कर्नेल विश्वविद्यालयका प्राध्यापक द्वय डेभिड होल्मवर्ग र क्याथरिनको तामाङ समुदायबाट अभिनन्दन 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ फागुन २०८२, बुधवार
कर्नेल विश्वविद्यालयका प्राध्यापक द्वय डेभिड होल्मवर्ग र क्याथरिनको तामाङ समुदायबाट अभिनन्दन 

संयुक्त राज्य अमेरिकास्थित कर्नेल विश्वविद्यालयका प्राध्यापकद्वय डा. डेभिड होल्मवर्ग र डा.क्याथरिन एस मार्चको तामाङ समुदायबाट एक समारोहका बीच अभिनन्दन  गरिएको छ । 

नेपाल तामाङ घेदुङ, तामाङ अध्ययन प्रतिष्ठान र अन्तराष्टिय तामाङ परिषदद्वारा राजधानीमा आयोजित एक समारोहका बीच प्राध्यापकद्वयको अभिनन्दन गरिएको हो । 

नेपालका आदिवासी जनजातिमा सूचिकृत तामाङ जातिबारे अध्ययन गरी तामाङ र नेपालको  चिनारी विश्व माझ पु¥याएको भन्दै उहाँहरुको उच्च प्रशंसा गरिएको थियो । 

अभिनन्दित प्राध्यापकद्वयलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति  भूपाल राईले अभिनन्दन पत्र हस्तान्तरण गर्नु भएको थियो । उहाँहरुलाई तामाङपरम्परा अनुसार ताम्वा संघ लगायतले खादामाला लगाएर डम्फु उपहार प्रदान गर्नू भएको थियो । 

आजभन्दा ५० बर्ष अगाडि नुवाकोटको मानेगांङ्गमा तामाङ जातिको इतिहास, जीविकोपार्जन तथा साँस्कृतिक पक्षको अध्ययन गरी डेभिड होल्मवगले  र महिलाको लैगिकताबारे क्याथरिन एस मार्चले विद्यावारिधि उपाधि प्राप्त गर्नु भएको थियो । 

अभिनन्दन समारोहमा उहाँहरुको विद्यावारिधि सोधका लागि सूचना संकलनमा सहयोग गर्नु हुने सूर्यमान तामाङको पनि सम्मान गरिएको थियो ।

भाषविद् अमृत योञ्जन तामाङले समारोहमा जानकारी गराए अनुसार प्राडा डेभिडका तीन दर्जन तामाङ सम्बन्धी आलेख तथा कृतिहरु प्रकासित छन् । उहाँको प्रमूख अनुसन्धनात्मक कृति अर्डर इन्प्यराडक्सः मिथ, रिच्युअल, अमोङ नेपालस्  तामाङ(१९८९) रहेको छ ।

अर्का अभिनन्दित प्राडा. क्याथरिन एस मार्चका इफ इच कम्स हाफवेः मिटिङ तामाङ वुमन इन नेपाल ((२००२) लगायत दुइ दर्जन जति तामाङ सम्बन्धी अनुसन्धान प्रकासित छन् । 

अभिनन्दित समारोहमा सम्बोधन गर्दै भाषविद अमृत योन्जन तामाङले उहाँहरुको ग्रन्थ र जीवनशैलीबाट धेरै सिक्न सकिने बताउनु भयो । उहाँहरुले नेपालका एकदर्जन विद्यार्थीलाई कर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गराएको र उहाँहरु नेपालमा आएरविशेष योगदान दिइरहेको पनि जानकारी दिनु भयो । 

डेभिड दम्पत्तिले नेपालमा कर्नेल–नेपाल संयुक्त अध्ययन कार्यक्रम, बालबालिकालाई शिक्षित बनाउ कार्यक्रम लगायत अनेकौ काम गर्नू भएको पनि भाषविद् अमृतले सुनाउनु भयो । 

तामाङ समुदायमाथि ऐतिहासिक अन्याय 

कार्यक्रममा अभिनन्दन हुनु भएका कर्नेल विश्वविद्यालयका प्राध्यापक डा.डेभिड होल्मवर्गले आफुले ५० बर्ष अघि अनुसन्धान गर्दा तामाङ समुदाय माथि ऐतिहासिक रुपमा अन्याय र विभेद रहेको पाएको बताउनु भयो । 

