चाम्लिङ भाषामा साहित्य लेख्ने क्रम बढ्दो, मातृभाषाविना पहिचान नजोगिने भनाई

Admin
Admin३० फागुन २०८०, बुधवार
चाम्लिङ भाषामा साहित्य लेख्ने क्रम बढ्दो, मातृभाषाविना पहिचान नजोगिने भनाई

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको मातृभाषा साहित्य शृङ्खला अन्तर्गत यस साता चाम्लिङ भाषामा साहित्य बिषयमा विमर्स भएको छ ।

कार्यक्रममा चाम्लिङ राईभाषाका अध्येता तिलक चाम्लिङले 'चाम्लिङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन ,पाठयपुस्तक प्रकाशन ,पत्रपत्रिका प्रकाशन,सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका बारेमा चर्चा गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उद्घाटन गर्नु हुँदै प्रत्येक भाषाको महत्व समान हुने वताउनु भयो । उहाँले चाम्लिङ भाषाका अध्येता तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ’चाम्लिङ भाषाको साहित्य ’ निक्कै पठनीय र स्तरीय रहेको बताउनु भएको थियोे ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठान प्रत्येक मातृभाषाको उत्थान र प्रवद्र्धन गर्न लागि परेको बताउनु हुँदै मातृभाषाविना बाँच्न र जिउन कठिन हुने बताउनुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा भनेको आफ्नै आमाको भाषा भएकाले हामीआफैँ जागृत हुनुपर्ने बताउनुभएको थियोे ।
उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट बयानसिंह राई, डा. सोमबहादुर धिमाल र मानबहादुर राईले पुरक विचार राख्नुभएको थियोे ।

कार्यक्रममा मैथिली भाषामा बिजेता चौधरी ,बायुङ राई भाषामा वसन्त बायुङ राई, दुमी राई भाषामा प्रयास दुमी राईले कविता वाचन गर्नुभएको थियो । यस कार्यक्रमको सहजीकरण प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।

 

प्रतिक्रिया