थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ पुष २०७८, बुधवार
थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान

पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैं नआएकोजस्तो महशुस हुनेगरेको थारु अगुवाहरुको बुझाई छ ।

दशैंको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतिहरुको छमछमि नाचले गाउँघरको परिवेश नै बेग्लै हुनेगर्छ । ढिक्री पूज्ने ढिक्रहवा र टीकाको दिन थारु युवतीले रातभरी सखिया नाच नाच्ने गर्छन् ।

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा हुन्छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैंको गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनियाहरु कम्मर मस्काइ मस्काई नाच्ने गर्छन् ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटक समेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकहरुलाई गाउँवस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँकोमात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुनेगर्छ ।

दशैंमा थारु समुदायले सामुहिकरुपमा टीका ग्रहण गर्ने गर्छन् । सखिया नाच नाच्दै अभिभावकसँग सामुहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैं मनाउने गर्छन् । दशैंले एक अर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ ।

दशैं विशेषगरी विजयको चाड भएकाले यस पर्वले सबैको सुख शान्ति र मनोकामना पूरा गर्ने मनोकामना गरिन्छ । माता भगवतीले सबैको इच्छा पूरागरी विजय कायम गर्ने र पारिवारिक सुख शान्ति र समृद्धिको कामना गर्ने गरिन्छ ।

थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भएपनि त्यसलाई नाचकोरुपमा नचनियाहरुसँगै गाउने काम भने दशैंमा हुनेगर्छ । गीतको भाका लामो भएकाले कुनै कुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ । प्रायः साँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामुहिकरुपमा सखिया नाच्ने प्रचलन छ ।

थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरी घरको काम गर्ने र साँझको फूर्सदिलो समयमा सखिया नाच नाच्ने गर्छन् । पूर्वका थारुले सखिया नाच नाच्ने गर्दैनन् । उनीहरु दशैं पनि खासै मनाउँदैनन् । तर पश्चिम नेपालका थारुले दशैंलाई धुमधामका साथ मनाउँछन् ।

Courtesy:www.hamarpahura.com

प्रतिक्रिया