प्रसिद्ध भाषावैज्ञानिक प्रा.डा. नोवलकिशोर राई नेपाली समाजमा गर्ने गरिएको अबोध नक्कलप्रति चित्त नबुझेको सुनाउनु हुन्छ । बाबुआमाले अर्काको नक्कल गर्दा आफ्नो छोराछोरीको न्वारनको नाम अनर्थ हुनपुगेकोसमेत थाहा पाएका छैनन् । प्रसंग हो– कुनै एक समुदायको भाषाबारे स्थलगत अध्ययन अनुसन्धान गर्न जाँदाको । भाषाशास्त्री राईको भनाइको सार यस्तो छ, ‘हामी तयारीका साथ स्थलगत रूपमा त्यो समुदायको भाषाको स्थितिबारे अध्ययन अनुसन्धान गर्न पुगेका थियौं । समुदायमाझ पुगेर हामीले आफ्नो काम थाल्यौं । त्यतिखेर एकजना आमाले आफ्नो छोरालाई बोलाइन्– ‘ए एनस यता आइज । यो काम गर ।’ त्यो बच्चाको नाम सुनेर अचम्म लाग्यो । उसकी आमालाई सोधें– तपाईंको छोराको नाम के हो ? उनले ‘एनस’ भनिन् । मैले फेरि सोधें– एनस नामको अर्थ थाहा छ ? उनले ‘थाहा छैन’ भनिन् । वास्तवमा यो कसैको नक्कल गरेर, अर्थ नबुझी बालबालिकाको नाम राखिदिने परम्पराले सभ्य समाज निर्माणमा लज्जाबोध हुने गरेको छ । ‘एनस’ अंग्रेजी शब्द हो र यसको अर्थ ‘मलद्वार’ अथवा ‘चाक’ भन्ने हुन्छ ।’
प्राध्यापक राईको ठम्याइ एउटामात्र उदाहरण हो । यस्ता अनेकौं उदाहरणहरू छन्, जुन खोजी साध्य छैन । शिक्षाको कमीले गर्दा नेपाली बालबालिकाको अनर्थ न्वारन हुने गरेको छ । त्यसमा सबैभन्दा बढी आदिवासी जनजाति समुदाय पिल्सिएका छन् ।
आखिर व्यक्तिको नाम किन अर्थपूर्ण हुनुपर्छ । किन समुदायको परम्परागत भाषा, धर्म, संस्कृति, संस्कार सापेक्ष हुनुपर्छ भन्ने पक्ष गम्भीर विषय हो । जो कोही व्यक्तिले आफ्नो छोराछोरी जन्माएपछि न्वारन गरिदिनु उसको कर्तव्य हो । जेसुकै नाम राखे पनि उसको अधिकारको कुरो हो । तर, हरेक व्यक्ति निश्चित परिवार, समुदाय, समाज, संस्कार, संस्कृति, परम्परालाई अँगालेर अघि बढिरहेको हुन्छ । देश, परिवेशअनुकुल आफ्नो मौलिकता बोकिरहेको हुन्छ । त्यसैले त्यो मौलिकतालाई जोगाउनका निम्ति सामुहिक एकताको आवाज बटुल्ने क्रम बढ्दो छ । त्यसनिम्ति नेपालका आदिवासी जनजाति समुदाय संगठित रूपमा अघि बढ्दै आएका छन् । यी समुदायको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ रहेको छ ।
हरेक व्यक्ति निश्चित परिवार, समुदाय, समाज, संस्कार, संस्कृति, परम्परालाई अँगालेर अघि बढिरहेको हुन्छ । देश, परिवेशअनुकुल आफ्नो मौलिकता बोकिरहेको हुन्छ । त्यसैले त्यो मौलिकतालाई जोगाउनका निम्ति सामुहिक एकताको आवाज बटुल्ने क्रम बढ्दो छ ।
लेखक पूर्ण पी राईको शब्दमा ‘आदिवासी जनजाति आन्दोलन पहिचान, अधिकार र पहुँचको आन्दोलन हो । जागरण र कर्तव्यको आन्दोलन हो । अधिकार र पहुँच प्राप्तिका लागि राज्यसत्तामा दबाब सिर्जना गर्नुपर्दा तल्लो तप्कासम्म चेतना र क्षमता विकास गर्नुपर्छ । यस्तो दबाबमूलक आन्दोलन राजनीतिक प्रकृतिको हुन्छ भने जागरण र कर्तव्यको आन्दोलन सामाजिक आन्दोलन हो । आदिवासी जनजाति आन्दोलन राजनीतिक