तामाङ सोसाइटी अफ अमेरिकाद्धारा भूकम्प प्रभावित विद्यालयहरुका लागि रु. १४ लाख  सहयोग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ असोज २०७३, आइतवार
तामाङ सोसाइटी अफ अमेरिकाद्धारा भूकम्प प्रभावित विद्यालयहरुका लागि रु. १४ लाख  सहयोग

काठमाडौं, असोज २ ।

तामाङ सोसाइटी अफ अमेरिकाले २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित ९ वटा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । 
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच भूकम्पप्रभावित विभिन्न जिल्लाका ९ वटा विद्यालयलाई प्रति विद्यालय १ लाख ४० हजार रुपैयाँका दरले कुल १२ लाख ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । 

सहयोग प्राप्त गर्ने विद्यालयहरुमा काकलिङ उ.मा.वि. (रामेछाप), बुद्ध प्रा.वि. (दोलखा), हरिसिद्धी आधारभूत विद्यालय (सिन्धुपाल्चोक), जनता आधारभूत विद्यालय (सिन्धुपाल्चोक), खाँडादेवी उच्च मा.वि.(रामेछाप), जनजागृति मा.वि. (सिन्धुपाल्चोक), कामरुदेवी उच्च मा.वि. (नुवाकोट), गणेश बालविकास केन्द्र (नुवाकोट) र ज्वालादेवी नि.मा.वि. (काभ्रे) रहेका छन् । 
तामाङ सोसाइटीबाट प्राप्त सहयोग रकम नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरे । १० वटा विद्यालयका लागि कुल १४ लाख रुपैयाँ सहयोग प्राप्त भए पनि एक विद्यालय मर्जरमा गएकोले सो रकम बाँकी राखी ९ वटा विद्यालयलाई मात्र वितरण गरिएको घेदुङका अध्यक्ष गोलेले जानकारी दिए । सोसाइटीसँग छलफल गरी बाँकी रकम हस्तान्तरण गरिने उनले बताए ।

भूकम्पप्रभावित क्षेत्रका बालबालिकाको शेक्षिक विकासका लागि सहयोग गरेकोमा तामाङ सोसाइटीलाई धन्यवाद दिँदै अध्यक्ष गोलेले प्राप्त रकमको सही सदुपयोग गर्न विद्यालयका प्रतिनिधिहरुलाई आग्रह गरे । घेदुङको जिल्ला संयन्त्रमार्फत जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी रकमको सही सदुपयोग भए नभएको अनुगमन गर्ने पनि उनले जानकारी दिए ।    
कार्यक्रममा विद्यालयका प्रतिनिधिहरुले भूकम्पबाट ध्वस्त विद्यालयको पुनर्निर्माणमा सहयोग गरेकोमा तामाङ सोसाइटीप्रति आभार व्यक्त गरेका थिए । उनीहरुले रकमको उचित सदुपयोग गरी बालबालिकाको शैक्षिक विकासमा विद्यालय लागिपर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव प्रतीक तामाङ, घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा, उपाध्यक्ष सीता लामा, पूर्वमहासचिव कुमार ब्लोनलगायतको उपस्थिति रहेको थियो ।
अमेरिकाको न्यूयोर्कमा रहेको तामाङ सोसाइटी अफ अमेरिका त्यहाँस्थित तामाङहरुको साझा संस्था हो । सोसाइटीले यसअघि पनि नेपालमा शिक्षा, स्वास्थ्य लगायतत अन्य सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया