एआइपीपीद्वारा मलेसिया र थाइलैण्डको दुइ गाउँलाई उदाहरणीय आदिवासी गाउँ घोषणा, आदिवासीको आत्मनिर्णयको अधिकारमा नमूना 

Admin
Admin१७ कार्तिक २०८०, शुक्रवार
एआइपीपीद्वारा मलेसिया र थाइलैण्डको दुइ गाउँलाई उदाहरणीय आदिवासी गाउँ घोषणा, आदिवासीको आत्मनिर्णयको अधिकारमा नमूना 

एशियाका आदिवासीहरुको साझा संस्था एशियन इन्डिजिनियस पिपुल्स प्याक्ट (एआइपीपी)ले आदिवासीको भूमि, भूभाग तथा त्यस क्षेत्रमा प्राकृतिक स्रोतको संरक्षण गर्ने ज्ञान प्रणालीलाई अभ्यास गरिरहेको मलेसियाको  सवाहस्थित काइउ नुलुह र थाइलैण्डको चियाङराइस्थित हिन्लाड नाइ गाउँलाई आदिवासी स्वशासन प्रबद्र्धन गर्ने उत्कृष्ठ गाउँका रुपमा घोषणा गरेको छ । 

एआइपीपीका  कार्यक्रम संयोजक निना साङ्माका अनुसार ती गाउँका आदिवासीहरुले त्यहाँ वातावरणमैत्री प्रकृति, साँस्कृतिक सम्पदाको संरक्षण र स्वशासनको अभ्यासका लागि नमूना बनेको छ । 
उहाँले एक प्रेस नोट जारी गर्दै ती नमूना गाउँप्रति गर्व महसुश भएको उल्लेख गर्नू भएको छ । उहाँले आदिवासीको अधिकार, संस्कृतिको संरक्षण, आपसी समझदारी तथा सहयोगको क्षेत्रमा उत्कृष्ठ कदम भएको पनि जनाउनु भएको छ । 

एआइपीपीले आदिवासीको भूमिमा परम्परागत वातावरणीय न्यायका क्षेत्रमा  प्रथाजन्य परम्परागत ज्ञान प्रणालीका आधारमा गरिने दीगो अभ्यासलाई प्रबद्र्धन गर्ने नीति बनाएको छ । सोही अनुसार मलेसिया र थाईलैण्डका ती गाउँ नमूना गाउँका रुपमा सम्मान सहित प्रबद्र्धन गर्ने जनाएको छ । 

एआइपीपी एशियाका १४ वटा मुलुकका आदिवासी जनजातिहरुको साझा संस्था हो । एआइपीपीका महासचिव ग्याम सिम्रेले यही बिषयमा एक प्रेस बक्तव्य जारी गर्दै आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र लोकतान्त्रिकरण कार्यक्रमको सन्चालन र सामुदायिक प्रोटोकलको पहल गर्ने क्रममा उत्कृष्ठ नमूना गाउँ छनोट गर्दै जाने बताउनु भएको छ ।  

यो अभियानले आदिवासीको भूमि, भूभाग र भूक्षेत्रका स्रोत र आत्मनिर्णयको अधिकारलाई पुनस्थापित गरी आगामी पुस्तालाई हस्तान्तरण गर्ने योजना भएको बताउनु भएको छ । विश्व समुदायले लामो समयदेखि आदिवासी जनजातिले भूमिको व्यबस्थापन, प्राकृतिक स्रोत, वातावरण संरक्षणको ज्ञान तथा आध्यात्मिक विश्वासका आधार खोजी रहेको पृष्ठभूमिमा उपरोक्त आदिवासीहरुको सिकाईबाट धेरै कुरा सिक्न सकिने बताउनु भएको छ ।  

विद्यमान समयमा सबैभन्दा ठूलो चुनौतिका रुपमा उपस्थित भएको जलवायु परिवर्तनको प्रभावलाई न्युनीकरण गर्न र अनुकुलन गर्न आदिवासीको परम्परागत भूमिमा भएको अभ्यासलाई अग्रपङ्तीमा भेट्टाउन सक्ने बताउनु भएको छ । 

थाइलैण्डको हिन् लाड नाइ गाउँ  ‘मु’ नामक प्रथाजनित संस्थाका आधारमा चल्ने गरेको छ । जहाँ प्राकृतिक स्रोतको संरक्षण गर्ने आफनै प्रकारको नीति र प्रथाजन्य कानुन सक्रिय रहेको छ । 
यसै गरी मलेसियाको काइउ नुलुहमा  पनि त्यहाँका आदिवासीहरुले स्वशासनको असल अभ्यास गरीरहेका छन् । 
 

प्रतिक्रिया