अशोजको पहिलो साता नेपालले भीषण बाढी, पहिरोको सामना गर्नू पर्यो । बेमौसमी मनसुनी बर्षाद्का कारण गएको बाढी र पहिरोबाट नेपालभरमा करीव दुइसय भन्दा बढीको मृत्यु भयो भने अरबौंको निजी र सार्वजनिक सम्पत्तीको क्षती हुन गयो ।
बाढी तथा पहिरोले दर्जनौ पक्की पुलहरु क्षतीग्रस्त बनाइ दिएको छ । निजी आवास देखि खेतीयोग्य जमिनहरु बगर र मरुभूमिमा परिणत बनेका छन् । राजधानी काठमाडौंबाट जिल्ला जोड्ने सडकमार्ग अवरुद्ध हुन गएको छ । समग्रमा पछिल्लो दशकको सबैभन्दा ठूलो प्राकृतिक विपद् नेपालले व्यहोर्नु परेको छ ।
यतिबेला नेपाल सरकार राहत र उद्धारमा जुटेको छ । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका २१ जिल्लाका सय बढी स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सञ्चारकर्मीहरुलाई भन्नु भयो–‘प्रभावित क्षेत्रमा पुनः स्थापना र पुनः निर्माण गर्ने विशेष योजनाका साथ लाग्न विपद् संङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।’
सरकारले घोषणा गरेको सङ्कटग्रस्त क्षेत्रहरुमा कोशी प्रदेशमा पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गा जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका रहेका छन् ।
घोषित विपद् सङ्कटग्रस्त क्षेत्रहरुमा बागमती प्रदेशका धेरै परेका छन् । काभ्रे जिल्लाको रोशी, तेमाल, बेथानचोक, चौरीदेउराली र महाभारत गाउँपालिका एबम् पनौति, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका बाढी पहिरो अतिप्रभावित क्षेत्रहरु हुन् । ती सबै विपद् सङ्कटग्रस्त क्षेत्रहरुमा परेका छन् । धादिङको बेनिघाट, रोराङ, नेत्रावती डबजोङ र गजुरी गाउँपालिका तथा धुनिबेशी नगरपालिका, दोलखाको गौरीशङ्कर, बिगु र शैलुङ गाउँपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिका तथा खाँडादेवी, दोरम्भा–शैलुङ, सुनापति, लिखु–तामाकोशी, गोकुलगङगा एबम् उमाकुण्ड गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
विपद् सङ्कटग्रस्त क्षेत्र घोषित अन्य स्थानीय तहहरुमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, ललितपुरको बाग्मती र कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका, सिन्धुलीको गोलन्जर, सुनकोशी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिक, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका रहेका छन् ।
प्राकृतिक विपदको सिलशिला
नेपालका लागि यो पहिलो पटक आएको प्राकृतिक विपद् होइन । विश्वव्यापी तापक्रम बृद्धिसंगै जलवायु विपदमा नेपाल पर्दे आएको छ । केही महिना अगाडि मात्र सोलखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीको वितण्डा, सन् २०२३ मा मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०२१ को हेलम्बु–मेलम्ची बाढी जस्ता घटनाहरु केही उदाहरणहरु हुन् ।
