कमजोर हुँदै गएको माघेसंक्रातिको महिमा

Admin
Admin१ माघ २०८०, सोमवार
कमजोर हुँदै गएको माघेसंक्रातिको महिमा

डा. मीन श्रीस

माघेसंक्राति र साउनेसंक्राति खासगरी याम अर्थात ऋतु (season) परिवर्तनसँग सम्बन्धित चाड हो । उँभौली (गर्मी) यामको प्रारम्भमा पिहलो चाडको रुपमा माघेसंक्राति तथा उँधौली (जाडो) यामको प्रारम्भमा पिहलो चाडको रुपमा साउनेसक्राति मनाउने गरिन्छ । सौर्य तिथिका हिसाबले माघ महिनाको पहिलो दिन सूर्य मकर रेखामा प्रवेश गर्दछ । यो दिन पृथ्वीको उत्तरी गोलार्धमा वर्षभरिको सबैभन्दा छोटो दिन, लामो रात र न्यून तापक्रम हुन्छ । माघेसंक्रातिकै दिनदेखि सूर्यले मकर रेखा (tropic या capricorn) बाट उत्तर कर्कट रेखा (tropic of cancer) तर्फको यात्रा प्रारम्भ गर्ने भएकाले दिन लामो, रात छोटो र तापक्रम बृद्धि हुँदै जान्छ । सूर्य उत्तरायणको समयावधि अर्थात माघेसंक्रातिदेखि असार मसान्तसम्मको अवधिलाई उँभौली वा गर्मी याम भनिन्छ । उँभौलीको प्रारम्भमा प्राचीनकालदेखि नै मगरात सभ्यतामा माघेसंक्राति मनाउने चलनको विकास भएको बुझिन्छ । मगर समाजमा यो चाडलाई माघेसंक्राति, माघ्यासंक्राति , माघेसंकराइ, मिनाम ल्हेस आदि नाम दिइएको पाइन्छ ।

र्वी पाल्पा, तनहूँ लगायतका मगर बस्तीहरूमा माघेसंक्रातिकै दिन कौर्हा नाचको विधिवत थालनी गरिन्छ । रुकुम र रोल्पातिरको मगर समाजमा डाँफे र मयुरको आख्यानमा आधारित डाम्फ्या स्याई (झोराल्नी वा जोरा स्याई) नृत्यगीत प्रस्तुत गरिन्छ । माघेसक्रातिको साँझ बूढापाकाहरू भेला भएर स्याम्बो भाका गीत गाउने गर्दछन् ।

माघेसंक्रातिमा धनुवाण तथा सिकार खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कण्दमुल संकलन गर्ने र सिस्नो खेल्ने परम्पराले सिकारी तथा फल–कन्दमूल संकलन युग (hunting gathering age) को झल्को दिन्छ भने झोप्ल्यानी (बारीमा उम्रेका जौंका मुना) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर पशुपालन र कृषि युगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । सिकारी युगको अन्त्यतिर पशुपालन तथा कृषि कर्म गरेर स्थायी रुपमा बसोबासको जीवनशैली (sedentary life) अपनाएपछि मगर जातिले माघेसक्राति चाड मनाउने चलनको थालनी गरेको बुझिन्छ ।


लोकजीवनमा चाडवाडहरू विशेषगरी श्रमको समाप्तिपछि र देवदेवीहरूसँग सम्बन्धित घटनाहरूका आधारमा प्रचलनमा आएका हुन्छन् । हरेक चाडवाडमा सम्बन्धित जाति वा समुदायका आ–आफ्नै खाले धार्मिक मूल्य र मान्यताहरू जोडिएका हुन्छन् । मगर जातिको परम्परागत धार्मिक विश्वास कुनै व्यवस्थित वा लिखित दर्शनमा आधारित नभएर स्थानीय स्तरमा विकसित मान्यता, विश्वास, अभ्यास र प्रचलनहरूको परम्परा भएकाले आफ्नो परिवार, कुल वंश र समाज कल्याणभावको केन्द्रीयतामा अडेको हुन्छ । अधिकांश पूजाहरू उर्वरशक्ति र पितृदेवहरूसँग नै अन्तरसम्बन्धित रहेकाले उनीहरूको धार्मिक दर्शन देहात्मवादी वा जडात्मवादी (animism) र झांक्रीवादी (shamanism) मान्यतामा आधारित रहेको देखिन्छ ।

