आङ्काजी शेर्पालाई रिहाइ गर्न देश विदेशबाट माग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ भदौ २०७२, सोमवार
आङ्काजी शेर्पालाई रिहाइ गर्न देश विदेशबाट माग

काठमाडौ
नेपाल आदिवासी जनजाति महासंघका पूर्व तथा संघीय समाजवादी फोरमका नेता महासचिव आङकाजी शेर्पालाई छापामार शैलीमा पक्राउ गरिएकोमा देश विदेशमा विना शर्त रिहाइ गर्न माग गरिएको छ ।

शेर्पालाई रिहाका लागि दवाव दिन भदौ २२ गते राजधानीमा मंगलबार चक्काजाम गरिदैछ । पूर्व राजदूत डा. गणेश योञ्जनको संयोजकत्वमा बौद्धका स्थानीयबासीले शेर्पालाई ससम्मान रिहा गर्न माग गर्दै १ घण्टा चक्काजाम गर्दैछन् । साइबर क्राइमको आरोपसहित थुनामा राखिएका शेर्पाको पक्षमा बेलुकी ४ बजे देखि ५ बजेसम्म पासाङ ल्हामु चोक, चुच्चेपाटीदेखि जोरपाटी चोकसम्म चक्काजाम गरिने आयोजकहरुले जनाएका छन् ।

यसैगरी आदिवासी जनजाति महासंघ मलेसिया शाखाका अध्यक्ष दीपक तामाङद्वारा जारी विज्ञप्तिमा पनि शेर्पालाई विनाशर्त रिहाइ गर्न माग गरिएको छ ।

सिन्धुलीमा पनि रिहाइको माग

सिन्धुलीमा क्रियाशिल आदिवासी जनजाति संघ÷संस्थाले प्रहरी हिरासतमा रहेका आदिवासी जनजाति अधिकारका अभियन्ता आङ्काजी शेर्पालाई विना शर्त रिहाइ गर्न माग गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीद्वारा सिन्धुलीमाढीमा भदौ २१ गते आयोजित संविधान निर्माण र आदिवासी जनजातिको सवाल विषयक साक्षत्कार कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव काजीमान थिङले उत्पीडित समुदायको आक्रोश विगतको विभेदकारी राज्य व्यवस्थाको उपज भएको बताए । नयाँ संविधानमा उनीहरुले खोजेको अधिकार सुनिश्चित भएमात्र आदिवासी जनजातिको आक्रोश मत्थर हुने पनि थिङले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ, सिन्धुलीका निवर्तमान अध्यक्ष एवम् नेकपा एमाले सिन्धुलीका सचिव सूर्य पाख्रिनले ‘अखण्ड सुदुरपश्चिम आन्दोलनले जे मागे त्यही पाइने, अखण्ड वाग्लुङ्गले जे मागे त्यही पाईने तर थारु र मधेशीले अधिकार माग्दा गोली पाए’ यो नै वर्तमान राज्यको कमजोरी हो ।

एनेकपा माओवादीका नेता सुरद स्याङ्तानले विगतमा प्राप्त आधिकारसमेत संविधानको नयाँ मस्यौदामा हटाइएकोले उत्पीडित समुदाय आक्रोशित हुनु परेको धारणा राखे । कानुन व्यवसायी अधिवक्त द्वोय सुशिला थिङ र ओमराज तामाङले कानुनी व्यवस्थाहरु शक्ति अनुकुलतामा व्याख्या र विश्लेषण गर्नले पनि समस्या आएको बताए ।

प्रतिक्रिया