गुदेल माध्यमिक विद्यालयमा मोहत्सव आयोजना गर्ने

Admin
Admin२१ पुष २०७९, बिहिवार
गुदेल माध्यमिक विद्यालयमा मोहत्सव आयोजना गर्ने

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ स्थित गुदेल माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ । विद्यालयले आफ्नो स्थापनाको ६० वर्ष पुगेको अवसर पारेर माघ १२ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी हीरक महोत्सव मनाउन लागेको प्रधानाध्यापक लबकुमार राईले जानकारी दिनुभयो ।

महोत्सवका अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ । विद्यालयले जिल्लाव्यापी माविस्तरीय छात्र र छात्रा भलिबल प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता, यसैगरि आभारभूत तहस्तरीय युगल नृत्य प्रतियोगिता, जिल्लाव्यापी शिक्षकस्तरीय ब्याटमिन्टन प्रतियोगिता, खुल्ला ट्र्याक गायन प्रतियोगितालगायतका कार्यक्रमहरू आयोजना हुने आयोजकले जनाएको छ ।

‘महाकुलुङ गाउँपालिका ४ गुदेल जाऔँ, गुदेल माविको हीरक महोत्सव सफल पारौँ’ भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरू वरिष्ठ गायक शम्भु राई, सुनिता थेगिम, अजय अलङकार कुलुङ, राजेन्द्र केरुङ,लिला राई, मोडल मनिता राई र बिनिता राईको बेजोड प्रस्तुति रहने छ।

अन्य कार्यक्रमहरूमा स्मारिका विमोचन, विद्यालय गान निर्माण, विद्यालय वृत्तचित्र विमोचन, हीरक महोत्सव स्वागतद्वार निर्माणलगायत रहेका छन् । विद्यालय विसं २०१९ सालमा स्थापना भएको हो ।

 

प्रतिक्रिया