कुलपितृहरू सकारात्मक शक्ति वा इष्टशक्ति हुन् भन्ने विश्वास गरिन्छ । त्यसैले माघेसंक्रातिको विहानै स्नान गरी घरआँगन सरसफाई गरेपछि कुलपितृलाई धूप, दीप, जल, ध्वजा र प्रसाद चढाएर सुख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको निम्ति आराधना गरिन्छ । यस कार्यमा चेलीवेटीहरूको पनि उत्तिकै भूमिका रहन्छ । त्यसपछि चेलीवेटीहरूलाई सिधा दान गरिन्छ । गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा माघेसंक्रातिको विहानै घरमुलीले खोला वा पँधेरामा गएर स्नान गरी केराको पातमा एक–एक मुठी चामल र मासको दाल, अदुवाको टुक्रा, सिद्रा, फलफूल र जामहान (जाँड) सात ठाउँमा राखेर धूपदीप सहित पितृलाई चढाउने चलन छ, जसलाई ‘मुठी याहाके’ (मुठी दिने) वा ‘डी डाके’(पानी चढाउने) भनिन्छ । व्यक्तिगत वा पारिवारिक रुपमा गरिने पितृपूजाका अतिरिक्त गाउँटोलका सबै घरधुरी मिलेर सामुहिक पितृपूजा पनि गरिन्छ । काह्राङ्च पूजा (ठूलो पूजा) नामले गरिने यस्तो पूजामा झांक्री विधिबाट बाजेबजैको थानमा सुँगुर, बोका र कुखुरा बलि चढाइन्छ (वराल मगर, २०५०स् १२५ र थापा मगर, २०७३स् ९–१०) ।

रुकुम, रोल्पा र पश्चिम वागलुङका मगर समाजमा छोरीचेलीहरूले विहान स्नान गरी बारीमा उम्रेका झोप्ल्यानी (जौंको वोट) र दहीचामलको सेतो टीकाले पँधेरो, धुरीखाँबो र अगेना पुजेपछि आफ्ना बाबाआमा, काका, दाजुभाइ, भदैभदेनीलाई पनि टीका र झोप्ल्यानी लगाइदिन्छन् । त्यसपछि बाबाआमा र दाजुभाइले छोरीचेली तथा दिदीवहिनीहरूलाई दहीचामलको सेतो टीका र झोप्ल्यानी लगाइदिएर मिसरा (तरुल, पिंडालु, सखरखण्ड, रोटी, चामल, सिमी, पैसा आदि) दिएर पुज्ने गर्दछन् (बुढा मगर, २०७४स् १) । दाजुभाइले स्नान गरी कुलपितृलाई पुजेपछि केही नखाई घरका चेलीहरूलाई पुज्ने अनि विवाहित चेलीको घरमै पुगेर मिसरा दिने गर्छन् । रुकुमको झुम्लावाङ र पश्चिम वागलुङको निसीमा चेलीलाई दिइने सिधा अर्थात मिसरालाई ‘निस्रो’भन्ने गरिन्छ ।

थारु समाजमा पनि माघेसंक्राति मा चेलीवेटीलाई दिइने कोसेलीलाई ‘निसराउ’भन्ने गरिन्छ (मगर, २०६७स् ७ र सर्वहारी, २०६९स्) । मगर जातिले मनाउने माघेसंक्रातिको धार्मिक पक्ष भनेको कुलपितृ र चेलीवेटी पूजा हो । चेलीवेटी नै परम्परागत पुरेत हुने भएकाले मिसरारनिस्रो (सिधा दान) पनि उनीहरूलाई नै दिइन्छ । डोल्पाली मगर समाजमा रोला (भोजपत्र) को पातमा सेलरोटी, फर्सी, दालभात लगायतका परिकारहरू राखेर कागको पूजा गर्ने, राँको फाल्ने र सिकपाती (मोसोमा तेल राखेर बनाएको टीका) लगाएर आशीर्वाद दिने चलन रहेको छ ।