र सामाजिक आन्दोलनको सम्मिश्रण हो, तर अहिले कुहिरोमा रुमल्लिएको काग जस्तै भएको छ । नेपाली समाजको प्रधान अन्तर्विरोध वर्गीय हो कि सामाजिक (भाषिक, सांस्कृतिक, जातीय) भन्ने बहसको लामो शृंखला छ । राजनीतिक शक्तिले वर्गीय सवाललाई प्रमुख ठानिरहे, आदिवासी जनजातिले सामाजिक पक्षलाई जोड दिइरहे । शक्तिको पहुँचमा एकल जातीय वर्चस्वले नेपालको पछौटेपनको प्रमुख कारण सामाजिक देखाउँछ, जसलाई राज्यसत्ताले कहिल्यै स्वीकार गरेन । यसको वर्गीय पक्ष कम पेचिलो छैन ।’
फेरि व्यक्तिको नामतर्फ फर्किउँ । लेखक तथा मातृभाषा अभियन्ता सन्जोग लाफा मगरको ठम्याइ छ कि समुदायमा मौलिक नामहरू राख्न पुनःजागरण आएको छ । मगर समुदाय हिन्दुहरूसँग संसर्ग नहुँदासम्म व्यक्तिको मौलिक नामहरू थिए । मुख्यगरी छोराको नाम लाक्षणिक, विशेषणका आधारमा राखिन्थे । छोरो जन्मिएपछि गोरो देखिए ‘बोच्या’, काले भए ‘चिच्या’ आदि भन्थे । त्यसैगरी छोरी जन्मिएपछि वनस्पति, खोला, डाँडाजस्ता प्रकृतितुल्य नामहरू राखिदिन्थे । नामको बिचमा ‘माया, कुमारी’को सट्टा ‘सरा’, ‘धरा’ जोडिन्थे । जस्तो बलिसरा, मिसरा, यसोधरा, लिसरा आदि हुन्थ्यो ।
जागरणपछि ‘ग्यावट’ (चन्द्रमा), ‘नामखान’ (सूर्य), ‘दियाबु’ (बादल), नमसरा (प्रकृति), निसरा (दुइफूल), लिसरा (फक्रन लागेको फूल), मिसरा (फक्रिएको फूल) जस्ता मौलिक नामहरू राखिदिने क्रम बढेको छ । गोरेबहादुर खपाङ्गीको अगुवाईमा मगर संघले ‘मगर मुक्तिका लागि जन्मदेखि मृत्यु पर्यन्तसम्म बाहुन पुरेत नल्याइ आफ्नै कुटुम्बबाट कर्मकाण्ड गर्ने’ महत्वपूर्ण निर्णयले सामाजिक जागरणमा बल पुगेको लाफा उल्लेख गर्नुहुन्छ ।
स्मरण गर्नु पर्ने पक्ष यो छ कि राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देश नेपालको कुल जनसंख्याको पहिलो हिस्सा क्षेत्री (१६.४५ प्रतिशत), दोस्रो पहाडे ब्राम्हण (११.२९ प्रतिशत) र तेस्रोमा मगर (६.९ प्रतिशत) रहेको छ । त्यसपछि थारु (६.२ प्रतिशत) र तामाङ (५.६२ प्रतिशत) रहेका छन् ।
तामाङ समुदायको नाम राख्ने परम्परा तिब्बतीकरण र हिन्दुकरणमा परेको भाषावैज्ञानिक अमृत योन्जन तामाङ बताउनु हुन्छ । उहाँको कथन छ, ‘तामाङको नाम पूर्ण रूपमा हराएको छ भने राख्नेले तिब्बतियन नाम राख्न थालेका छन् किनभने लामाहरू तिब्बतियन छन् । तामाङ समुदाय तिब्बतीकरण र हिन्दुकरणमा फसेको छ । क्रिस्चियनिटीकरण पनि छ ।’ उहाँले पछिल्लो वर्षमा ‘तामाङ नामकोश’ प्रकाशन गर्नु भएको छ । नेपाल तामाङ घेदुङले छेड्दै आएको जागरण अभियानसँगै तामाङ समुदायमा बालबालिकाको नाम तामाङ भाषामै राख्ने क्रम बढेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देश नेपालको कुल जनसंख्याको पहिलो हिस्सा क्षेत्री (१६.४५ प्रतिशत), दोस्रो पहाडे ब्राम्हण (११.२९ प्रतिशत) र तेस्रोमा मगर (६.९ प्रतिशत) रहेको छ । त्यसपछि थारु (६.२ प्रतिशत) र तामाङ (५.६२ प्रतिशत) रहेका छन् ।