‘तामाङहरु माथि राणा शासनले रकम (कर प्रणाली) लागु गरेको र त्यसको भारले थिचिएका थिए’, प्राध्यापक डेभिडले भन्नु भयो –‘आफुले पालेको गाइ, बस्तु भाउको घिउ बुझाउनु पर्ने, खारा (निशल्क श्रम) मा जानु पर्ने, थाप्ले हुलाकी (भारी बोक्ने काम) गर्नू पर्ने तामाङ जातिको बाध्यता थियो ।’

उहाँले नुवाकोटको मानेगाँग र बुङताङको अनुसन्धान एक प्रारम्भ मात्र भएको बताउँदै नयाँ पुस्ताले नयाँ खोज ल्याउन सक्ने अपेक्षा पनि गर्नू भयो । 

अर्का अभिनन्दित बक्तित्व सोही बिश्वविद्यालयका प्राडा.क्याथरिन एस मार्चले आफ्नो अनुसन्धानकालमा कसैले पनि आफुलाई तामाङ भन्ने नगरेको यथार्थ सुनाउनु भयो । 

‘हामीले अनुसन्धान गर्दा तामाङले आफनो परिचय तामाङ भनेर दिदैन थिए । उहाँहरु कसैले घले भन्थे, गुरुङभन्ने गर्दथे, तामाङ भन्न लजाउथे ।’  प्राडा क्याथरिनले समारोहमा थप्नु भयो–‘तामाङ पहिचान दिन लजाउने अवस्था थियो । तर अहिले गर्वका साथ तामाङ भन्न थाल्नु विकासको फड्को हो ।’

तामाङ समाजका म्हेन्दोमाया जस्तो प्रथाजन्य परम्पराहरु लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै असल अभ्यासहरुको संरक्षणमा समुदायको साझा प्रयास हुनु पर्नेमा उहाँले जोड दिनु भयो । 

उहाँले सो अवसरमा तामाङ अध्ययनका लागि दुइहजार डलर सहयोगको घोषणा गर्नू भयो । त्यसै गरे आफनो अध्ययनमा प्रयोग भएका सामाग्रीहरु र अन्य कागजातहरु तामाङ अध्ययन प्रतिष्ठानका लागि उपलव्ध गराउने घोषणा गर्नू भयो । 

कार्यक्रममा सरिक हुनु भएका समाजशास्त्री डा. कृष्ण भट्टचनले मानवशास्त्र उपनिवेशलाई मलजल गर्ने कलंकित विषय बन्दै गएको टिप्पणी गर्दै क्याथरिन र डेभिडजस्ता मानवशास्त्रीहरु यो कलंकबाट अलग रहनु भएको बिचार व्यक्त गर्नु भयो । उहाँले क्याथरिन दम्पत्तिले तामाङ समुदाय र नेपालको आदिवासीलाई धेरै गुन लगाएको बताउनु भयो । उहाँहरु शरीरले तामाङ नभए पनि कर्मले उहाँहरु तामाङ भएको बताउँनु हुँदै उहाँका योगदानका कथ्यलाई डम्फु गीत गाएर समाजलाई सुनाउन आग्रह गर्नू भयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले तामाङ इतिहास लेख्य परम्परा विस्तारै विकास भइरहेको बताउनु हुँदे देशको माटो, खोला र डाँडाकाँडामा आदिवासीको इतिहास बाँकी रहेको बताउनु भयो । उहाँले यतिधेरै योगदान दिने क्याथ्रिन दम्पत्तिको राष्ट्रले सम्मान गर्नु पर्नेमा पनि जोड दिनु भयो । 

तामाङ समाजमा लामा, बोन्वोको विरोधाभाषलाई प्राडा डेभिड र क्याथ्रिनले दर्शनका रुपमा विश्लेषण गरेर विश्वलाइ बौद्धिक रुपमा परिचित गराउनु भएको विश्लेषण गर्नू भयो । 

अध्यक्षको आसनबाट डा. मुक्तसिहले आफनो गुरुहरुको सम्मान गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै उहाँको पथमा लागि रहने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त गर्नू भयो । 

सो अवसरमा नेपाल तामाङ घेदुङ महासभिव जगत लामा दोङले स्वागत मन्तव्य र अन्तराष्टिय तामाङ परिषदका महासचिव टाँसी लामा तामाङले धन्यबाद ज्ञापन गर्नू भएको थियो । 
 


 

प्रतिक्रिया