रुकुम रोल्पातिरका कतिपय गाउँका युवायुवतीहरूले माघेसंक्राति भन्दा अघि उच्च लेकाली क्षेत्रको चरनमा गएर कुलपितृलाई चढाउनका लागि फूल टिपेर ल्याउने गर्दछन् । दोलखातिरका सारु मगरहरूले माघेसंक्रातिको अवसरमा लामाझांक्री विधिबाट चार दिनसम्म कुलपितृ पूजाको कार्यक्रम चलाउने र पाहुना बोलाएर ख्वाउने गर्दछन् भने रुकुमका केही मगरहरूले पनि माघेसंक्रातिको दिन कुलपूजा गरेको पाइन्छ ।

पशुपालन र खेती किसानी गर्दा वनजंगलमा पाइने तरुल तथा खेतबारीको पिडालु, सखरखण्ड, मास, सिल्टुङ, अदुवा आदि नयाँ कण्दमूल र अन्नहरूको परिकार बनाएर पितृलाई चढाएर खाने, चेली खुवाउने र नाचगान रमाइलो गर्ने परम्परा जीवनशैली बनेको हुन्छ ।

मगर समाजमा यो चाड चार दिनसम्म (पुस मसान्तदेखि माघ तीन गतेसम्म) मनाउने चलन छ । माघ एकदेखि तीन गतेसम्मलाई जेठी, माहिली र कान्छी सक्राति भन्ने गरिन्छ । माघेसंक्रातिको अघिल्लो दिन टोलटोलमा भेला भएर मासुका लागि खसीबोका, सुँगुर, राँगा आदि काट्ने, वनमा गएर तरुल खन्ने तथा पात टिपेर ल्याई दुनाटपरी खुट्ने जस्ता गतिविधिहरू हुने गर्दछन् । गण्डकी प्रश्रवण क्षेत्रमा माघेसंक्रातिको अघिल्लो साँझ घरघरमा बारा पकाउने हुँदा युवायुवतीहरूले समूह बनाएर बारा माग्न जाने गर्दछन्, जसलाई ओह्याँ बारा गेस्के (खेल्ने) भनिन्छ ।

एउटा लामो लौरोको एक टुप्पामा कोर्को बाँधेर दैलोबाट भित्र बारा पकाइरहेको स्थानतिर छिराउने गर्दछन् । यस क्रममा एक जनाले बच्चा रोए झैं ‘ओह्याँ ओह्याँ’आवाज निकाल्ने र अरुले फकाए झैं ‘नरोऊ नानी भोकायौ हौला घरधनीले बारा दिन्छिन्’भन्ने गर्दछन् । उक्त कोर्कोमा बारा, तरुल, सखरखण्ड, रक्सी, मासु आदि राखिदिन्छन् । कोर्कोको सामाग्री कसैले नझिकोस् भनेर सिस्नेले छोपिएको हुन्छ । यसरी रातभरि घरघरमा डुलेर जम्मा गरिएको परिकारलाई कुनै एउटा घरमा बसेर खाने र नाचगान गरी रमाउने गर्दछन् । रुकुम रोल्पातिर माघेसंक्रातिको विहान चेली पुज्ने विधि सकिएपछि कन्याहरू मस्यान्द्र खेल्न जाने गर्दछन् । कतिपय गाउँमा माइतीमा आएका चेलीहरू र गाउँका अन्य चेलीहरू एक ठाउँमा भेला भएर प्रत्येक घरघरमा गएर मस्यान्द्रा खेल्ने गर्दछन् ।

