आदिबासी दलका सभासदः दलका भरिया नबन

दिलबहादुर चौधरी
दिलबहादुर चौधरी८ साउन २०७२, शुक्रवार
आदिबासी दलका सभासदः दलका भरिया नबन

बीपीलाई आदर्श मान्ने, लोकतान्त्रिक समाजबादलाई आफ्नो सिद्धान्त मान्ने काँग्रेस होस् वा समाजवाद र साम्यवादलाई आफ्नो गन्तव्य मान्ने एमाले, एमाओवादी होस्, सबै आफ्नो सिद्धान्त र दायित्वबाट बिमुख छन् । हामी ब्यक्ति पनि बिमुख छौं । बिगतलाई सम्झँदै हामी राजा, राणाहरूलाई गाली गर्छौं । तर हामी कति राम्रा छौं भनी आफ्नो अनुहार ऐनामा नियाल्ने प्रयास गरेका छैनौं । १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता कुन अवस्थामा भयो ? “देश अब संघीयतामा जान्छ” भनी अन्तरिम संबिधानमा लेख्ने काम कुन अवस्थामा भयो ? अन्तरिम संविधानमा राज्यको अग्रगामी पुनर्संरचना गर्ने कुरा किन लेखियो ? आज हामी सबै बिर्सन पुग्यौं । सिद्धान्त, नैतिक मूल्य र मान्यता पनि हाम्रो अगाडि निरीह हुन पुग्यो । नाघ्नेमा हामी सबै पर्छौं । तर देशमा शासन संचालन गर्ने ब्राह्मण।क्षेत्री यस मामिलामा प्रथम स्थान हासिल गरेका छन् ।

धेरैलाई लाग्थ्यो, मलाई स्वयं पनि लाग्थ्यो कि काँग्रेस त बुर्जुवाहरूको पार्टी हो, यथास्थितिबाद उसको अभिन्न अंग हो, त्यसैले उ त घुमिफिरी रुम्जाटार नै पुग्ने हो । एमाले र एमाओवादी पक्कै पनि त्यसो नगर्लान्, सर्बहारा बर्गको हित रक्षा गर्नमा उनीहरू कुनै कसर बाँकी राख्दैनन् । तर हामी भ्रममा रहेछौं । समयले सबै कुरालाई छर्लङ्ग पारिदिने रहेछ । यतिबेला के काँग्रेस, के एमाले, के माओवादी तीनै दलका शीर्षस्थ नेताहरू ब्राम्हणवादको रक्षार्थ एकै मञ्चमा उभिए । केही झारन–झुरुन आफ्नो पोल्टामा पनि परिहालोस्, सानै भए पनि आफूले भनेको कुरा पूरा होस् भनी मधेशीजनअधिकार फोरम (लोकतान्त्रिक) पनि त्यो मञ्चमा उभिन पुग्यो । श्री ४ ले गरेका १६ बुँदे सम्झौताले अहिले संबिधानको प्रारम्भिक मस्यौदा टाठाबाठाहरूको हातमा सम्म पुगेको छ । सुझाव लिने नाटक बडो राम्रोसँग साउनको पहिलो सातामा मञ्चन भैसकेको छ । तर मस्यौदाले उत्पीडितहरूको कल्याण गर्छ, देशको हित गर्छ भन्ने कुरामा प्रायःको बिश्वास छैन । देशमा ८ संघीय प्रदेश बन्ने, संबिधान सभाको अवसान पश्चात ब्यबस्थापिका संसदले गठन गरेको संघीय आयोगले सीमा निर्धारण गर्ने, सुझाव पेश गर्ने र ब्यबस्थापिका संसदले त्यसको छिनोफानो गर्ने कुराले प्रायःको मन मुटुलाई हल्लाएको छ ।

श्री ४ ले गरेका १६ बुँदे सम्झौताले अहिले संबिधानको प्रारम्भिक मस्यौदा टाठाबाठाहरूको हातमा सम्म पुगेको छ । सुझाव लिने नाटक बडो राम्रोसँग साउनको पहिलो सातामा मञ्चन भैसकेको छ । तर मस्यौदाले उत्पीडितहरूको कल्याण गर्छ, देशको हित गर्छ भन्ने कुरामा प्रायःको बिश्वास छैन ।

