लोप हुँदै कुसुण्डा भाषा, संस्कृति

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ कार्तिक २०७२, आइतवार
एक मात्र कुसुण्डा भाषा बक्ता ज्ञानीमाया कुसुण्डा

धनबहादुर कुसुण्डा

कुसुण्डा समुदाय बनमा राज्य गर्ने भएको हुँदा हामीलाई बनको राजा भनेर चिनिन्छ । बन जंगलमा बस्ने, गिट्ठा भ्याकुर खाने जाति हो यो । कुसुण्डाको वास्तविक पेशा भनेको जंगलमा सिकार गर्ने हो । बनका कालिजदेखि पाहा लगायत मार्ने, खाने चलन हो । हामी कुसुण्डाहरु कालिज जिउँदै पासोमा पारेर गाउँघरमा लैजाने र पैसा, अन्न संग साट्ने गर्छौ ।

किम्वदन्ती अनुसार आफ्नै राज्य भएको बेला अरु समुदायका मान्छेले हाम्रो राजा मारी दिए । यसले गर्दा हामी बन जंगलबाट बिस्तारै बिस्थापित हुन पुग्यौ । राउटे जनजाति हाम्रा रैती हुन् । उनीहरुलाई रैती भन्दा भन्दै पछि राउटे भन्न थालिएको हो । हामी रैतीहरुलाई पनि साथै लिएर बिस्थापित भएका हौं । हामीलाई अरुले भेट्छ कि भनेर लुकेर बस्ने भएको हुँदा हामीलाई पछि कुसुण्डा भनिएको हो ।

हामी कुसुण्डाहरु बन जंगलबाट बिस्थापित भएपछि हाम्रो आफ्नो संस्कार, संस्कृति परिवर्तन भएको छ । हाम्रा समुदायका मानिसहरु गाउँ, सहर बजारतिर छरिन थाले । जंगलमा पर्याप्त खानेकुरा नपाइनाले बिस्तारै यस्तो गरेर हुँदो रहेनछ भनेर उनीहरु कमाई खानको लागी जङ्गल छाडेका हुन् ।

किम्वदन्ती अनुसार आफ्नै राज्य भएको बेला अरु समुदायका मान्छेले हाम्रो राजा मारी दिए । यसले गर्दा हामी बन जंगलबाट बिस्तारै बिस्थापित हुन पुग्यौ । राउटे जनजाति हाम्रा रैती हुन् । उनीहरुलाई रैती भन्दा भन्दै पछि राउटे भन्न थालिएको हो ।

हाम्रो चाडपर्व अरुसंग पनि मिल्छ । बिशेषत मंसीर पुर्ने, बनस्पति पुजा, देवी पुजा, बनसंग रमाउने भएको हँुदा हामीले धेरै जस्तो बन पुजा गर्ने गर्छौ । केटी मान्छेले पोथी र केटा मान्छेले भाले पुजा गर्ने गर्छौं । हामीले गोबर छुँदैनौ, दही, दुध खाँदैनौ । सुन पानी र सालको परालको धुप हाल्ने परम्परा छ । यसरी नै रमाउने, बनमा बस्ने, आफन्त बोलाएर हामीले चाडपर्व मनाउने गरेका छौं ।

समय क्रम अनुसार आफ्नो संस्कार नै हरायो, पुर्खाहरु हराउँदै गए । यसरी हामी अन्य समाजमा बस्न बाध्य भएकाले पनि दशैं तिहार मनाउन बाध्य भएका हौ । सरकारबाट दशैंको लामो विदा गरेर हिन्दुकरण गरिएकोले पनि  दशैं तिहार मनाउन बाध्यता आइ परेको हो । हाम्रा बाल बच्चाहरु पनि अव मौलिक भन्दा आयातित संस्कृतिमा रमाइ रहेको देख्दा दुःख लाग्छ । हाम्रो भाषा हराएको देख्दा दुःख लाग्छ । ज्ञानीमाया कुसुण्डा एक मात्र कुसुण्डा भाषा बक्ता हुन् ।

नेपाल कुसुण्डा समाजका अध्यक्ष धनबहादुर कुसुण्डासंग वार्तामा आधारित

प्रतिक्रिया