केबलकार विरुद्धको मुक्कुमलुङ आन्दोलन पुनः सुरुगर्ने श्रृंखलाबद्ध कार्यक्रम घोषणा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ पुष २०८२, शुक्रवार
केबलकार विरुद्धको मुक्कुमलुङ आन्दोलन पुनः सुरुगर्ने श्रृंखलाबद्ध कार्यक्रम घोषणा

मुक्कुम्लुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन गर्ने घोषणा गरेको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रिय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनलाई अझ सशक्त बनाउन चरणबद्ध कार्यक्रम घोषणा गरेको हो ।

समितिका अनुसार मुक्कुम्लुङ संरक्षणका लागि लगातार ६ वर्षदेखि जारी आन्दोलनको बीचमा राज्य र केबलकार पक्षले जबर्जस्ती केबलकार निर्माणको प्रयास जारी राखेकाले आन्दोलनलाई थप प्रखर बनाउन कार्यक्रम सार्वजनिक गरिएको हो । मुक्कुमलुङ संरक्षण संघर्ष समितिका संयोजक श्रीप्रसाद लिङ्खिमले प्रेस वक्तव्य वाचान गर्दै आन्दोलन गर्ने जानकारी दिनुभयो । संयोजक लिङ्खिमले राज्यले आदिवासी लिम्बुहरुको आस्थाको धरोहर मुक्कुमलुङमाथि निर्माम तरिकाले प्रहार गर्दै आईरहेको आरोप लगाउनुभयो । उहाँले व्यापारिक फाईदाका लागि लिम्बुहरुले आफ्नो भूमि कुनैपनि हालतमा नदिने बताउनुभयो । 

अर्का लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वाले मुक्कुमलुङबाट केबरकार जुनैपनि हालतमा हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले मुक्कुमलुङ आन्दोलनका क्रममा झुटा आरोप लगाई थुनमा राखेकाहरुलाई राज्यले रिहा गर्नुपर्ने र मुक्कुमलुङमा खटाईएका सशस्त्र प्रहरीलाई हटाउनुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो “राज्यले मुक्कुमलुङ आन्दोलनलाई कमजोर पार्न मुद्धामामिला झुटा आरोप लगाएर अपराधीकरण गरेको छ ।” थप्दै भन्नुभयो “केबलकारवालाहरुलाई कार्वाही गर्नुपर्छ  आन्दोलन हामी जुनैपनि हालतमा गर्छौँ भन्नुभयो ।”

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले मुक्कुमलुङ संरक्षण लगायत आदिवासीका पहिचानजनित मुद्धाहरु समेटने एजेण्डा ल्याउने दलहरुले मात्र आगामी निर्वाचनमा उम्मेद्वार भएर आउन आग्रह गर्नुभयो । उहाँले आदिवासीका मुद्धालाई नबोक्ने नेतृत्वलाई कुनैपनि हालतमा आफ्नो क्षेत्रमा प्रवेश नगर्ने समेत चेतावनी दिनुभयो । 

यसैगरि सो पत्रकार सम्मेलनमा इन्डिजिनियस जेन्जी कलेक्टिवसका साङ्केन राईले एक जातिय राज्यसत्ताले पशुपतिलाई महत्वका साथ बजेट विनियोजन गरि संरक्षण गरिरहँदा लिम्बुहरुको आस्थाको केन्द्र मुक्कुमलुङलाई किन वेवास्था गरि व्यापारि फाइदाकोलागि दिईरहेको भनेर प्रश्न गर्नुभयो । 

संघर्ष समितिले मुक्कुम्लुङ क्षेत्रको संरक्षण, केबलकार परियोजना खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुम्लुङ क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी फिर्ता, आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेजी तथा राज्य र केबलकार पक्षबाट भएका मानवअधिकार उल्लंघनका दोषीमाथि कारबाहीको माग दोहो¥याएको छ ।

घोषित कार्यक्रमअनुसार २०८२ साल पुस १८ गते पत्रकार सम्मेलन गरी आन्दोलनको औपचारिक घोषणा गरिएको छ । पुस २२ गतेदेखि ताप्लेजुङका विभिन्न स्थान तथा देशभरका जिल्लामा भेला र छलफल सञ्चालन गरिने समितिले जनाएको छ ।

माघ १२ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरका विभिन्न स्थान-फलिङ, गणेशचोक, फेदेन, राँके, इलाम, फिकल, भेडेटार, धरान, बेलबारी, दमक, विर्तामोड, मेयाङ्लुङ, धनकुटा र खाँदवारी लगायत क्षेत्रमा कोणसभा आयोजना गरिने छ । माघ १४ गतेदेखि सो क्षेत्रमा विरोध प्रदर्शन तथा सचेतना कार्यक्रम गरिने प्रेस विज्ञप्तीमा उल्लेख छ ।

माघ १६ गते फुङलिङमा जनप्रदर्शन र कोणसभा, माघ १७ गते आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सम्मान, माघ १८ गते हाक्पारे (कान्छीथान) देखि मुक्कुम्लुङ माड्यान स्थलसम्म धागो टाँग्ने कार्यक्रम र माघ १९ गते मुक्कुम्लुङ क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभा गरिने जनाएको छ ।

यस्तै माघ २० गतेदेखि माघ अन्त्यसम्म विभिन्न जिल्लास्तर, गाउँपालिका, नगरपालिका, वडा तथा समुदायस्तरमा गठन भएका संरक्षण समितिहरूको सुदृढीकरण, विस्तार र सशक्तीकरण अभियान सञ्चालन गरिनेछ । सो अवधिभर संरक्षण, केबलकार खारेजी, सशस्त्र प्रहरी फिर्ता, मुद्दा खारेजी र मानवअधिकार उल्लंघनका दोषीमाथि कारबाहीको एजेन्डालाई निर्वाचनसमेतको बहसमा लैजाने अभियान निरन्तर चलाइने समितिले स्पष्ट पारेको छ ।

सो पत्रकार सम्मेलनमा पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावती, किरात राई यायोक्खाका अध्यक्ष जिवन हाताचो राई जेन्जी अभियन्ता उपार्जन राईलगायतले ताप्लेजुङ अर्थात मुक्कुमलुङमा बन्ने केबलकार विरुद्धको आन्दोलन जुनसुकै हालतमा पनि सफल पर्ने बताउनुभयो । 

 

प्रतिक्रिया