ताप्लेजुङ जिल्लास्थित पवित्र मुन्धुमीस्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको शिलन्यास गर्ने क्रममा परियोजना निर्माण विरुद्ध आन्दोलनरत स्थानीय र निर्माणपक्षधर विच झडप भएको छ ।
झडपका क्रममा मुक्कुमलुङ संरक्षणका अभियन्ता चन्द्र मादेनको टाउको फुटेको र हात भाच्चीएको र अर्जुन लिम्बु माथि धारिलो खुकुरी प्रहार भएको जनाइएको छ ।
कार्तिक २३ गते निर्माणकर्ताहरु पाथीभरा केवलकार निर्माणको शिलन्यास गर्न डोजरसहित, स्थानीय प्रशासन, राजनीतिक दल र सुरक्षाकर्मीस्थल पुगेका बताइएको छ ।
केवलकार निर्माणको नाममा भएको आक्रमण र प्रहरी ज्यादतीको निन्दा गर्दै, आन्दोलनरत मुक्कुम्लुङ संयुक्त संघर्ष समिति, मुक्कुम्लुङ केवलकार खारेजी संघर्ष समिति तथा प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै दोषीहरुलाई सरकारले तुरुन्त पक्राउ गरी कानूनी कारवाही गर्न माग राखेका छन् । साथै घटनाको जिम्मेवारी केवलकार निर्माणकर्ता र स्थानीय प्रशासनले लिनुपर्ने र घाइतेहरूको सम्पूर्ण उपचार तथा क्षतिपूर्ति पनि व्यहोर्न पर्ने माग समेत राखेका छन् ।