बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रदेश कानुन कार्यान्वयन गरिसकेको जानकारी दिनु भएको छ ।
मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार मनाउन विहिबार राजधानीको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सो जनकारी दिनु भएको हो ।
’अब प्रदेशको सबै कार्यालयमा तामाङ भाषामा साइनबोर्ड लेखिनेछ । लेटरप्याड तामाङ र नेपाल भाषामा बन्नेछ ।‘ मूख्यमन्त्री लामाले भन्नुभयो –’संसदमा तामाङ भाषामा बोल्ने माननीयको लागि अनुवादकको व्यवस्था गरिएको छ । अब नेपाली र नेवारी भाषा मात्र जान्नेका लागि पनि प्रदेशबाट सेवा प्रभाव हुनेछ ।‘
नेपाल तामाङ घेदुङ र नेवाः देय् दबुसँग सहकार्यका लागि एक÷एक करोड बजेट पनि विनियोजन भएको जानकारी दिनु हुँदै बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनका लागि मन्त्रीपरिषदको बैठकबाट विशेष निर्णय समेत भएको बताउनु भयो । छ ।
उहाँले सो अवसरमा ल्होछार मनाउने सबै विधि र प्रकृयाअनुसार एकदिने सरकारी बिदा पर्याप्त नभएको बताउनु भयो । ‘ल्होछार मनाउने सबै विधि र प्रकृयाअनुसार एकदिने सरकारी बिदा प्रयाप्त छैन,’ मुख्यमन्त्री लामाले भन्नुभयो– ‘ल्होछार टुँडिखेललमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घर घरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन । तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन । ल्होछारलाई सार्वजनिक महत्व र कार्यक्रम भन्दा पनि घरभित्रको पर्वको रुपमा स्थापित गर्न समस्त तामाङ समुदायमा आह्वान गर्न चाहान्छु ।’
मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उहाँ सम्बोधन गर्दै हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङ भाषा कार्यान्वयनमा भने ढिलाई भइरहेको गुनासो गर्नू भयो । ’नेवार समुदायको मन्त्री शैलेन्द्य्रमान बज्रचार्यले तामाङ भाषालाई प्रदेशको भाषा बनाउने पहल गर्नुभयो । त्यसैले उहाँलाई हामीले वर्ष व्यक्तिका रुपमा घोषणा ग¥यौ । अब यो कार्यान्वयनको जिम्मा तामाङ मुख्यमन्त्रीको काँधमा आएको छ,’ अध्यक्ष गोलेले थप्नु भयो –’तर ढिला भइरहेको छ कार्यान्वयनमा ।’
मुल आयोजक समारोहका संयोजकसमेत रहनु भएका गोलेले काठमाडौंको बोझेनी प्रकरण र आशिका तामाङ पक्राउ प्रकरणबारेसमेत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले तामाङ समुदायको उपस्थिति बढाउन सबैले लामा र थरको साटो तामाङ लेख्नुपुर्न सुझाव दिनु भयो । १३ वटा जिल्लामा जनजाति ५६ प्रतिशत छन् । तामाङहरु ३३ प्रतिशत । हामी ४० प्रतिशत पुग्थ्यौं । नेताहरुले नै तामाङ लेखेनन् । तामाङहरु नेपाल अधिराज्यभरमा एक नम्बर जनजाति हुन सक्थ्यो । तर हामीले रुम्बा, मोक्तान, गोले लेख्दा त्यो अन्यमा गयो,’ उर्जा राज्यमन्त्री तामाङले भन्नु भयो ।
उहाँले नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङ एक हुनुपर्नेसमेत सुझाव दिनु भयो । अर्को बर्ष दुई संस्था एक भएन भने तामाङ कार्यक्रममा सहभागी नहुने पनि चेतावनी दिनु भयो ।
कार्यक्रममा बाग्मती प्रदेशका पूर्व संस्कृति मन्त्री शैलेन्द्रमान बज्रचार्यलाई घेदुङले वर्ष व्यक्तिको रुपमा सम्मान गरेको थियो । बज्रचार्यककै पालामा तामाङ भाषाले बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता पाएको हो ।
कार्यक्रममा नेपाल सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिका सदस्य फूलमान वल, गायक मानबहादुर तामाङ, हिमाल आरोही सिद्धिबहादुर तामाङ, कराते खेलाडी सागर मोक्तान, सहायक महिला प्रशिक्षक सिता तामाङ र प्रदेश प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम परिषद्, बागमती प्रदेशका प्रमुख कार्यकारी निर्देशक डा शान्ति लामालाई सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमपछि टुँडिखेलमा चर्चित गायकगायिकाको प्रस्तुति जारी रहेको छ । ल्होछारको पहिलो दिन मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको थियो । दोस्रो दिन बुधबार टुँडिखेलमा तामाङ बोम्बोहरुद्धारा विशेष पुजापाठ, फापरे ह्वाई प्रस्तुत, घोडचढी र माने नाच सम्पन्न गरिएको थियो । बुधबार नै ल्होछार साँझ अर्थात डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षलाई बिदाई गरि नयाँ वर्षलाई स्वागत गरिएको थियो ।