शेर्पा कलाकार संघद्वारा आयोजित निशुल्क नृत्य तथा गायन प्रशिक्षण सुरु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ भदौ २०८२, बिहिवार
शेर्पा कलाकार संघद्वारा आयोजित निशुल्क नृत्य तथा गायन प्रशिक्षण सुरु

शेर्पा कलाकार संघको आयोजनामा नृत्य तथा गायन प्रशिक्षण सुरु भएको छ । संघले शेर्पा किशोर किशोरीको प्रतिभा उजागर गर्न निशुल्क नृत्य प्रशिक्षण तालिम गत साउन २५ गतेबाट संचालन गरेको हो । 

गायन प्रशिक्षण भने भदौ १ गतेबाट सुरु भएको हो । प्रशिक्षण आगामी मंसिरसम्म तीन महिना संचालन हुने शेर्पा कलाकार संघकी अध्यक्ष पाल्मु शेर्पाले जानकारी दिनुभएको छ ।  

शेर्पा समुदायमा गायन र नृत्य विधामा कलाकारको अभाव भएकोले यो प्रशिक्षण सुरु भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘शेर्पा समुदायमा कलाकारीता क्षेत्रमा दक्ष व्यक्तित्वहरुको अभाव छ, त्यसैले नयाँ कलाकार उत्पादनलाई विशेष जोड दिँदै संघले नृत्य तथा गायन तालिम राखेको हो ।’ प्रशिक्षणका लागि विशेषगरि किशोर किशोरीहरुलाई लक्षित गरेर कार्यक्रम संचालन भईरहेको उहाँले बताउनुभयो । 

शेर्पाले म्युजिक भिडियोहरुमा शेर्पा नृत्यकलाकारहरुको कमीले गर्दा अन्य समुदायमा भर पर्नुपरेकोले शेर्पा समुदायबाटै सक्षम र मेहेनती नयाँ कलाकार जन्माउन यसखाले प्रशिक्षण दिन आवश्यक भएकोले प्रशिक्षण भईरहेको जोड्नुभयो । 

नृत्यतर्फ प्रशिक्षार्थीहरु ३० जना रहेका छन् भने गायनमा पनि ३० जनाको सहभागिता रहेको छ । 

नृत्य प्रशिक्षण नयाँबस्तीस्थित युवा कल्बमा रहेको सिएस डान्स स्टुडियोमा  र यसैगरि गायन प्रशिक्षण जोरपाटीस्थित संगित साधन कला केन्द्रमा भईरहेको उहाँले जानकारी दिनुभयो । 

प्रशिक्षण लिईरहेका प्रशिक्षार्थीहरुलाई तीन महिने नृत्य तथा गायन तालिम दिईसके पश्चात थप क्षमता विकासका लागि एडभान्स तहको तालिम समेत सञ्ंचालन गर्दै लैजाने अध्यक्ष शेर्पाले बताउनुभयो । 

शेर्पा कलाकार संघ २०७५ सालमा स्थापित संस्था हो । कलाकारिता क्षेत्रमा लागेका व्यक्तिहरुको हकहित र क्षमता विकाससंगै कलाकारहरुको अधिकार स्थापित गर्न संघको जन्म भएको हो । यस संस्थाले कलाकारिता क्षेत्रका प्रतिभा उजागरका लागि विविध कार्यक्रमहरु गर्दै आईरहेको छ ।  

 

 

प्रतिक्रिया