभिलेखिकरणको खाँचो

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ३१ जेठ २०८१, बिहिवार
प्राकृतिक स्रोतको संरक्षणमा कम्युनिटी प्रोटोकलको कलिलो अभ्यास, अभिलेखिकरणको खाँचो

कम्युनिटी प्रोटोकल (सामुदायिक आलेख) आदिवासीय समाजको आन्तरिक विधि र बिधान हो । यो आलेख समुदायस्तरका लागि आन्तरिक आचारसंहिता हो भने बाह्य पक्षका लागि बाह्य पक्षसंगको सम्बन्ध र समुदायको दृष्टिकोणलाई हेर्ने आँखीझ्याल पनि हो ।  यस्तो कम्युनिटी प्रोटोकल एक प्रकारको सामुदायिक घोषणापत्र हो, जस्ले सम्बन्धित आदिवासी जीवनचक्रलाई प्रतिनिधित्व गर्ने मार्गनिर्देश दिन्छ ।

सामन्यतः कम्युनिटी प्रोटोकल मौखिक रुपमा सम्बन्धित समुदायले सहमतीय प्रणालीबाट निर्माण गरेर अभ्यास गरिरहेको हुन्छन् । जुन प्रोटोकल प्रथाजनित कानूनको अभिन्न अङ्गका रुपमा स्थापित भएको हुन्छ । 

विश्वका विभिन्न आदिवासी समाजमा कम्युनिटी प्रोटोकललाई उच्च सम्मान गरेर प्राकृतिक स्रोतसम्बन्धी निर्णयहरु हुने गरेता पनि नेपालमा भने यस्तो अभ्यास कलिलो रुपमा नै रहेको छ । खास गरेर अन्तराष्ट्रिय कानुनले मान्यता दिएको कम्युनिटी प्रोटोकल आदिवासी समुदायमा हुन्छ । तर त्यसको अभिलेखिकरणको अभावमा प्राकृतिक स्रोतको दोहन भइरहँदा पनि सम्बन्धित अधिकारवाला समुदाय निरिहजस्तै बन्नु परेको छ । 

प्रोटोकलहरुमा जमिन, जमिनमा भएका स्रोतहरु, भौतिक सम्पदा, आध्यात्मिक स्थलहरु, वन सम्पदा, जलसंग सम्बन्धित प्रणालीहरु, जीवजन्तु लगायत प्राणी रक्षा, मुर्त र अमुर्त सम्पदाको संरक्षण, समुदायको ज्ञान प्रणालीलाई समेटेको हुन्छ । बाह्य पक्षको अतिक्रमण, अन्तरघुलन तथा आप्रवासनका विरुद्ध पनि कम्युनिटी प्रोटोकलले बोलेको हुन्छ ।

यस्तो प्रोटोकल आदिवासी तथा स्थानीयहरूले बनाएको स्थानीय नियम, कानून वा निश्चित रूपमा विकास गरेको आर्थिक सामाजिक व्यवस्थालाई हेर्ने विधि वा न्यायशास्त्रको हाँगा हो । तिनीहरू आदिवासी समुदायहरूले स्वीकार गरेको लिखत वा मौखिक आदेश वा कानून जे पनि हुन सक्दछ । 

कम्युनिटी प्रोटोकलमा सम्बन्धित समुदायले निर्धारण गरेको मूल्य मान्यता र प्रक्रियाहरु, समुदायका प्राथामिकतालाई मौखिक वा लिखित रुपमा दस्तावेजीकरण गरिएको हुन्छ । बाह्यपक्षका सरोकारवालासंग आदिवासीको ज्ञान प्रणाली, प्रविधि र स्रोत र साधनको प्रयोग गरिँदा अगाडि सारिने शर्तहरु यस प्रकारको प्रोटोकलमा उल्लेख हुन्छ । तर यस्ता शर्तहरु असंशोधनीय भने हुँदेन । 

प्रथाजनित कानुनको अभिन्न अंग
वातावरण तथा विकासविद क्रिस्टिना स्विडेस्को भनाइमा कम्युनिटी प्रोटोकलहरु प्रायः प्रथाजनित संस्था, प्रथाजनित कानुन र समुदायको अधिकारसंग सम्बन्धित हुन्छ । यसको सोझो अर्थ हो, प्रथाजनित कानुन र संस्थाको अभावमा कम्युनिटि प्रोटोकल पनि अपुर्ण हुन्छ । 

कम्युनिटी प्रोटोकलले जहिलेपनि समुदायलाई केन्द्रमा राखेको हुन्छ । यसकारण नै  स्विडेस्र्काको थप भनाइ छ, ‘प्रोटोकलहरु कानुनी र जिम्मेवारीसहितको सामुहिक उत्तरदायित्व हो । जुन राष्ट्रिय र अन्तराष्ट्रिय कानुनले प्रत्याभूत गरेको आदिवासीको भूमि, प्राकृतिक स्रोतको अधिकारलाई प्रथाजनित तरिकाले स्थानीय स्तरमा नै व्यबस्थापन गरेको हुन्छ ।’

कम्युनिटी प्रोटोकल र प्रथाजनित कानुनले समुदायको व्यबहारलाई व्यवस्थित गर्न सहायता गर्दछ । सामन्यतः प्रथाजनित संस्था संगठानात्मक संयन्त्र हो भने प्रथाजनित कानुन त्यस संयन्त्रलाई सञ्चालन गर्ने विधि हो । यसमा कम्युनिटी प्रोटोकलले सामुदायिक मामिलामा आफ्नो दृष्टिकोण तय गर्दछ । तर यसको उत्पत्ति, दायरा र लागु गर्ने, प्रवद्र्धन गर्ने संयन्त्र भने फरक हुन्छन् । 

