बेलायतमा 'नो कोशी' भन्दै साकेला मनाए

Admin
Admin२६ वैशाख २०८०, मङ्गलवार
बेलायतमा 'नो कोशी' भन्दै साकेला मनाए

किरात राई यायोक्खा  बेलायतले ‘नो कोशी’को भन्दै उभौली साकेला मनाएको छ । किराया बेलायतले गत शनिवार  किरात हाउस ग्याम्बल लेन गिल्डफोर्डमा किरात राईहरूको महान् चाड साकेला ‘नो कोशी’ भन्दै मनाएको हो ।

साकेला नाकछोङ किताबशेर राई र टोकाया जगत राईद्वारा सिमे भूमे पुजेर साकेला मनाइएको अध्यक्ष चन्द्रबहादुर राईले जानकारी दिए । अध्यक्ष राईकाअनुसार कार्यक्रममा सिलिमोमा, सिलिमोपा लगायत झ्याम्टा ढोल बजाउँदै साकेला सिली प्रदर्शन गरिएको थियो ।

पुर्खा रत्नबहादुर राईको प्रमुख आतिथ्यता एवम् गिल्डफोर्ड बोरो अफ काउन्सिलका मेयर मासुक मिहको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालको तत्कालीन प्रदेश नं. १ को नाम कोशी राखिएकोप्रति विरोधस्वरूप ‘नो केशी’अङ्कित पर्चासमेत प्रदर्शन गरिएको थियो । गैरआवासीय नेपाली सङ्घ, बेलायतका अध्यक्ष प्रेम गाहामगर र आयोजक संस्था किराया बेलायतका अध्यक्ष चन्द्रबहादुर राईले संयुक्तरूपमा पानसमा दीप बालेर उद्घाटन गरेको कार्यक्रम संयोजकसमेत रहेका उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईले स्वागत मन्तव्यमार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा काउन्सिलरद्वय नेम थापा र जीव बेल्बासेलगायत तमु प्हे ल्हु संघ, बेलायतका अध्यक्ष अमर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, बेलायतकी अध्यक्ष गोमा राना, किरात याक्थुङ चुम्लुङ, बेलायतका महासचिव जुरेन्द्र खजुम, मगर संघ, बेलायतका उपाध्यक्ष रुद्र थापा, धरान समाज, बेलायतका अध्यक्ष रमेश लिम्बू, फोल्कस्टन नेपाली समाज, बेलायतका पूर्वअध्यक्ष चन्द्र गुरुङ, एभरेष्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्वाङलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया