प्रथाजनित संस्था ह्युलठिमलाई मान्यता दिने गरी स्थानीय कानुन निर्माण गर्ने घोषणा 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ पुष २०८२, बिहिवार
प्रथाजनित संस्था ह्युलठिमलाई मान्यता दिने गरी स्थानीय कानुन निर्माण गर्ने घोषणा 

आदिवासी ह्योल्मोहरुको प्रथाजनित संस्था ह्युलठिमलाई मान्यता प्रदान गर्न स्थानीय कानुन निर्माण हुने भएको छ । 

ह्योल्मो आदिवासीहरुको थातथलो रहेको हेलम्बु गाउँपालिकाले आगामी गाउँसभाबाट कानुन निर्माण गर्ने सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले सो घोषणा गर्नु भएको हो ।
इन्डिजिनियस टेलिभिजनको अन्तरक्रियात्मक कार्यक्रम निरन्तर बहसमा बोल्दै अध्यक्ष ह्योल्मोले सो प्रतिवद्धता जनाउनु भएको हो । 

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल, रसुवा र  नुवाकोटमा ह्योल्मोहरुको सघन वस्ती भएपनि हेलम्बु गाउँपालिका ह्योल्मोहरुको मूल थाकथलो हो । 

ह्योल्मोहरुले विशिष्ट प्रथा, परम्परा र प्रथाजनित कानुनको अभ्यास यही ह्युलठिम मार्फत गर्नेे गर्दछन् । 

‘हाम्रो परम्परालाई निरन्तरता दिनका लागि ह्युलठिम लगायत सम्पूर्ण सामाजिक, साँस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि स्थानीय कानुन आवश्यक देखियो ।’ अध्यक्ष ह्योल्मोले आफनो भनाई राख्ने क्रममा भन्नु भयो –‘यही माघमा हुने गाउँसभामा पेश गर्ने गरी कानुन निर्माण गर्छौ । सबै समुदायको मर्म र भावना समेटेर कानुन वनाउने काम हुन्छ ।’

यस अघि नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)का उपाध्यक्ष अधिवक्ता शंकर लिम्बुले आदिवासीलाई पहिचानसहित बाच्न पाउँने अधिकार दिएको भएता पनि हाम्रो भूमिको अधिकार, प्रथाजनित व्यवहारलाई संरक्षण गर्ने कानुनको अभाव भएको बताउनु भएको थियो । ‘आदिवासीको भूमि छ, परम्परात संस्था पनि छ, तर क्रमश मासिदै गएको छ ।’ अधिवक्ता लिम्बूले जोड दिदै थप्नु भयो –‘आफ्नै घर नजिकको स्थानीय सरकारलाई संरक्षण गर्ने अधिकार पनि छ । तर यसको कार्यन्वयन हुन सकेको छैन ।’

कार्यक्रममा ल्हासाका लागि पूर्व नेपाली महावाणिज्यदूत विनोद लामा ह्योल्मोले आदिवासी ह्योल्मोको पहिचानका लागि धेरै संघर्ष गर्नू परेको सुनाउँनु हुँदै  ह्युलठिमलाई कानुनी मान्यता दिन ढिलाई गर्न नहुने बताउनु भयो ।

नेपाल ह्योल्मो समाज सेवा संघकी अध्यक्ष रेन्जेन डोल्मा ह्योल्मोले पनि आदिवासी ह्योल्मोको प्रथा परम्पराको संरक्षण गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो । 

कार्यक्रममा नेपाल ह्योल्मो महिला संघकी अध्यक्ष किन्जोओमु ह्योल्मोले प्रथाजनित संस्था जोगाउन समुदायका महिलाको भूमिकाबारे प्रकाश पार्नू भएको थियो । 

यस अघि आफनो प्रस्तुति राख्दै आदिवासी अधिकारकर्मी टाशी ह्योल्मोले ह्युलठिमको अभ्यासबारे जानकारी दिनु भएको थियो । उहाँले ह्युलठिमले प्राकृतिक स्रोतको व्यबस्थापन, मेलमिलाप र न्यायसम्पादन गरिरहेको जानकारी दिनु भयो  । 

उहाँले  बौद्ध धर्मावलम्बी ह्योल्मोहरुको भूमिलाई सातौ शताव्दी तिर नै ‘भेह्युल’ अर्थात गुप्त भूमिको उपमा दिएको ऐतिहासिक अवस्थालाई स्मरण गर्दे  ह्योल्मो भूमि पवित्र धार्मिक स्थल रहेको र पछिल्लो समयमा अतिक्रमण बढेको बताउनु भयो ।

यस अघि नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप), नेपाल ह्योल्मो महिला संघ र ह्योल्मो सञ्चार समूह समेतको संयुक्त आयोजनामा  ‘ह्योल्मो समुदायको परम्परागत भूमि तथा वन व्यवस्थापन र संस्थागत संरचनाका बारेमा कानुनी सचेतना’ कार्यक्रम  आयोजना भएको थियो । 

कार्यक्रममा अधिवक्ता लिम्बूले आदिवासी अधिकार सम्बन्धी संवैधानिक, कानुनी र  अन्तराष्ट्रिय कानुन बारे जानकारी गराउनु भएको थियो । 

सो कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पेम्वा लामा, वडा नम्बर १ का वडा अध्यक्ष दावा ग्याल्जेन ह्योल्मो, गोकणेश्वर नपरपालिकाका कार्यपालिका सदस्य पासाङ वाङ्चु ह्योल्मो

समेतले ह्योल्मो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रले पारेको प्रभाव बारे वोल्नु भएको थियो । उहाँहरुले ह्योल्मोहरुको नागरिकता र पहिचानमा समस्या भएको बताउनु भयो ।

चार आदिवासी अधिकारकर्मी अभिनन्दित

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह (लाहुर्निप), नेपाल ह्योल्मो महिला संघ र ह्योल्मो सञ्चार समूहसमेतको आयोजनामा भएको कार्यक्रममा लाहुर्निपका उपाध्यक्ष शंकर लिम्बुसमेत चार आदिवासी अधिकारकर्मीलाई ह्योल्मो समुदायबाट  अभिनन्दन र सम्मान गरिएको छ । 

सम्मानित हुनेहरुमा इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङ, हेलम्बु गाउपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र ल्हासाका लागि पूर्व महावाणिज्यदूत  विनोद ह्योल्मो हुनुहुन्छ । 

सञ्चारकर्म मार्फत आदिवासी ज्ञान, आदिवासीको प्रथाजनित संस्था र भूमि, भूभाग र भूक्षेत्रको अधिकार पुनस्थापनामा विशेष योगदान दिएको भन्दै यात्रुलाई सो सम्मान गरिएको हो । 

यसैगरि सम्मानित लिम्बु संयुक्त राष्ट्रसंघिय मानव अधिकार सम्बन्धि उच्च आयुक्तबाट समेत पुरस्कृत हुनु भएको छ । उहाँ आदिवासीको मानवअधिकार उलंघन विरुद्ध निःशुल्क कानुनी सहायता प्रदान गर्दै आउनु भएको छ । 

नेपाल ह्योल्मो समाज सेवा संघकी अध्यक्ष रेन्जेन डोल्मा ह्योल्मोको समेत उपस्थितिमा भएको कार्यक्रममा ह्योल्मोजन्य प्रथाजनित संस्थाका प्रतिनिधिका रुपमा लामा, गोवा, च्यिवालगायतको उपस्थिति थियो । 

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस