दुई महिना मनाइएको धिमाल जातिको राष्ट्रिय पर्व जातिरि/सिरिजातको समापन 

Admin
Admin७ असार २०८०, बिहिवार
दुई महिना मनाइएको धिमाल जातिको राष्ट्रिय पर्व जातिरि/सिरिजातको समापन 

आदिवासी धिमाल जातिको राष्ट्रिय पर्व जातिरि अर्थात सिरिजात सम्पन्न भएको छ । वर्षको एकपटक मनाईने यो पर्व मोरङस्थित उर्लाबारी नगरपालिका ३ मंगलबारेमा समापन कार्यत्रमको आयोजना गरि सम्पन्न भएको हो ।

धिमालहरुको जातीय संस्था धिमाल जातीय विकास केन्द्रको आयोजनामा भएको समापन कार्यक्रममा १ नम्बर प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र राइ सहभागी हुनु भएको थियो ।  सो अवसरमा बोल्नुहुँदै राईले देशमा राजनीतिक परिवर्तन भएपनि अझै एकल नश्लबादी पुरातन सोच कायम रहेकोले समाजमा जातीय विभेद कायम रहेको बताउनुभयो । ‘अहिले जुन किसिमको जातीय विभेद छ त्यसलाई संबोधन गर्नुपर्छ ।’ उहाँले भन्नु भयो । 

यसैगरी प्रदेश नम्बर १ मा बसोबास गर्ने किरात लिम्बु समुदायले आफ्नो पहिचानलाई जोगाएर सभ्यताको निर्माण गरेको हुनाले पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने माग रहेको बताउनुभयो । 


कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले आदिवासी जनजाति अग्रजहरुको देनले गर्दा जनजाति समुदायले खुलेर आफ्नो पर्वहरु मनाउन पाएको बताउनुभयो । उँहाले स्थानीय तहले नगरभित्र बासोबास सबै जातजातिको उत्थान संरक्षणको लागि कार्यहरु गर्दै आएको पनि जोडनु भयो । स्रोत साधानको कमिले गर्दा कठिनाई भएपनि सबैलाई समेट्ने प्रयत्न स्थानीय तहको रहने प्रतिबद्धता गर्नुभयो । 

उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जातिको रुपमा सुचिकृत गरेको छ । नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेलले धिमाल जातिको पहिचानलाई संरक्षण गर्ने उद्देश्यले संस्कार संस्कृति, भाषाधर्मको उत्थानको लागि कार्यहरु भैरहेको बताउनुभयो । 

नेकपा एमाले उर्लाबारी नगर कमिटिका अध्यक्ष गंगा बास्तोलाले धिमाल जातिको आर्थिक सामाजिक र साँस्कृतिक हिसाबले उन्नती गर्ने बनाउनको लागि स्थानीय सरकार देखि जातीय संस्थाले पनि महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । 

कार्यक्रममै बोल्नुहुँदै धिमाल जातिय विकास समितिका सहअध्यक्ष कृष्ण धिमालले धिमालहरुले जातिरि पर्व वर्षमा एक चोटी मनाईने र एक महिना लामो समयसम्म मनाउने गरेको बताउनुभयो । उहाँले धिमालहरुले गाउँघरमा पुजाआजमात्र गर्नेलाई सिरिजातमा भन्ने गरेको जोडनुभयो ।

जातिरि पर्व बैशाख २ गते सुरु भएर असार २ गतेसम्म दुई महिना मनाएर समापन गर्ने प्रचलन छ । यस पर्वमा धिमालहरुले लेटाङको राजारानीमा पुजा गरि धिमाल बसोबास गर्ने गाउँगाउँमा पुजागर्ने र मेला आयोजना गर्ने गरिन्छ । 

धिमालहरु तराईमा बसोबास गर्ने समुदाय भएको हुनाले गर्मीका कारण विभिन्न रोगहरु हैजा, झाडापखाला, आउँ जस्ता महामारीले मान्छेलाई पारेको असर न्युन गर्नको लागि लेटाङ्को राजारानीस्थित ग्रामस्थानमा पुजा गरेपश्चात गाउँगाउँमा सबैले पुजागर्ने प्रचलन चलिआएको धिमाल जाति विकास केन्द्रका सल्लाहकार रामबहादुर धिमालको भनाईछ । 

जातिरि मेलाको अवसरमा एकअर्कामा भेटघाट गर्ने, विशेषगरि युवायुवतीहरु एकअर्काबिच भेटघाट गर्ने चलन छ । कार्यक्रममा धिमाल जातिको मौलिक बाजासहितको नृत्य, विभिन्न खानाका परिकारहरु प्रदर्शन गरेका थिए । धिमाल जाति विशेषगरि पुर्वी तराईका झापा, मोरङ र सुनसरी लगायतका जिल्लाहरुमा बाक्लो बसोबास रहेको छ । 


 

प्रतिक्रिया