यस क्रममा उनीहरूले ढोकामा गाईको गोबरले झोप्ल्यानी टाँसेपछि एकै स्वरमा ‘मस्यान्द्रा पाई कि नपाई’भन्दै भित्र पसेर घरका सदस्यहरूलाई टीका र झोप्ल्यानी लगाइदिन्छन् । तिनीहरूलाई टपरीमा चामल, फापर वा गहुँको पिठो, नून, तेल, मासु आदि खानेकुरा र पैसा दान दिइन्छ । युवाहरू भिकुरा भन्ने चराको सिकार खेल्न वनतिर जाने गर्दछन् । मस्यान्द्रा खेल्ने र सिकार खेल्नेहरू साँझपख पायक पर्ने नदी किनारमा भेला भएर जम्मा गरिएको खानेकुरा पकाएर खाने र कपडाको पुत्ला बनाई जलाउने र रैंया फोर्ने गर्दछन् जसलाई स्थानीय मगर भाषामा ‘पुतली हिप्ने’भनिन्छ । पुत्ला जलाउने र रैंया फोर्ने चलनले नारीको भेषमा पुरुष नाच्ने मारुनीको समापनलाई प्रतिविम्बित गरेको हुन्छ । साउनेसंक्रातिमा मादल फुकाएर मारुनी नाच शुरु गरिन्छ भने माघेसंक्रातिमा मारुनी समापन गरेर कौर्हा नृत्यको विधिवत थालनी गरिन्छ । त्यसैले उँभौलीका नृत्य गीत कौर्हा र घाटुमा मादल बजाइँदैन ।

पूर्वी पाल्पा, तनहूँ लगायतका मगर बस्तीहरूमा माघेसंक्रातिकै दिन कौर्हा नाचको विधिवत थालनी गरिन्छ । रुकुम र रोल्पातिरको मगर समाजमा डाँफे र मयुरको आख्यानमा आधारित डाम्फ्या स्याई (झोराल्नी वा जोरा स्याई) नृत्यगीत प्रस्तुत गरिन्छ । माघेसंक्रातिको साँझ बूढापाकाहरू भेला भएर स्याम्बो भाका गीत गाउने गर्दछन् । आफ्ना साथीहरूका घरमा पुगेर आलोपालो खानपिन गर्दै तीन चार दिनसम्म स्याम्बो गाउने गरेको पाइन्छ ।

पश्चिम वागलुङ, रोल्पा र रुकुम भेगको मगर समाजमा माघको दोस्रो दिन विवाहित चेलीलाई माइतीमा बोलाएर खुवाउने र अविवाहित छोरीचेलीहरूले आफूले माघेसंक्रातिमा पाएको मिसरा (निस्रो) लाई जान्या (वनभोज) को रुपमा खाने चलन छ । जुन घरमा मिसरा दिइएको हो सोही घरमा उक्त मिसरा खान नहुने मान्यता रहेकाले अविवाहित चेलीहरूले घर बाहिर गएर खाने चलन छ । वागलुङको निसीमा अविवाहित छोरीचेलीले प्राप्त गरेको निस्रो (एक माना चामल, तरुल, नून, खुर्सानी, दक्षिणा आदि) खानका लागि घरदेखि केही परको वर्षे गोठमा साली–भेना (मामाचेली–फुपूचेला) हरूको समूह बनाएर जाने चलन छ । वनभोजको रुपमा निस्रो खान जाने कार्यलाई ‘माघ खान’जाने पनि भनिन्छ । कुनै गाउँमा केटीहरू मात्र जान्य (वनभोज) मा जाने गरे पनि केटाहरू धनुवाण खेल्न जाने क्रममा केटीहरूले पकाएको खाना जिस्किएर खाइदिने र रमाइलो गर्ने चलन पाइन्छ ।

रुकुमको झुम्लावाङमा माघको दोस्रो दिन कन्याहरूले जान्या (वनभोज) खाएपछि साँझ गाउँको चौपारीमा भेला भएर होम्पई नाच्ने गर्दछन् । सारी, चोली, गहनाले सिंगारिएको तथा काठको टाउको र हात जोडिएको डोको भित्र पसेर युवतीहरू नाच्दछन् । चौपारीमा भेला भएका कतिपय युवायुवतीहरू झाम्रे बस्ने गर्दछन् भने कोही पिङ खेलेर रमाइरहेका हुन्छन् । होम्पई नाच समाप्त भएपछि युवा र बूढापाकाहरू पैसेरु नाच्दछन् ।

