धर्म निरपेक्षता कायम गर्न धर्मोदय सभाको जोड

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ साउन २०७२, बुधवार

काठमाडौं
संविधानमा धर्मनिरपेक्षता कायम हुनुपर्ने धर्मोदय सभाले माग गरेको छ । साउन १३ गते आयोजित पत्रकार सम्मेलनमा मार्फत सभाले विज्ञप्ति जारी गर्दै अन्तरिम संविधान २०६३ ले संवैधानिक मान्यता प्रदान गरिसकेको धर्मनिरपेक्ष राष्ट्रका रुपमा यथावत कायम राख्न माग गरेको हो ।

धर्मनिरपेक्ष राष्ट्र घोषणालाई हिन्दू अतिवादीहरुले धार्मिक सहिष्णुतामा खलल पु¥याउने गरी हिन्दू राष्ट्र कायम गर्न चलखेल शुरु गरेकाले सबैले सजग हुनुपर्ने बेला आएको सभाको विज्ञप्तिमा भनिएको छ । जनजाति अगुवा नेता तथा धर्मोदय सभाका उपाध्यक्ष ईन्द्रबहादुर गुरुङले भने–‘धार्मिक स्वतन्त्रता भन्ने शब्द होइन धर्म निरपेक्षता नै कायम हुनु पर्दछ ।’ राज्यका हरेक निकायमा आदिवासी जनजातिले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व चाहेको उल्लेख गर्दै धर्म निरपेक्षता कुनै पनि हालतमा परिवर्तन हुन नहुने नेता गुरुङले बताए  ।

कार्यक्रममा सभाका अर्का उपाध्यक्ष सुचित्रमान शाक्यले धर्मको नाममा राष्ट्रको नामाकरण गर्नु अप्रजातान्त्रिक भएको भन्दै धर्म निरपेक्षता कायम गर्न जस्तोसुकै परिस्थितिको समाना गर्न पनि सबैले एकजुट हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा विभिन्न वक्ताहरुले धर्मरिपेक्षताका पक्षमा आफ्ना विचार राखेका थिए । कार्यक्रम सभाका उपाध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।    

प्रतिक्रिया