नयाँ नेतृत्व छनौट गर्ने एजेन्डा सहित नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनको चैत ५ गते अपरान्ह नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमाको सभा भवनमा उद्घाटन कार्यक्रम तय भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिबेशन आयोजक समितिका अध्यक्ष गेल्जे लामा शेर्पाले सो जानकारी दिनु भएको हो ।
महाधिबेशको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने कार्यक्रम रहेको महासंघले जनाएको छ । राष्टप्रमूखबाट नेपाल आदिवासी जनजाति महासंघको महाधिबेशन उद्घाटन कार्यक्रम भएको यो पहिलो पटक हो ।
महाधिबेशनले अध्यक्ष सहित २१ जनाको सचिवलय गठन निर्वाचित गर्ने छ । महासंघको बिधान अनुसार अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (महिला ३ अनिवार्य), महासचिव १, उपमहासचिव १, विभागीय÷विषयगत सचिव ८ (महिला ४ अनिवार्य) र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी २१ जना निर्वाचित गर्ने प्रावधान छ ।
नेपाल आदिवासी जनजाति महासंघमा ५६ जातीय संस्थाले संगठन सदस्यता प्राप्त गरेका छन् ।
यस महाधिबेशनमा अध्यक्षको दावेदारका रुपमा चार जनाले प्रचार अभियान सुरु गर्नू भएको छ । अध्यक्षका प्रमूख दावेदारहरुमा सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, पूर्व प्रदेश मन्त्री समेत रहनु भएका निमा ह्योल्मो, किरात राइ यायोक्खाका अध्यक्ष जीवन हातोछा राई र छन्त्याल संघका पूर्व अध्यक्ष मोहन छन्त्याल हुनु हुन्छ ।
महासंघको विधान अनुसार सचिवालय सदस्य बन्न सदस्य संगठनले मात्र पाउने छन् । र त्यस्तो संगठनमा रहेका कुनै पादधिकारी वा केन्दीय सदस्यका एक कार्यकाल काम गरिसकेको हुनु पर्ने छ ।
यस अघि अध्यक्ष-महासचिव पदमा एक पटक निर्वाचित भइसकेका सदस्य संगठन (जाति) बाट उक्त पदहरूमा उम्मेदवारी दिन नपाउने विधानमा उल्लेख छ । यस अनुसार महासंघको अध्यक्षमा तामाङ, लिम्बु, कुमाल, थारु र शेर्पाले दावी गर्न नसक्ने पवधान रहेको छ ।
महाधिबेशनको कार्यक्रम अनुसार चैत ५ गते बिहान राजधानीको भृकुटीमण्डपबाट आदिवासी जनजाति समुदायका विभिन्न जातीय पोशाक, सांस्कृतिक झाँकी, नाचगान तथा र्यालीसहितको विशाल नगर परिक्रमा गरिनेछ ।
नगर परिक्रमा भृकुटीमण्डपबाट सुरु भई भद्रकाली मन्दिर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल र घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।
महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ तय गरिएको छ ।
महाधिवेशनको बन्द सत्र चैत ६ गते काठमाडौंको स्वयम्भू स्टार ब्याङ्केटमा हुने महासंघले जनाएको छ । बन्द सत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद सदस्य, जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने अपेक्षा गरिएको छ ।
महाधिवेशनलाई सफल बनाउन महासंघले विभिन्न उपसमिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, खाद्य तथा आवास, आर्थिक व्यवस्थापन, लजिस्टिक, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् ।
२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो ।महासंघले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ ।