माघको तेस्रो दिन तारो हान्ने र नाचगानको कार्यक्रम सहित यो चाडको समापन गरिन्छ । स्थानीय मगर भाषामा लामुई र कोथले भनिने धनुषवाणले काठको फल्याकमा बनाइएको गोलो चिन्हमा तिर हान्ने गरिन्छ । तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई फूलपाती लगाइदिएर बाजा बजाउँदै ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’भन्ने गीत गाउदै गाउँ डुलाएर सम्मान गरिन्छ । पुरानो परम्पराअनुसार यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ ।

तारो हान्ने खेलको क्रममा कतिपय युवायुवतीहरूले गाउने र नाच्ने पनि गर्दछन् । पहिला पहिला तारो हानेर जित्ने भेनाले सालीलाई विवाह समेत गर्ने चलन थियो । पश्चिम वागलुङ निसी भेगमा माघको तेस्रो दिन पुरुषहरू विशेष खालको पोशाकमा सजिएर पञ्चेबाजाको तालमा पुतलीनाच (तरवारनाच) नाच्ने तथा मुकुण्डो लगाएर डम्फू र मादलको तालमा काइपानाच नाच्दै घरघरमा भुसा (सुर्ती) माग्न जाने चलन छ । भैलो र मारुनीमा झैं एक जनाले गाउने र अरुले छोप्ने गरिन्छ । रुकुमको कुनै भेग तथा जाजरकोटको नलगाड, भेरी, वोरकोट आदि गाउँरनगरपालिका क्षेत्रमा साली–भेना (मामाचेली–फुपूचेला) वीच सिस्नु हानाहान गरेर रमाउने चलन छ । डोल्पाली मगरहरूले माघेसंक्रातिको अवसरमा तारो हान्ने, घोडा दौडाउने र पुतली नचाउने गर्दछन् । स्थानीय डोल्पाली मगर भाषामा तीर हान्ने परम्परालाई खौमिली भनिन्छ ।

प्राचीन मगरात सभ्यतामा विकास भएको उँभौली यामको पहिलो चाड माघेसंक्रातिलाई विशेष महत्वका साथ चार दिनसम्म मनाउने परम्परा अहिले आएर हराउँदै गइरहेको देखिन्छ । पहाडबाट तराई तथा शहर केन्द्रीत बसाइँसराइँ, परम्परागत पेशा कृषि र पशुपालनमा आएको ह्रासका साथै आधुनिक प्रविधि, यातायात र सञ्चार माध्यमको विकासले गर्दा माघेसंक्रातिको महत्व कमजोर हुँदै गएको छ ।

पशुपालन र खेती किसानी गर्दा वनजंगलमा पाइने तरुल तथा खेतबारीको पिडालु, सखरखण्ड, मास, सिल्टुङ, अदुवा आदि नयाँ कण्दमूल र अन्नहरूको परिकार बनाएर पितृलाई चढाएर खाने, चेली खुवाउने र नाचगान रमाइलो गर्ने परम्परा जीवनशैली बनेको हुन्छ । तर बसाइँसराइँ र पेशामा आउने परिवर्तनले परम्परालाई कायम राख्ने वातावरण निर्माण गर्न सक्दैन । त्यसकारण स्वाभाविक रुपमा मौलिक चाडवाडहरू विस्थापित र लोपोन्मुख हुँदै जान्छन् । भिन्न परिवेश र परिस्थितिमा परम्परागत चाडवाडहरुको स्वरुप तथा शैलीमा पनि रुपान्तरित हुँदै जान्छ । वर्तमानमा माघेसंक्रातिले पनि नयाँ पुस्ताको माझमा आफूलाई परिवर्तन गरिरहेको देखिन्छ ।
(संस्कृतिविद् डा. मीन श्रीस आदिवासी जनजाति आयोगका सदस्य हुन्)

 

प्रतिक्रिया