नेपाल योल्मो महिला संघद्वारा आयोजित १० दिने भाषण तथा उद्‌घोषण तालिम सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ वैशाख २०८३, मङ्गलवार
नेपाल योल्मो महिला संघद्वारा आयोजित १० दिने भाषण तथा उद्‌घोषण तालिम सम्पन्न

नेपाल योल्मो महिला संघको आयोजनामा सञ्चालित १० दिने भाषण तथा उद्‌घोषण तालिम शनिबार सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिम गत चैत १९ गतेदेखि सञ्चालन भई माकलबारीस्थित एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो।

संघका अध्यक्ष फुर्पा साङ्मो लामाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सन्ननी लामाको प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा अतिथिहरूलाई खादा ओढाएर स्वागत गर्दै आसन ग्रहण गराइएसँगै औपचारिक सुरुवात गरिएको थियो।

कार्यक्रममा संघका उपाध्यक्ष लामो लामाले स्वागत मन्तव्य राख्दै तालिमले महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक वक्तृत्व क्षमतामा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो। प्रमुख अतिथि रिसालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने बौद्ध परम्परा अनुसार ‘टाशी गेपा’ (अष्टमंगल) प्रार्थना गर्दै कार्यक्रम सफलताको कामना गरिएको थियो।

तालिममा सहभागीहरूको तर्फबाट माइली लामाले मन्तव्य व्यक्त गर्दै तालिम अत्यन्त उपयोगी र व्यवहारिक रहेको बताउनुभयो। उहाँले सिकेका सीपहरूलाई समुदायमा प्रयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

समापन अवसरमा प्रमुख अतिथि लामा र अध्यक्ष लामाद्वारा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, तालिमका प्रशिक्षक अनिता विन्दु मयामूलाई विशेष धन्यवादसहित सम्मान गरिएको थियो।

प्रमुख अतिथि लामाले यस्ता तालिमले महिलाहरूलाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, स्थानीय तहले यस्ता कार्यक्रमहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष फुर्पा साङ्मो लामाले उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै संघले योल्मो महिलाहरूको क्षमता विकास, सचेतनामूलक कार्यक्रम तथा अधिकारका सवालमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो।

संघका महासचिव मोना लामाका अनुसार तालिममा करिब तीन दर्जन प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। योल्मो महिला तथा किशोरीहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमले व्यक्तित्व विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

 

प्रतिक्रिया