जसको लागि संघीय शासन आवश्यक छ, जो ठूलो ठूलो स्वरमा संघीयताको लागि आवाज उठाए, संघीयताकै लागि जीवन बलिदानी गरे, तिनै जाति, समुदाय आज निराश बनेका छन् । यस कार्यले देश सही बाटोमा लाग्यो भन्न कठिन भएको छ । काँग्रेस र एमालेको बहुमतको अगाडि हामी घुँडा टेक्यौं र अलिकति भए पनि उपलव्धिको रक्षा गरौं भनी १६ बुँदे सहमति गर्न बाध्य भयौं, हामीसँग अर्को बिकल्प थिएन भनी एमाओवादी र फोरमले जनतासमक्ष रोए जस्तो गर्नु, नाटक हो वा बास्तविकता, त्यो त उनीहरूलाई नै थाहा होला । तर कुल मिलाएर यो संबिधान, देश र जनताको हितमा छैन भनी हामी मज्जाले भन्न सक्छौं ।

संविधानको प्रस्तावनामा एक ठाउँमा समानुपातिक समावेशीको कुरा गरिएको छ । तर जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीको कुरालाई कुनै धारामा उल्लेख भएको छैन । राष्ट्रिय मानव अधकिार आयोग लगायत दलित, महिला, समावेशी आयोगको कुरा गरेको छ, तर यत्रो जनसंख्यामा रहेका आदिवासी जनजातिहरूको आयोगप्रति मौन छ । आयोगको कुरा त गरेको छ, तर संसदप्रति उत्तरदायी हुनुपर्ने ब्यबस्था गरेर अधिकारबिहिन बनाएको छ । निवारक नजरबन्द बिरुद्धको हकमा हामी जस्ता अधिकारको वकालत गर्नेहरूको मुखमा ताला लगाउने बन्दोबस्त मिलाएको छ । संविधानमा सुझाउनु पर्ने यस्ता धेरै कुरा छन् । थारू कल्याणकारिणी सभा कैलाली लगायतका थारू सम्बद्ध संघ संस्था, थारू नागरिक समाज, थारू बुद्धिजीविहरू संस्थागत रूपमा कैलाली, कञ्चनपुर थरुहटमै हुनुपर्ने सुझावलगायत नाटकका पात्रहरूलाई लामै सुझाव दिएका छन् । अरुले पनि दिए होलान् । तर ती सुझाव काम लाग्ला ? अहिलेको अहम् प्रश्न यही हो ।

देशमा एकचोटी हैन, दुईचोटी संविधान सभाको चुनाव सम्पन्न भो । १ बर्ष हैन, ८ बर्ष समय खर्च हुँदैछ, तर संविधानले पूर्णता पाउने अवस्था छैन । आखिर किन ? हाम्रो देशमा ईमान्दार र त्यागी नेताहरूको अभाव छ । ऋषिमन भएका नेताहरूको अभाव छ । यथार्थ यही हो । उनीहरू दलको सिद्धान्त, आफ्नो कर्तव्य, दायित्व, नैतिक मूल्य र मान्यताभन्दा माथि छन् । उनीहरूमा घोर सामन्तवाद हावी छ । उत्पीडित जातिहरूबाट गएका सभासदहरू दास मनोबृत्तिका छन् । राम्रो र नराम्रो थाहा भए पनि नेता र पार्टीले भनेको कुरा उनीहरूको लागि लक्ष्मण रेखा भएको छ । नेता र सभासदहरूको भूमिका, कर्तव्य के यही हो ? यदि भूमिका यत्तिमै सीमित गर्नुहुन्छ भने तपाईहरू गाउँमा कुरा मिलाउन मात्रै नआउनुस् । किनकि लोकतन्त्रमा बहुमतको कदर गर्नै पर्दछ । काँग्रेस र एमालेले बहुमत ल्याएकै छ । यतिबेला प्रतिपक्षमा रहेको दल समेत १६ बुँदे सहमति गरी सकेका छन् । सहमति अनुरुप ४ ठूला दलले मस्यौदा ल्याइसकेको छ । ४ दलमा रहेका तपाई आदिबासी जनजाति, मधेशी, दलित, मुस्लिम सभासदहरू न्यायको पक्षमा उभिनु भएन, अधिकारको पक्षमा उभिनु भएन, आपूmले प्रयोग गर्ने अधिकार र दायित्वलाई बिर्सनु भो भने अब जनबिरोधी संबिधानलाई कसैले रोक्न सक्तैन । यदि तपाईहरू अन्यायको बिपक्षमा, न्यायको पक्षमा, उत्पीडित जाति, समुदाय, धर्मावलम्बीहरूको पक्षमा दरो गरी उभिनु भयो भने दुई तिहाई बहुमत कुनै हालतमा पुग्दैन । जनता अन्यायबाट जोगिनेछन्, देशले सही निकास पाउनेछ । के यस्तो सम्भव छ तपाईहरूबाट ?