अनुसन्धाता चन्द्रकुमार राई ‘हतुवाली’ व्यक्ति नामलाई लिएर दुईवटा कृति प्रकाशित गर्नुभएको छ । ती हुन्– ‘राई बान्तावा भाषामा बालबालिकाको नाम’ (२०७०) र ‘किरात बालबालिकाको नामकोश’ (२८ राई, लिम्बू, कोँयच (सुनुवार) र याक्खा भाषामा) । दोस्रो कृतिको भूमिकामा संस्कृतिविद् सत्यमोहन जोशीले लेख्नु भएको छ– ‘.. आफ्नो जातीय संस्कार र संस्कृतिको चिनारी र विशेषता तथा मातृभाषाको श्रीशोभा दर्शाउने नामको महत्व ज्यादै ठूलो हुने गर्दछ । प्रस्तुत नामकोशभित्रका नामहरू अध्ययन गर्दै जाँदा किराती राई, लिम्बू, सुनुवार र याक्खा समाजमा विद्यमान अमूर्त संस्कृति (इन्टान्जिबल कल्चर)को अमूल्य भण्डार विश्व ब्रह्ममाण्डदेखि लिएर प्रकृतिसम्म (फ्रम कस्मोलोजी टु नेचर) ओगटेको देखापर्दछ । यो नै यस नामकोशको महान् उपलब्धि भएको छ ।’
यसैगरी बैरागी काइँलाले लेख्नु भएको छ– ‘विगत २ सय ४० वर्ष बढी समयदेखि राज्य एकभाषीक नीतिका कारणले पनि खस नेपाली भाषाको बढ्दो प्रचलन र प्रभावमा हाम्रा आफ्ना र स्थान नामहरू पनि खस नेपालीकृत भएर गए । यसरी सांस्कृतिक र भाषिक विचलन आएर भाषा लोपको प्रक्रियाले अस्तित्वमाथि नै संकट उत्पन्न भएको छ । यस अवस्थाले संत्रस्त भएका हामी, अस्तित्व रक्षाका लागि मात्र भएपनि जन्मने बालबालिकाको नाम मातृभाषामा राखेर भाषा र संस्कृतिको संरक्षण अभि बढ्ने जमर्को गर्नु पर्ने भएको छ ।’
अनुसन्धाता चन्द्रकुमार राई ‘हतुवाली’ यी दुई नामकोश प्रकाशित भएपछि समाजमा सकारात्मक प्रभाव परेको बताउनु हुन्छ । ‘नेपालमा मात्र होइन, जहाँ जहाँ किरातीहरूको बसोबास छ, त्यहाँ यी किताबको खोजी र मौलिक नाम राख्ने पहल हुँदैआएको छ । र अरु समुदायमा पनि स्रोत पुस्तकका रूपमा लिने गरिएको छ ।’
किन मौलिक नाम राख्ने त ? भन्ने सवालमा लेखक हतुवाली भन्नुहुन्छ– ‘भाषा बचाउँछ । भाषाको प्रचार प्रसार हुन्छ । नामको अर्थ विद्यालयको कक्षा कोठामा खोजी हुन्छ । अरुले अर्थपूर्ण रहेको थाहा पाउँछन् । सरकारी कागजातमा अभिलेखीकरण हुन्छ र पुस्तौं पुस्तासम्म रहन्छ । र राज्यसत्तामा जस्तोसुकै निरंकुश शासक आएपनि नागरिकको नाम परिवर्तन गर्न सक्दैन । पाउँदैन ।’
अन्तमा, यही पुस्तकको भूमिकामा उनै भाषावैज्ञानिक प्रा.डा. राईले भन्नुभएको छ– ‘मलाई प्रष्टै थाहा छ, मेरो पहिचानले अरुका पहिचानलाई कुनै प्रकारको बाधा–विरोध पुग्दैन । बरु अरुका पहिचानले मलाई सामाजिक सम्बन्ध गर्नमा मद्दत पु¥याउँछ । यो मेरो दृढ विश्वास हो ।’ अर्थपूर्ण नामसहित बाँच्नु अनि समुदायलाई अघि डो¥याउनु हरेक सामाजिक अभियन्ताको कर्तव्य हो । हरेक बाबु–आमा सचेत रहेर आफ्नो सन्तानको न्वारन गर्द मौलिक अर्थपूर्ण नाम राखिदिनु र त्यही मर्मलाई बुझेर लामा, गोम्पो, पण्डित, नाक्छोङ, होम, गुरुहरू अघि बढ्नु आजको आवश्यकता हो । हरेक, जातीय संघसंस्थामार्फत् सकारात्मक पहल गर्नु उत्तिकै जरुरी छ ।