आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवश सम्पन्न, संविधान संशोधनको विशेष चर्चा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ माघ २०८१, बिहिवार
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवश सम्पन्न, संविधान संशोधनको विशेष चर्चा

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको २४ वर्ष पुगेको अवसरमा शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यमक्रमको आयोजना विहिबार स्थापना दिवश मनाइएको छ ।

कार्यमक्रमको सुनुवार विधि अनुसार उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थापना दिवसको शुभकामना दिनुहुँदै आदिवासीले २०७२ सालको संविधानबाट प्राप्त गरेका अधिकारहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘प्राप्त अधिकारलाई सुरक्षित गर्दै नपुगेको अधिकारलाई समावेश गर्दै जानुपर्छ, आदिवासी जनजातिले पनि आफ्नो दायित्वयलाई नर्बिसि अधिकारको संरक्षण र माग गर्नुपर्छ ।’

उहाँले संविधान संशोधन भनेको अधिकार कटौति नभएर थप सुधारका लागि हुन लागेको दावी गर्नू भयो ।  उपप्रधानमन्त्री सिंहले गणेशमान सिंहको भवन पुर्ण भएपछि प्रतिष्ठानलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भयो ।  यसैमा उहाँले प्रतिष्ठानका कार्मचारीहरुलाई सरकारको विरोधमा नबोल्न पनि आग्रह गर्नू भयो ।  

यसअघि कार्यमक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष  गेल्जे लामा शेर्पाले आदिवासी जनजाति उत्थान प्रतिष्ठानको भुमिका आदिवासी जनजातिका लागि निकै महत्वपुर्ण भएकोले प्रतिष्ठानलाई आदिवासी जनजाति मन्त्रालय बनाउने तर्फ लाग्नुपर्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो ‘आदिवासी जनजातिहरुको संघसंगठन बचाउने, आदिवासीका विषयमा अध्ययन अनुसन्धान गर्ने एकमात्र संस्था प्रतिष्ठान भएकोले सरकारले प्रतिष्ठानको बजेट बढाउनुपर्छ । ’

आदिवासी जनजातिहरुलाई प्रतिष्ठान र आयोग दुई सरकारी निकाय किन चाहिन्छ भनेर भन्ने गरिएको बताउँदै उहाँले दुईवटै निकाय आवश्यक पर्ने बताउनु भयो ।

अध्यक्ष शेर्पाले आउने वर्षको बजेटमा प्रतिष्ठानको लागि बजेट ५० करोड छुट्याउन आग्रह गर्नू भयो । भारतको उदाहरण दिँदै भारतमा २ प्रतिशत आदिवासी भएको देशमा आदिवासी जनजातिको छुट्टै मान्त्रालय भएको र हजारौ करोडको बजेट छुट्याउने गरेको बताउनुहुँदै नेपालमा ३६ प्रतिशत आदिवासी जनजाति बसोबास गरेको देशमा बजेटनै नपार्नु दुखद् भएको धारणा राख्नुभयो । उहाँले सोअवसरमा संविधान संशोधनको विषयमा बोल्नुहुँदै भन्नुभयो संविधान संशोधन गर्दा आदिवासीहरुले प्राप्त गरेका धर्मनिरपेक्षता, संघियता, समानुपातिक समावेशी लगायत खारेजी हुन्छ भने जनजाति महासंघ मान्नेवाला नभएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष शेर्पाले अन्तराष्ट्रिय सन्धी महासन्धीहरुमा हस्ताक्षर गर्ने तर कार्यान्यवन भने नगर्ने बताउनुहुँदै दिनदहाडै मुक्कुम्लुङका आदिवासी माथि विकासको नाममा गोली चलाएकोमा विरोध गर्नुभयो । उहाँले आदिवासीको भुमिमा विकास निमार्णको काम गर्दा एफपिक गर्नुपर्ने जोड्नुभयो ।

यसैगरि राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगरले विकासको नाममा बाहुनवादी सत्ताले आदिवासी भूमिको नष्ट गर्दै गएको आरोप लगाउनुभयो । उहाँले मुक्कुम्लुङमा केबलकार कुनैपनि हालतमा नचाहिने बताउनुहुँदै मुक्कुम्लुङलाई पाथिभरा भनेर हिन्दुकरण गरि संस्कृतमा नाम राखेर आदिवासी नामलाई नामेट पारेको बताउनुभयो । राज्यबाट अझै खतरा भएकोले संरक्षणमा सबै एकजुटभएर लाग्नुपर्ने भनाई राख्नुभयो ।

प्रतिनिधि सभा सदस्य सिता गुरुङले पहिचानको कुरा उठाउँदैमा देश विथोल्ने लगायतको आरोपहरु लगाउने गरिएको बताउँदै प्राप्त अधिकारहरु खोस्ने भनेर आदिवासीलाई धम्क्याउने गरिएको बताउनु भयो ।

उहाँले विशेष चर्चाका साथ उठेको संविधान संशोधनको विषय पनि समानुपातिक समावेशीका कारण देशको विकास नभएको भनेर आक्षेप लगाएर यो व्यवस्थालाई हटाउने जस्तो कुरा चलिरहेकोले यसको विरोध गर्नू भयो ।

गुरुङले  आदिवासी जनजातिहरुलाई जनसंख्याको आधारमा समानुपातिक समावेशीको व्यबस्था हुनुपर्ने माग गर्नुभयो । संसदमा विभिन्न विधेयक अघि वढिरहेकोले यसमा आदिवासी जनजाति संघसंस्थाहरुले आदिवासीको सवाल आउने सन्र्दभमा छलफल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संबोधन गर्नुहुँदै पुर्वमन्त्री शेरबहादुर तामाङले नेपाललाई चिनाउने भनेको आदिवासी जनजातिको भाषा, भेषभुषा र सांस्कृतिक विविधताले भएको बताउनुभयो । उहाँले आदिवासी जनजातिहरुको ज्ञान सिपलाई राष्ट्रियकरण गर्न सके नेपालको समृद्धी छुट्टै हुने बताउनुभयो । तामाङले सरकारले आदिवासीको ज्ञान र सिपलाई राष्ट्रियकरण र ब्रान्डिङ गर्नुको साटो व्यान्ड गर्ने गरेको बताउनुभयो । सोही अवसरमा पुर्वमन्त्री पद्मा अर्यालले जनजाति मुख्य माग आन्दोलनको दिशा मोडिएकोले सबैले बेलैमा सोचेर आन्दोलनकोलाई लैजानुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान स्थापनाकालमा महत्वपुर्ण भुमिका खेल्नुभएका अग्रजहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रतिष्ठानका पुर्व सदस्य सचिव रबिन्द्रनाथ अधिकारी, यसैगरि टेकनारायण राजवंशी, सन्तवहादुर गुरुङ, विश्वदत्त आङबुहाङ, समाजशास्त्री डा. कृष्ण बहादुर भट्टचन, र रामलक्ष्मण चौधरी हुनुहुन्छ ।
कार्यक्रममा विभिन्न जातजातिका मौलिक सांस्कृतिक नृत्यहरुको प्रस्तुती रहेको थियो ।
 

 

प्रतिक्रिया