४ दलमा रहेका तपाई आदिबासी जनजाति, मधेशी, दलित, मुस्लिम सभासदहरू न्यायको पक्षमा उभिनु भएन, अधिकारको पक्षमा उभिनु भएन, आपूmले प्रयोग गर्ने अधिकार र दायित्वलाई बिर्सनु भो भने अब जनबिरोधी संबिधानलाई कसैले रोक्न सक्तैन । यदि तपाईहरू अन्यायको बिपक्षमा, न्यायको पक्षमा, उत्पीडित जाति, समुदाय, धर्मावलम्बीहरूको पक्षमा दरो गरी उभिनु भयो भने दुई तिहाई बहुमत कुनै हालतमा पुग्दैन । जनता अन्यायबाट जोगिनेछन्, देशले सही निकास पाउनेछ । के यस्तो सम्भव छ तपाईहरूबाट ?

दलका अगुवा नेताहरूको कलुषित भावनाले गर्दा यतिका बर्षभित्र पनि संबिधान आएन । यो संबिधान पनि खस आर्यहरू (दलितबाहेक) को हकहित रक्षार्थ मात्रै प्रस्तुत भएको छ । देशमा फेरी पनि आन्तरिक उपनिवेश कायम राखिरहने, उत्पीडित जातिहरूमाथि अन्याय र अन्याचार थोपरिरहने धारा, उपधाराले संबिधान भरिभराउ छ । जुन राज्यमा उत्पीडित जातिहरूको सहभागिता शून्य बराबर छ, सुझाव उनीहरूको पक्षमा आउला ? त्यसैले तपाईहरूमा यदि २५ प्रतिशतमात्रै पनि मानवता छ, जनता अधिकार सम्पन्न हुनुपर्छ भन्ने चाहना छ भने खराब प्रावधानका बिरुद्धमा उभिनुस्, सिद्धान्त र दायित्वलाई निबिर्सनुस् । दलहरूका अगुवा नेताहरू हो, तपाईहरूमा पनि अलिकति यदि नैतिकता छ र भला बापका बेटा हुनुहुन्छ भने पहिले आफ्नै दलमा समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुस्, आफ्नै दलमा रहेका उत्पीडित जातिहरूसँग बस्नुस् र बिना ह्वीय, बिनाबन्धन, स्वतन्त्र रुपले मत राख्ने अनुमति दिनुस् । उनीहरू के भन्छन्, त्यसको आधारमा निर्णय लिनुस्, के मधेशी, के थारू, के पहाडका उत्पीडित जाति, के मुस्लिम, सबै तपाईहरूको निर्णयको खुला दिलले स्वागत गर्ने छन् । यदि बहुमतको दम्भमा जबर्जस्ती जनबिरोधी संविधान ल्याउनुहुन्छ भने त्यो संविधान धेरै समय टिक्न सक्तैन, लेखेर राख्दा हुन्छ ।

अन्तमा, उत्पीडनमाथि उत्पीडन थप्ने ४ दलको पार्टीको सिद्धान्त पक्कै पनि होइन होला । जनतामाथि अमानबीय ब्यबहार गर्नु, अन्याय गर्नु तपाईहरूको दायित्व पक्कै होइन होला । त्यसैले देश र जनताको कल्याणको लागि आफ्नो दायित्व नबिर्सनोस् । ४ दललाई चेतना भया ।

प्रतिक्रिया