सोनाम ल्होछार अर्थात् मंगोल ल्होछार

कुमार योञ्जन तामाङ
कुमार योञ्जन तामाङ६ माघ २०७१, मङ्गलवार
सोनाम ल्होछार अर्थात् मंगोल ल्होछार

ल्होछार परम्परा मूल त नेपालको हिमाली पहाडी आदिवासी जनजाति समुदायहरुको ठूलो साझा साँस्कृतिक पर्व हो । नेपालको पश्चिम, मध्य तथा पूर्वी पहाडी हिमाली क्षेत्रमा बढी केन्द्रीत भएर फैलिएका मंगोल समुदायको मात्र नभएर ल्होछार एशियाका समग्र मंगोल समदायकै साझा साँस्कृतिक पर्व पनि हो । यही दिन र समयमा चिन, कोरिया, जापान, मलेशिया, हङकङ, सिंगापुर, भियतनाम, लाओस, थाइल्याण्ड, बर्मा लगायत देशहरुमा यो पर्व धुमधामले मनाइन्छ । अतः ल्होछार मंगोल सँस्कृति र परम्पराको अभिन्न अंगको रुपमा रहेको बुझ्न सकिन्छ । बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा त अझ यसको ज्यादै ठूलो साँस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङ लगायतका समुदायहरु यसलाई ल्हो(रितु) फिर्ने दिनका रुपमा मात्र होइन मुलतः आफ्नो महान् साँस्कृतिक चाड र सभ्यताका रुपमा मान्दछन् । यो सभ्यतासंग जोडेर चन्द्र पात्रोको विकास आजभन्दा २८५१ वर्षअघि महामन्जुश्रीले गरेको मानिन्छ । तामाङहरु उनलाई ज्याङपाल भनेर जान्दछन् र आफ्नो ज्ञानको देवताका रुपमा मान्दछन् । यो सभ्यता मुलतः ल्हो परम्परामा आधारित छ ।
यस वर्ष तामाङहरुले मान्ने सोनाम ल्होछार तामाङ जातिको परम्परागत धार्मिक–साँस्कृतिक चाड ल्हुक ल्होछार–२८५१ (भेंडा नयाँ वर्ष÷Sheep New Year–2851 तामाङ ख्रे–ला छेपा गी (माघ शुक्ल प्रतिप्रदा) अर्थात् वि.स. २०७१ साल माघ ७ गते तद्नुसार 2015, Jan. 21 देखि शुरु हुन गइरहेको छ । विश्वमा अहिले झण्डै ६० लाखको हाराहारीमा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, साँस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो “ल्हो” परम्परा, तामाङ सँस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको सँस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, साँस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्वित गर्दछ ।

के हो ल्होछार भनेको ?

“ल्हो”को अर्थ साल, सम्वत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्रवटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ । विभिन्न पशुपंक्षीको नामवाट “ल्हो”को नाम राखिएको हुन्छ । बाह्र “ल्हो”मध्ये प्रत्येक वर्ष एक–एकवटा “ल्हो” फेरिन्छ । यही “ल्हो” फेरिने दिनलाई तामाङ भाषामा “ल्होछार” भनिन्छ । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् ।

संसारभर खास गरेर मंगोल मूलका देशहरुमा यसैदिनदेखि “ल्होछार” पर्व वडा हर्षेाल्लासकासाथ धुमधामले मनाइन्छ । उनीहरु यसलाई बसन्त उत्सव Spring Festival का रुपमा पनि मनाउँदछन् । त्यसैले “माघ शुक्ल प्रतिपदा”का दिन मनाइने “ल्होछार” “अन्तर्राष्ट्रिय ल्होछार” पनि हो । सदा झैं यस वर्ष पनि तामाङहरुले केन्द्रमा “२८५१ औं ल्हुक(भेंडा) सोनाम ल्होछार मूल समारोह संयोजन समिति” को आयोजनामा र देशभरी नै विभिन्न संघसंस्थाको आयोजनामा धुमधामकासाथ यो ल्होछार पर्व मनाउँदै छन् । तामाङ जातिको यो महान् ल्होछार पर्व प्रत्येक वर्ष खे्रला छेपा–गी अर्थात् चन्द्र माघ महिनाको माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने गरिन्छ ।

