“किराती कुलुङ संस्कार-संस्कृति” पुस्तक विमोचन, आयोगका अध्यक्षसंग सूचीकरणको माग

Admin
Admin५ असार २०८०, मङ्गलवार
“किराती कुलुङ संस्कार-संस्कृति” पुस्तक विमोचन, आयोगका अध्यक्षसंग सूचीकरणको माग

काठमाडौं, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ ९कुलु गुस्खम० केन्द्रीय समितिद्वारा प्रकाशित “किराती कुलुङ संस्कार(संस्कृति” (कूलू रिदूम होदूम) पुस्तक कुलु गुस्खमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विमोचन गरेको छ ।

कुलु गुस्खमका केन्द्रीय अध्यक्ष चन्द्र सिंह कुलुङको अध्यक्षतामा संचालित विमोचन कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगरको प्रमुख आतिथ्यता, संखुवासभा निर्वाचन क्षेत्र नं। १ का प्रदेशसभा सदस्य माननीय राजेन्द्र कार्कीको विशिष्ट आतिथ्यता र अन्य विशेष व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

विमोचित पुस्तक कुलुङ जातिको संस्कार संस्कृति, सभ्यता र पहिचानसँग जोडिएर तयार गरिएको हो । वि.सं. २०६३ र २०६५ सालको कुलुङ पू्र्खाहरुको सम्मेलन र २०७८ सालको विचार गोष्ठीद्वारा पारित गरिएको एउटा ऐतिहासिक दस्तावेज रहेको गुस्खमका महासचीव दिपेन्द्र थोरेप्पाले जानकारी दिएका छन् ।

आफ्नो छुट्टै भाषा, छुट्टै संस्कृति, परम्परागत भुमि, सामाजिक संरचना, लिखित वा अलिखित इतिहास भएको कुलुङ जातिलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सूचीकरण नगरेर २२ वर्षदेखि कुलुङ जातिमाथि विभेद गर्दै आईरहेको उपस्थित वक्ताहरुले आयोगका अध्यक्ष  एवम् प्रमुख अतिथि रामबहादुर थापा मगरसमक्ष चर्को गुनासो व्यक्त गरेका छन् ।

विभिन्न स्थानीय तह जस्तैः सिलीचोङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, खादबारी नगरपालिका लगायतका थुप्रै पालिका स्तरमा कुलुङ जाति सूचीकरण भईसकेकोले अब आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा यथाशीघ्र सूचीकरण गर्नुपर्ने विभिन्न पालिकाका अध्यक्षहरुको भनाइ रहेको छ ।

गुस्खमका सचिव अजय अलङकार कुलुङले संचालन गरेको कार्यक्रममा महासचिव दिपेन्द्र थोरेप्पाले स्वागत मन्तव्य र उपाध्यक्ष लाकपद सोम्फोरुले पुस्तकको प्रकाशकीय पढेर कार्यक्रमको शुरूवात गरेका थिए । यसैगरी वक्ताहरु कुलु गुस्खम उपत्यका समितिका अध्यक्ष घनश्याम कुलुङ, मानवशास्त्री तथा समाजशास्त्री कमान सिं कुलुङ, आदिवासी किरात महासंघका अध्यक्ष धिरेन बाहिङ, सिलीचोङ गाउँपालिकाका पुर्व अध्यक्ष राम ब। कुलुङ र हालको अध्यक्ष भुपाल राज मेवाहाङ, महाकुलुङ गाउँपालिकाका पुर्व अध्यक्ष सागर किराँती र हालको अध्यक्ष सुर्य मान्थेर्बु कुलुङले राज्यले तत्काल कुलुङ जातिको मागलाई सम्बोधन गरि सूचीकरण गर्नुपर्नेमा आयोगका अध्यक्ष राम बहादुर थापा मगरको ध्यानाकर्षण गराएका हुन् ।

प्रा.डा. ओम गुरुङको संयोजकत्वमा गठित सुची परिमार्जन उच्चस्तरीय कार्यदलले २५ जाति सिफारिस गरेको मध्ये राणा थारु सहित हाल प्रतिष्ठानमा ६० आदिवासी रहेको छ । राणा थारुसंगै कुलुङ जाति पनि सिफारिसमा परेर पनि हालसम्म सरकारले सूचीकरण नगरेकोले कुलुङ जातिमाथि विभेद भएको बताउदै प्रदेश सभा सदस्य एवम् कार्यक्रमका विशिष्ट अतिथि माननीय राजेन्द्र कार्कीले आफुले सक्दो प्रदेश सरकार र संघिय सरकारसंग पहलकदमी लिने विश्वास व्यक्त गरेका छन् ।

विमोचन कार्यक्रममा बोल्नु हुँदै आयोगका अध्यक्ष राम बहादुर थापा मगरले किराती कुलुङ धर्म, संस्कृति र संस्कारलाई अझ नजिकबाट बुझ्न यस पुस्तकले महत्त्वपूर्ण मद्दत गर्नेछ भन्दै उनले कार्यक्रममा अन्य वक्ताहरूले औँल्याएका समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको र सूचीकरणको समस्यालाई समाधान गर्नको लागि अब तत्काल सबैसंग छलफल गरेर निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया