कोदोको जाँडः केवल मदिरा होइन, आदिवासी जनजाति पहिचान प्रतीक हो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ माघ २०८२, शुक्रवार
कोदोको जाँडः केवल मदिरा होइन, आदिवासी जनजाति पहिचान प्रतीक हो

समिर कुलुङ

काठमाडौँको टोखा नगरपालिका क्षेत्रमा आदिवासी जनजातिहरूले परापूर्वकालदेखि प्रयोग गर्दै आएको परम्परागत ज्ञानका आधारमा उत्पादन हुँदै आएको कोदोको जाँडलाई प्रहरीले नष्ट गर्नु अत्यन्तै निन्दनीय र घोर भत्र्सनायोग्य कार्य हो । यो घटना केवल एक परम्परागत पेय पदार्थमाथिको हस्तक्षेप मात्र नभई आदिवासी जनजातिहरूको आत्मसम्मान, संस्कृति, रैथाने ज्ञान र पहिचानमाथिको प्रत्यक्ष आक्रमण हो ।
कोदोको जाँड आदिवासी जनजातिहरूका लागि साधारण मदिरा होइन । यो उनीहरूको जीवनशैली, सामाजिक सम्बन्ध, धार्मिक अनुष्ठान, चाडपर्व, अतिथि सत्कार र सामुदायिक पहिचानसँग गहिरो रूपमा गाँसिएको सांस्कृतिक प्रतीक हो । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञान प्रयोग गरी तयार गरिने यो जाँड आदिवासी जनजातिहरूको मौलिक ज्ञान प्रणाली ( Indigenous Knowledge System ) को महत्वपूर्ण हिस्सा हो । यसलाई व्यावसायिक रूपमा उत्पादन गर्नु उनीहरूको जीविकोपार्जनको माध्यमसमेत हो । 

वर्तमान जेन्जी सरकारले अपनाएको दमनकारी कार्यशैलीले आदिवासी जनजातिहरूको संस्कार र परम्परामाथि गम्भीर हस्तक्षेप गरेको देखिन्छ । बिना पर्याप्त संवाद, सहमति र वैकल्पिक व्यवस्था परम्परागत उत्पादन नष्ट गर्नु राज्यसत्ताको मनोमानी प्रयोग हो, जसले आदिवासी जनजातिहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिएको स्पष्ट सन्देश दिन्छ ।
नेपालले स्वीकार गरिसकेको अन्तर्राष्ट्रिय कानुनहरू यस प्रकारका कार्यविरुद्ध स्पष्ट छन्। अन्तर्राष्ट्रिय श्रम संगठन ( ILO ) को महासन्धि १६९ ले आदिवासी जनजातिहरूलाई आफ्नो संस्कार संस्कृति, परम्परा, जीवनशैली र परम्परागत जीविकोपार्जन कायम राख्ने अधिकार सुनिश्चित गरेको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघीय आदिवासी जनजाति अधिकार सम्बन्धि घोषणापत्र (ग्ल्म्च्क्ष्ए) ले आदिवासी जनजातिहरूलाई आफ्नो सांस्कृतिक अभ्यास, परम्परागत रैथाने ज्ञान र स्रोतहरूमाथि नियन्त्रण र संरक्षण गर्ने अधिकार दिएको छ ।

नेपालको संविधान २०७२ ले पनि आदिवासी जनजातिहरूको भाषा, लिपि, संस्कार संस्कृति, सांस्कृतिक सभ्यता र परम्परागत ज्ञानको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ । यस्ता कानुनी र संवैधानिक प्रावधान हुँदाहुँदै पनि राज्य संयन्त्रबाटै परम्परागत ज्ञान र अभ्यासलाई अपराधीकरण गर्नु गम्भीर विरोधाभास विषय बनेको छ ।

कोदोको जाँडमाथिको राज्य दमन र हस्तक्षेप केवल एक समुदायमाथिको समस्या होइन, यो सम्पूर्ण बहुसांस्कृतिक नेपाली समाजको मौलिकता र विविधतामाथिको खतरा हो । यदि आज कोदोको जाँड नष्ट गरिन्छ भने, भोलि अन्य आदिवासी संस्कार, संस्कृतिक परम्परा र ज्ञान पनि राज्यको दमनको सिकार बन्न सक्दैन भन्न सकिन्न ।

यसैले राज्यले दमन होइन, संवाद, सहअस्तित्व र सम्मानको नीति अवलम्बन गर्न आवश्यक छ । आदिवासी जनजातिहरूको परम्परागत ज्ञानलाई अपराध होइन, राष्ट्रिय सम्पत्ति मानेर संरक्षण र व्यवस्थापन गर्ने दिशामा अघि बढ्नुपर्छ । कोदोको जाँड केवल जाँड होइन—यो आदिवासी जनजातिहरूको इतिहास, संस्कृति, आत्मसम्मान र पहिचानको प्रतीक हो ।

 

प्रतिक्रिया