समिर कुलुङ
काठमाडौँको टोखा नगरपालिका क्षेत्रमा आदिवासी जनजातिहरूले परापूर्वकालदेखि प्रयोग गर्दै आएको परम्परागत ज्ञानका आधारमा उत्पादन हुँदै आएको कोदोको जाँडलाई प्रहरीले नष्ट गर्नु अत्यन्तै निन्दनीय र घोर भत्र्सनायोग्य कार्य हो । यो घटना केवल एक परम्परागत पेय पदार्थमाथिको हस्तक्षेप मात्र नभई आदिवासी जनजातिहरूको आत्मसम्मान, संस्कृति, रैथाने ज्ञान र पहिचानमाथिको प्रत्यक्ष आक्रमण हो ।
कोदोको जाँड आदिवासी जनजातिहरूका लागि साधारण मदिरा होइन । यो उनीहरूको जीवनशैली, सामाजिक सम्बन्ध, धार्मिक अनुष्ठान, चाडपर्व, अतिथि सत्कार र सामुदायिक पहिचानसँग गहिरो रूपमा गाँसिएको सांस्कृतिक प्रतीक हो । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञान प्रयोग गरी तयार गरिने यो जाँड आदिवासी जनजातिहरूको मौलिक ज्ञान प्रणाली ( Indigenous Knowledge System ) को महत्वपूर्ण हिस्सा हो । यसलाई व्यावसायिक रूपमा उत्पादन गर्नु उनीहरूको जीविकोपार्जनको माध्यमसमेत हो ।
वर्तमान जेन्जी सरकारले अपनाएको दमनकारी कार्यशैलीले आदिवासी जनजातिहरूको संस्कार र परम्परामाथि गम्भीर हस्तक्षेप गरेको देखिन्छ । बिना पर्याप्त संवाद, सहमति र वैकल्पिक व्यवस्था परम्परागत उत्पादन नष्ट गर्नु राज्यसत्ताको मनोमानी प्रयोग हो, जसले आदिवासी जनजातिहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिएको स्पष्ट सन्देश दिन्छ ।
नेपालले स्वीकार गरिसकेको अन्तर्राष्ट्रिय कानुनहरू यस प्रकारका कार्यविरुद्ध स्पष्ट छन्। अन्तर्राष्ट्रिय श्रम संगठन ( ILO ) को महासन्धि १६९ ले आदिवासी जनजातिहरूलाई आफ्नो संस्कार संस्कृति, परम्परा, जीवनशैली र परम्परागत जीविकोपार्जन कायम राख्ने अधिकार सुनिश्चित गरेको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघीय आदिवासी जनजाति अधिकार सम्बन्धि घोषणापत्र (ग्ल्म्च्क्ष्ए) ले आदिवासी जनजातिहरूलाई आफ्नो सांस्कृतिक अभ्यास, परम्परागत रैथाने ज्ञान र स्रोतहरूमाथि नियन्त्रण र संरक्षण गर्ने अधिकार दिएको छ ।
नेपालको संविधान २०७२ ले पनि आदिवासी जनजातिहरूको भाषा, लिपि, संस्कार संस्कृति, सांस्कृतिक सभ्यता र परम्परागत ज्ञानको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ । यस्ता कानुनी र संवैधानिक प्रावधान हुँदाहुँदै पनि राज्य संयन्त्रबाटै परम्परागत ज्ञान र अभ्यासलाई अपराधीकरण गर्नु गम्भीर विरोधाभास विषय बनेको छ ।
कोदोको जाँडमाथिको राज्य दमन र हस्तक्षेप केवल एक समुदायमाथिको समस्या होइन, यो सम्पूर्ण बहुसांस्कृतिक नेपाली समाजको मौलिकता र विविधतामाथिको खतरा हो । यदि आज कोदोको जाँड नष्ट गरिन्छ भने, भोलि अन्य आदिवासी संस्कार, संस्कृतिक परम्परा र ज्ञान पनि राज्यको दमनको सिकार बन्न सक्दैन भन्न सकिन्न ।
यसैले राज्यले दमन होइन, संवाद, सहअस्तित्व र सम्मानको नीति अवलम्बन गर्न आवश्यक छ । आदिवासी जनजातिहरूको परम्परागत ज्ञानलाई अपराध होइन, राष्ट्रिय सम्पत्ति मानेर संरक्षण र व्यवस्थापन गर्ने दिशामा अघि बढ्नुपर्छ । कोदोको जाँड केवल जाँड होइन—यो आदिवासी जनजातिहरूको इतिहास, संस्कृति, आत्मसम्मान र पहिचानको प्रतीक हो ।