राष्ट्रिय पर्वको मान्यता ः

२०५१ साल माघ १३ गते तत्कालीन सरकारले ल्होछार मान्ने समुदायलाई मात्र विदा दिएकोमा गत २०६४ सालदेखि नेपाल सरकारले ल्होछारलाई “माघ शुक्ल प्रतिपदा”को दिन “सार्वजनिक विदा” दिने घोषणा गरेको छ । सो दिनदेखि ल्होछार पर्व नेपाल अधिराज्यद्वारा “मान्यता प्राप्त राष्ट्रिय पर्व” भएको छ । यसबाट तामाङ लगायत जनजातिहरुको स्वतन्त्रता र मौलिक राष्ट्रिय पहिचान राजकीय स्तरमा स्थापित भई नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा मुखरित भएको छ । नेपाल र भारतमा मात्र होइन विश्वभरी नै फैलिएको विशाल समुदाय भएको तथा साँस्कृतिक परम्पराका हिसावले १५ दिनसम्म मनाइने पर्व भएकाले कम्तिमा ५ दिन सार्वजनिक विदा दिनुपर्ने माग तामाङ समुदायको रहदै आएको छ ।
ल्होछार कसरी मान्ने ?

संसारमा “ल्होछार पर्व” अन्तर्राष्ट्रिय रुपमा “माघ शुक्ल प्रतिपदा”को दिन परेपनि मान्ने तरिका भने मुलुक र समुदायको संस्कृतिअनुसार भिन्न भिन्न रहेको पाइन्छ । यस्तो विविधता भौगोलिक स्थिति, वस्तु–उत्पादन र उपलब्धता, बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले पनि देखिएका छन् । समग्रमा ल्होछार मान्ने तरिकालाई तीन भागमा राखेर हेर्न सकिन्छ । पूर्व तयारी Preparation, ल्होछारको पूर्वसन्ध्या Lhochhar Eve, ल्होछार पश्चात् Post Lhochhar ।

ल्होछारको पूर्व तयारी (Preparation for Lhochhar Festival)

सामान्यतया तामाङ समाजमा ल्होछार आउनुभन्दा एक महिना अगावै “ल्होछार”को तयारी शुरु हुन्छ । डोल्पा, मुगु, मुस्ताङ आदि ठाउँमा आज पनि एक महिना अघि नै छेगो(गुथुग) खाएर ल्होछारलाई स्वागत गर्ने चलन छ । यो अवधिमा नयाँ वर्ष लाग्नुभन्दा पहिले “नसकिएका” कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदोहोरिउन् भनी कर्मकाण्ड गर्ने तथा नयाँ वर्षलाई स्वागत गर्ने तयारी गर्दछन् । तसर्थ पुरानो वर्षको १२ औं महिनाको अन्तिम दिनहरुमा घर, गाउँ÷टोल, बाटोघाटो, आँगन, चौतारा, पानीपधेंरो, गोठ आदि मर्मतसम्भार, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि फलफूल, कन्दमूल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थानमा आगामी वर्ष राम्रो खेती वालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउवीजन पानीमा भिजाई टुसा आउने पार्दछन् ।

ल्होछारको पूर्व सन्ध्यामा Lhochhar Eve के के गरिन्छ ?

पुरानो वर्षको अन्तिम औंसिको दिन मानिसहरु बत्ति बाल्न, भगवानको दर्शन गर्न तथा बत्ति चढाउनका लागि गुम्बाहरुमा जान्छन् । धेरै पुजाआजा तथा कर्मकाण्डहरु मार(खराव) वा अकुशल प्रेतात्मा वा अपसकुन हटाउनुका लागि गर्ने गर्दछन् । सो दिन लामाहरुले मार(खराव)माथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् । सामान्यतयाः ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन् ।

(क) ल्हो, थर, कुल र वंशको परम्पराअनुसार आ–आफ्नो कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशिर्वाद तथा शक्ति माग्ने ।

(ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लाे बनाएर ग्रहदशा फाल्ने ।

(ग) आगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको वीउविजन राखी पूजापाठ गर्ने । र,

(घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, परम्परागत रुपमा गुथुग (बाह्र ल्हो को टाउको बनाएको थुक्पा) खाने, आतासवाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने र नयाँ वर्षको विहानीलाई स्वागत गर्ने । अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधैं उज्यालो र खुशियाली आओस् भनी बत्ति(द्धीप) रातभर बाली राख्ने ।