विपदको कारकपक्षमा भने फरक फरक विचारहरु सार्वजनिक भइरहेका छन् । केही अभियन्ताहरु यो विपदको पछाडि नेपालमा पछिल्लोकालमा फस्टाएको डोजरमुखि विकासलाई दोष दिइरहेका छन् भने केही विश्लेषकहरु जलवायु जोखिमको परिणाम भनेर ठोकुवा गरिरहेका छन् । तर ती दुवै पक्षको अभिमतको निचोड भने एउटै छ, ‘यो सबै परम्परागत आदिवासी ज्ञानलाई बेवास्ताको परिणाम हो ।’
तर ती सबै घटना जलवायु विपद्का रुपमा लिन भने सरकारी अधिकारीहरु तयार छैनन् । तथापि यस सम्बन्धी अनुसन्धान गर्नेहरु जलवायु विपद्कै रुपमा लिइरहेका छन् ।
मुस्ताङको कागबेनीमा भएको घटनालाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा संघीय संसदलाई सम्बोधन गर्दै गम्भीर रुपमा लिन आग्रह गर्नू भएको थियो । उहाँले विगत तीस बर्षको अवधिमा नेपालले आफ्नो हिमनदीको झन्डै एक तिहाई गुमाएको बताउनु भएको थियो । उहाँको भनाइ थियो –‘पानीले भरिएका ताल फुट्दैछन्, नदी र समुन्द्रको पानी बढ्दैछ । संस्कृतिले चुनौति सामना गरिरहेका छन् । र पहाडहरु जोखिममा छन् । र चट्टान, पहिरो तथा हिम पहिरोको जोखिम बढ्दो छ ।’
सोलखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीको वितण्डाबारे अनुसन्धान गरिरहनु भएकी ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी सहप्राध्यापक डा.पासाङ याङ्जी शेर्पा पनि जलवायु परिवर्तनको असर नै हो भनेर भन्न नसके पनि यो हिमाली क्षेत्रका आदिवासीले भोगेको संकटका रुपमा लिनु पर्ने बताउनु भयो । जलवायु संकटलाई गम्भीर रुपमा लिन नसकेमा यस प्रकारका संकटहरु भविष्यमा अरु थप बढने उहाँको चेतावनी छ । मेलम्चीमा गएको बाढी यही प्रकृतिको अर्को प्राकृतिक विपत्ती थियो । यसबाट हजारौ जनालाई बिल्लीबाठ बनाएको थियो ।
जे भए पनि ठूला ठूला विपत्तीले आदिवासी सिमान्त नागरिकलाई घरबारबिहिन र बेसाहरा बनाउँदै लगेको छ । आफनो थातथलोबाट विस्थापित गरेर गरिविको मारमा धकेलिरहेको छ ।
जलवायु विपद्का रहस्यमय घटनाहरु
विपदको कारकपक्षमा भने फरक फरक विचारहरु सार्वजनिक भइरहेका छन् । केही अभियन्ताहरु यो विपदको पछाडि नेपालमा पछिल्लोकालमा फस्टाएको डोजरमुखि विकासलाई दोष दिइरहेका छन् भने केही विश्लेषकहरु जलवायु जोखिमको परिणाम भनेर ठोकुवा गरिरहेका छन् । तर ती दुवै पक्षको अभिमतको निचोड भने एउटै छ, ‘यो सबै परम्परागत आदिवासी ज्ञानलाई बेवास्ताको परिणाम हो ।’
मनसुनी बर्षाद जारी रहँदा काठमाडौंमा आदिवासी अनुसन्धान तथा विकास केन्द्रद्वारा आयोजित ‘आदिवासीको नेतृत्वमा अनुसन्धान तथा शिक्षा’ नामक अन्तराष्ट्रिय सम्मेलन जारी रहेको थियो । सोही सम्मेलनमा सहभागी ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी सहप्राध्यापक डा. पासाङ याङ्जी शेर्पा भन्दै हुनु हुन्थ्यो –‘मूलधारका अनुसन्धानकर्ताहरुले आदिवासीको अभ्यास र अनुभवलाई बेवास्ता गरिएकै कारण कतिपय तथ्यहरु प्रकाशमा आउन सक्दैनन्, नेपालमा देखिएको विपद प्रतिको दृष्ट्रिकोणहरु पनि यसैका परिणाम हुन सक्छन् ।’
वन कार्यक्रममा दशकौदेखि संलग्न रहँदै आउनु भएका न्युयोर्क स्टेट विश्वविद्यालयको वन तथा वातावरण विज्ञानका प्राध्यापक विलियम सन्डरलिन नेपालमा वन संशाधनमा भएको लापार्वाही नै यो समस्याको जिम्मेवार रहेको आरोप लगाउनु हुन्छ ।
