सरकारी कामकाजमा तामाङ र नेपाल भाषा सुरु भएको घोषणा, चुनौति धेरै रहेको टिप्पणी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ वैशाख २०८१, सोमवार
सरकारी कामकाजमा तामाङ र नेपाल भाषा सुरु भएको घोषणा, चुनौति धेरै रहेको टिप्पणी

बागमती प्रदेशले पारित गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० सोमबारबाट लागु भएको छ । प्रदेश सभाले पारित गरेको सो ऐन २०८० कात्र्तिक २३ गते प्रदेश राजपत्रमा प्रकासित भएको १८० दिन पुगेको हुँदा ऐनको प्रावधान अनुसार  राजपत्रमा प्रकासित भएको १८० दिन पछि सोमबारबाट लागु भएको हो । 

सोमबार राजधानीमा एक विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सो भाषा ऐन शुभारम्भ भएको घोषणा गर्नू भएको छ । बागमती प्रदेश सरकार, नेपाल तामाङ घेदुङ र नेवा देय् दबूको संयुक्त आयोजनामा भएको समारोहमा प्रधानमन्त्रीले कम्युटरमा माउस क्लिक गरेर शुभाराम्भ भएको घोषणा गर्नू भएको हो । 

नेवा र तामाङ सर्वसाधारणको बाक्लो उपस्थिति रहेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारसहित आन्तरिक राष्ट्रियताका लागि भाषा ऐन महत्वपूर्ण हुने बिचार राख्नु भयो । उहाँले नेपालको संविधानमा व्यबस्था भएको भाषा सम्बन्धी व्यबस्थालाई बागमती प्रदेशले मुर्त रुप दिएकोमा खुशी पनि व्यक्त गर्नू भयो । 

प्रधानमन्त्री प्रचण्डले उत्पीडित नेवाः र तामाङका लागि आजको दिन ऐतिहासिक भएको बताउनु हुँदै बर्तमान संविधानमा भएका व्यवस्थालाई कार्यन्वयन गर्दै लैजाने र पूर्ण नभएको अवस्थामा संविधानमा पनि सुधार गर्ने बताउनु भयो । 

सम्बोधन कै क्रममा उहाँले संघीय सरकारबाट भाषा ऐन कार्यन्वयनमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नू भयो । कार्यक्रममा बागमती प्रदेशमा प्रमूख प्रतिपक्षी दलका नेता बहादुरसिंह लामाले भाषाका कारणले आदिवासीहरु पिछडिनु परेको उदहारण दिँदै अव यस्तो उत्पीडन भोग्न नपर्ने बताउनु भयो । उहाँले ऐन कार्यन्वयमा देखिएको चुनौतिलाई सम्बोधन गर्न प्रदेश सरकारलाई आग्रह पनि गर्नू भयो । 

यस अघि बोल्नु भएका नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले मातृभाषामा शिक्षा नभएका कारणले बुर्जुवा शिक्षा हाबी भएको धारणा राख्नुभयो । प्रस्तुत ऐन लागु भए पछि शिक्षामा विशेष ध्यान दिनु पर्ने बताउँदै अवको मातृभाषाको आन्दोलनको नयाँ श्रृंखला यसको कार्यन्वयनमा हुने बताउनु भयो । 

नेवा देय्ः दबूका अध्यक्ष पवित्रमान बज्राचार्यले  मातृभाषाको मान्यताबाट नेवाः समुदायको बौद्धिक सम्पत्ति संरक्षित गर्न सकिने बताउनु भयो । उहाँले ऐन कार्यन्वयनका लागि नियमावली बनाउने, आयोग गठन गर्ने तथा प्रतिष्ठान बनाउने कार्य बाँकी रहेको हुँदा व्यबहारमा लागू गर्न आग्रह गर्नू भयो । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रदेशका संस्कृति, पर्यटन र सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले ऐनको कार्यन्वयन गर्नकालागि सबैमा थप जिम्मेवारी आएको बताउनु भयो । 

शुुभराम्भ समारोहमा नेवा तथा तामाङ भाषाका कलाकारहरुले स्वागत गीत र अन्य मौलिक प्रस्तुतिहरु राख्नुभएको थियो । सो ऐन कार्यन्वयनका लागि पहिलो चरणमा सरकारी कार्यलयहरुको साइनबोर्ड नेवारी र तामाङ भाषामा लेख्ने बागमती प्रदेशले निर्णय गरिसकेको छ । 


 

प्रतिक्रिया