प्रथाजनित कानुनहरु भन्ने वित्तिकै कानुनी मामिला भन्ने बुझनु पर्ने हुन्छ । प्रथाजनित कानुनहरु प्रथा, परम्पराको जगमा निर्माण हुन्छ । तर कम्युनिटी प्रोटोकल प्रथा र परम्पराको दायरा भन्दा अलिक फराकिलो क्षेत्रलाई समेट्छ । प्रथाजनित संस्था आफैमा आदिवासीले अभ्यास गरिरहेको परम्परागत शासकीय निकाय हो ।

प्रथाजनित कानुनले प्रथाजनित संस्थाको दायरालाई मात्र समेट्छ भने कम्युनिटी प्रोटोकल प्रथाजनित कानुन भन्दा अलिक पर सामाजिक साँस्कृतिक तथा सामाजिक सवालहरुमा आफनो धारणाहरु बनाउने गर्दछ । कम्युनिटी प्रोटोकल लचिलो र सहभागितामूलक तरिकाले परिवर्तनशील हुन्छ । यसका अनुसन्धान गर्ने अनुसन्धाताहरुको भनाइमा कम्युनिटी प्रोटोकल नयाँ निर्माण पनि गर्न सकिन्छ । तर प्रथाजनित कानुन समयअनुकुल मात्र परिवर्तन हुन्छ । 

कम्युनिटी प्रोटोकल विश्वका सबै आदिवासी समुदायको संरचनामा क्रियाशिल रहेको पाइन्छ । फरक साँस्कृतिक अभिव्यक्ति र आदिवासी ज्ञान कार्यन्वयनका लागि समुदायबाट विकसित प्रोटोकलले समुदायमा निहित ज्ञान प्रणाली कार्यन्वयनको प्रक्रिया निर्धारण गर्दछ ।

खासगरेर आदिवासीको अधिकार कार्यन्वयन गर्ने शिलसिलामा स्वतन्त्र, पूर्व, सूसुचित सहमति (एफपीक) कार्यन्वयनमा समुदायले आफना शर्तहरु राख्न सक्छन्, त्यो कम्युनिटी प्रोटोकल हो । प्राकृतिक स्रोत र साधनको संरक्षणका लागि गरिने क्रियाकलापलाई मार्गनिर्देशन गर्ने जस्ता  आलेखहरु निर्माण गरियो भने प्रोटोकल हुन्छ । 

परम्परागत ज्ञानको संरक्षक 
कम्युनिटी प्रोटोकल आदिवासी जनजातिको पहिचान, जिविका र जीवनशैलीसंग सम्बन्धित हुन्छ । आदिवासीको परम्परागत ज्ञान प्रणालीलाई कम्युनिटी प्रोटोकलले जहिले पनि संरक्षण गर्ने औजारका रुपमा अघि सारिएको हुन्छ । 

पछिल्लो समयमा आदिवासीको भूमि, भूभाग र भूक्षेत्र भित्र पश्चिमी ज्ञान प्रणालीका आधारमा गरिने औपनिवेशकारी अतिक्रमण विरुद्ध कम्युनिटी प्रोटोकलले स्ववासी विकास, मौलिक ज्ञान प्रणाली र प्राकृतिक स्रोत र साधनको संरक्षणमा आफनो प्रणालीको विकास गर्न थालिएको छ ।

कम्युनिटी प्रोटोकलले समुदायको मूल्य मान्यता, बाह्यपक्षसंगको अडानको प्रक्रिया र समुदायको प्राथामिकतालाई अभिव्यक्त गर्दछ । प्रोटोकलमा प्रथाजनित संस्था, प्रथाजनित कानुन र अन्तराष्ट्रिय कानुनले दिएको अधिकारलाई केन्द्रमा राखेर यस्तो अभिव्यक्त गरेको हुन्छ । 

प्रोटोकलहरुमा जमिन, जमिनमा भएका स्रोतहरु, भौतिक सम्पदा, आध्यात्मिक स्थलहरु, वन सम्पदा, जलसंग सम्बन्धित प्रणालीहरु, जीवजन्तु लगायत प्राणी रक्षा, मुर्त र अमुर्त सम्पदाको संरक्षण, समुदायको ज्ञान प्रणालीलाई समेटेको हुन्छ । बाह्य पक्षको अतिक्रमण, अन्तरघुलन तथा आप्रवासनका विरुद्ध पनि कम्युनिटी प्रोटोकलले बोलेको हुन्छ ।

वास्तवमा यो बाह्य हस्तक्षेप विरुद्धको सुरक्षाकवज हो ।  कम्युनिटी प्रोटोकलमा साझा बिचार, धारणा र सामुहिक स्वार्थसंग जोडिएको हुँदा यसको अतिक्रमण विरुद्ध साझा प्रतिवाद गर्नु समुदायका सबै सदस्यको कर्तव्य पनि हुन्छ । 

कम्युनिटी प्रोटोकल प्रथाजनित कानुनको अभिन्न अंग हो । आदिवासीको प्रथा परम्परा तथा प्रथाजनित कानुनलाई संरक्षण गर्ने विभिन्न अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धि सन्धी, महासन्धीहरुले परोक्ष र अपरोक्ष रुपमा विशेष व्यबस्थाहरु  गरेको छ । 

आदिवासीका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघिय घोषणापत्र, आईएलओ महासन्धि नम्बर १६९, महिला विरुद्ध हुने सबैप्रकारका भेदभाव उन्मुलन गर्ने महासंन्धि सिड र सिडकै आदिवासी महिला र किशोरीहरुको अधिकारका लागि आधारभुत सिफारिस नम्बर ३९ समेतले सम्बोधन गरेको छ । 

प्रतिक्रिया