नेपाललगायत विकासोन्मूख मुलुकमा विश्व बैंक जस्ता संगठनले वन संरक्षणका नाममा गरिरहेको क्रियाकलापलाई उहाँले उदृध गर्दे वन विकास हैन, वनको विनास भइरहेको उदाहरणका रुपमा प्रस्तुत गर्नू भयो ।
‘जलवायु सङ्कट समाधान गर्न वन सम्पदाको संरक्षण अनिवार्य छ । तर वन संरक्षकहरु वनबाट बाहिर पारिएका छन् ।’ प्राध्यापक सन्डरलिनको भनाइ थियो –‘प्राकृतिक विपद् होस वा जलवायु संकट, स्थानीय आदिवासी जनजातिको अनुभवमा आधारित सजीव दृष्ट्रिकोणको आवश्यकता पर्दछ ।’
उता अकल्याण्ड विश्व विद्यालयका प्राध्यापक डा.लिण्डा वैमारी निकोरा भने कुनै पनि प्राकृतिक प्रकोपलाई विश्लेषण गर्न आदिवासी ज्ञान र पश्चिमा ज्ञान दुवैको आवश्यकता पर्ने विचार राख्नु हुन्छ ।
अन्तराष्ट्रिय सम्मेलनमा प्रमूख वक्ता समेत रहनु भएका निकोराले कुनै पनि घटनालाई विश्लेषण गर्न ‘दुवै आँखा’ खुला गर्नू पर्ने विचार राख्नु भयो । वैज्ञानिक अनुसन्धान र आदिवासी ज्ञान दुवैको समन्वयमा मात्र कुनै पनि घटनाको सही तथ्य बाहिर आउने बताउनु भयो ।
न्युजिल्याण्डमा सन २०२३मा गएको सामुन्द्री आँधीको उदाहरण दिंदै सो घटनामा सरकारी संयन्त्र अप्रभावकारी रहेको र त्यहाँका प्रभावित आदिवासी माओरीको परम्परागत ज्ञान उपयोगी भएको बताउनु भयो । जलवायु लगायतका प्राकृतिक सङ्कटमा समुदायको ज्ञान प्रणालीले महत्वपुर्ण योगदान दिएको उहाँको तर्क थियो ।
तर स्थानीयबासीहरु भने अशोजमा गएको बाढी पहिरोको विपद् अवैध रुपमा सञ्चालित ढुङ्गाखानी तथा क्रसर उद्योगको परिणाम भएको बताउनु हुन्छ ।
पनौती नगरपालिका अन्तर्गत पर्ने बाढीग्रस्त रोशी खोलामा मात्र एक दर्जन बढी ढुङ्गाखानी थिए । खानीबाट निस्कने धुलोमाटो खोलामा नै फालिदा खोला पुरिए पछि निरन्तर परेको बर्षाबाट खोला वस्तीमा पसेर क्षती भएको स्थानीयको विश्लेषण छ ।
यस्तै स्थिति काभ्रेको बेथानथोकमा पनि रहेको छ । यस बर्षको बाढीबाट बेथान र रोशी खोलामा सबै भन्दा बढी क्षती पुगेको छ ।
यो बहसका बीचमा नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको भनाई यतिबेला चर्चित रहेको छ । उहाँले खानी र पानीका कारण त्यस क्षेत्रमा बाढी गएको बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष नगेन्द्र कुमाल पछिल्लो समयमा भएको डोजरे विकासले जताततै वितण्डा मच्चाएको आरोप लगाउनु हुन्छ । पहाड कोतरेर अवैज्ञानिक सडक निर्माण र सार्वजनिक जग्गाको अतिक्रमण नै बाढी र पहिरोको जननी भएको बताउनु भयो । खोला किनारमा बसाइएको अनियन्त्रीत मानवबस्ती नै यो घटनाको जिम्मेवार रहेको उहाँको टिप्पणी रहेको छ ।
तर वातावरणविद् कमल साम्पाङ राई भने जलवायु परिवर्तनको असरका रुपमा बेमौसमी बर्षाद भएको भनाइ राख्नु हुन्छ । बर्षादको समय कटे पछि भएको निरन्तरको बर्षाद जलवायु परिवर्तनको असर हो । यस पटकको बर्षाद र यसबाट भएको हानी, नोक्सानीको मूल्याँकन गरेर हाम्रो विकास गर्ने शैलीमा परिवर्तन गर्न ढिलाई गर्न नहुने उहाँको विशेष जोड छ ।