ल्होछार प्रारम्भ, पहिलो दिन Lhochhar's First Day

ल्होछारको पहिलो दिन मुख्यतः निम्न कार्यहरु सम्पन्न गर्ने परम्परा छः

(क) छो चढाउने ः ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योअीखाङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छेमार वा फेमार दुची तथा छो (फलफूल, कन्दमुल–आलु÷भ्याकुर÷तरुल, खाप्से, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम(पूजाआजा÷धुपधुवाँर) गर्ने तथा भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशिर्वाद माग्ने चलन छ । पूजामा चढाएको “छो”(प्रसाद), दुइची, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने गरिन्छ ।

(ख) दर्जु उठाउने ः सो दिन नयाँ ल्हो को आगमन (ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर, गुम्बा, मठ–मन्दिरहरुमा लुङदर÷दज्र्यू फहराउँने चलन छ र फहराइन्छ । लामालाई आफ्नो ल्हो अनुसार ची (पात्रो) हेराई लामागुरुले भनेअनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पाँचै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रंगको दर्जु राख्नु राम्रो मानिन्छ । उक्त दिन दर्जु नराखेमा बसन्त पञ्चमीको दिन बिहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जुसँगै धूपबत्ति बाल्ने र केम (स्याल्गर÷भगवानलाई चढाउने फलफूल) चढाउने गरिन्छ । सकेसम्म पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा दर्जु उठाई सबैले “ल्ह ग्वल्लो दुद् फाम्मो” (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

(ग) आशिर्वाद तथा शुभकामना दिने–लिने ः पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघिउ तथा कोकोम्हेन्दोको टीका तथा खाता आशिर्वाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोजभत्तेर खाने । साथीसँगीसँग मिलेर रमाइलो गर्ने गरिन्छ ।

ल्होछार प्रारम्भ पश्चात् Post Lhochhar

ल्होछारको दोस्रो दिनदेखि बसन्तपन्चमीसम्म मान्यजन, नातागोता, कुल कुटुम्ब, इष्टमित्र लगायत सबै साथीसंगीहरुलाई भेटघाट गरी खादासहित शुभकामना आदान प्रदान गर्ने गरिन्छ । आलोपालो गरी इष्ट मित्र कहाँ जाने, आशीर्वाद आदान—प्रदानका साथै आफ्नो दाजुभाई, चेलिवेटी बोलाउने र खानपिन गर्ने गरिन्छ । साथै, आफूले मान्नुपर्ने व्यक्तिहरुका आशिर्वाद लिनुजाने र आफूकहाँ आउने पाहुनाहरुलाई स्वागत गर्ने चलन छ । यो क्रम प्रतिपदादेखि बसन्त पञ्चमीसम्म नै चल्छ । र बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठन–पाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकाले शिक्षा आरम्भ गराउने तथा दज्र्यू फहराउन बाँकी भएकाले दज्र्यू ठड्याउने चलन छ । यसैवेला आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आदिको आयोजना गरी हर्षाेल्लासपूर्ण वातावरणमा ल्होछारपर्व सम्पन्न गर्ने गरिन्छ ।

अन्तमा, माथिको छलफलबाट ल्होछारको प्रारम्भ अघि गरिने धार्मिक तथा साँस्कृतिक उत्सव Lhochhar Eve सम्पन्न गर्न दुई दिन र प्रारम्भपछि साँस्कृतिक पर्व सम्पन्न गर्न ३ दिन सार्वजनिक विदा तामाङ समाजका लागि अनिवार्य हुन्छ भन्ने कुरा देख्छौं । यसैकारण तामाङहरुले जोडदार रुपमा ल्होछारमा पाँच दिन विदाका लागि आवाज उठाउँदै आएका छन् । राज्यले यसतर्फ गंभीरतापूर्वक सोच्नुपर्दछ । नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष वितिसक्दा पनि मुलुकको “राष्ट्रिय साँस्कृतिक नीति” बनिसकेको अवस्था छैन । अनावश्यक सार्वजनिक विदाहरु कटौति गर्दै सबै समुदायका लागि उसको साँस्कृतिक पर्वमा आवश्यक विदा दिने व्यवस्था गर्न जरुरी छ । सबै धर्म सँस्कृतिलाई समान र सम्मान्जनक स्थान दिएर जनतालाई साँस्कृतिक समानताको अनुभूति दिलाउन सके मात्र परिवर्तनको अनुभूति हुने छ ।

प्रतिक्रिया